दान र वलिदानको औचित्य

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७३

सरल अर्थमा दान भनेको दिनु हो। तर दान कसलाई दिने, के दिने, कहाँ दिने, यसको परिभाषा जान्न जरुरी छ। गाईदान, भूमिदान, सुनदान आदि पनि दान गरिन्छ। कन्यादान, वीर्यदान, मतदान, रक्तदान, श्रमदान यी पनि दानकै परिभाषाभित्र पर्दछन्। वलिदान पनि महत्वपूर्ण दान हो। दानको अर्को अर्थ त्याग गर्नु भन्ने हुन्छ। भोकालाई अन्नदान, नाङ्गालाई बस्त्र दान दृष्टिविहीनलाई आँखादान, निर्माणका लागि श्रमदान, गल्ती गर्नेका लागि क्षमादान आदि यी दान पनि महादानभित्र पर्दछन्।

हाम्रो वैदिक सनातन हिन्दू धर्म, दर्शनमा दान दिँदा ध्यान दिनुपर्ने र विचार पुर्‍याएरमात्र दान दिनुपर्छ भनिएको छ। देश काले च पात्रे च तददानं सात्विकम् स्मृतम् : दान पनि राजसी, तामसी, सात्विक हुन्छन् भने सात्विकी दान नै सर्वश्रेष्ठ हो भनेर बताइएको छ। जुन दानमा कुनै स्वार्थ हुँदैन र केवल परोपकारमात्रै हुन्छ त्यो दानलाई सात्विकी दान भनिएको छ। निदोर्ष पशुपंछीहरू बलिदान गरिन्छ, यो दान तामसी दान हो र यज्ञ, यज्ञादिमा मेरो फलानो कार्य सिद्धिहोस् भनेर गरिने जुनसुकै दान राजसी दान हो। सात्विकी दान गर्ने उर्घ गच्छन्तिमाथि जान्छन्, अमरत्व प्राप्त गर्दछन्। राजसी दान गर्नेहरू तलमाथि गर्दछन् भने तामसी दान गर्ने तल र्झछन् भनिएको छ।

उक्त शास्त्रीय पङ्क्ति अनुसार दान गर्दा तीन विषय शुद्ध हुनुपर्छ। देश भन्नाले मातृभूमिको हित कल्याण हुने कार्यमा दान गर्नु, काल भन्नाले उचित शुद्ध समय र पात्र भन्नाले भाँडो अथवा सत्पात्र हुनुपर्छ भनिएको छ।

दानका केही उदाहरण :

१. मतदान : देश भनेको स्वदेशी, काल भनेको मतदान गर्ने समय, पात्र भनेको असल चरित्रवान सक्षम नेता।

२. कन्यादान : स्वदेशी नागरिकता, काल, समय शुद्ध लग्न, मुहूत पात्र, चरित्रवान गुण सम्पन्न वर।

३. रक्तदान : स्वदेश, मानव सङ्कट समय पात्र, जीवनदान पाउन छट्पटिएको बिरामी।

४. भिक्षा दान : घर गृहिणीले दिने जिन्सी अनाज वा नगद दान हो। स्मरणर होस् सीतामाइले लक्ष्मणरेखाबाहिर गएर भिक्षा दिने क्रममा रावणले उनलाई अपहरण गरेकेा थियो। यस घटनाले के पुष्टि गर्दछ भने दान गर्दाको सीमा रेखा हुनुपर्दछ भन्ने जनाउँछ।

यस्ता दानलाई शास्त्रले महत्व दिएको छ। जसलाई सात्विक दान भनिन्छ। आजभोलि यज्ञ, महायज्ञमा रकम दान गर्नेहरूलाई धर्मवीर, दानवीर भन्ने शब्दबाट सम्बोधन गर्दै फेटा र अविरले सम्मान गर्ने चलन छ। तर त्यस्ता यज्ञ, महायज्ञमा केही व्यक्तिले चल वा अचल सम्पत्तिको दान दिने घोषणा गरेर मान, सम्मान लिने तर त्यो शुभकार्य समापन गरिएपछि विभिन्न बहाना बनाएर आफूले बोलेको, घोषणा गरेको रकम वा चल, अचल सम्पत्ति नदिने चलन पनि देख्न र सुन्नमा आएको छ। दानजस्तो महत्वपूर्ण शब्दलाई अनर्थ तुल्याएको छ। दान कस्तो शब्द हो, प्राचीन इतिहासका पाना पल्टाएर हेर्दा स्पष्ट हुन्छ। राजा रन्तिदेव एक धार्मिक ऐतिहासिक पात्र थिए। उनले गरेको दान प्रभावबाट स्वयं भगवान प्रत्यक्ष भएर ‘राजन !, के वर माग्छौ, माग’ भन्दा उनले भने,

“नत्वमहं कायमे राज्यं न स्र्वर्ग न पुनर्भवम्

कामेय दुःख तप्तानां प्राणिनामार्त नाशनम्”

हे भगवान, मलाई स्र्वर्ग बैकुण्ठ, विशाल राज्य चाहिँदैन जहाँ पीडाले छट्पटाएका आर्तहरू छन्, त्यहाँ म केही दिन सकूँ, अरु मलाई केही चाँहिदैन। यो सच्चा दानको परिभाषा हो। राष्ट्रको लागि वलिदान गर्नेहरूको भन्दा धन दान गरेर नाम कमाउन खोज्नेको आज बढी सम्मान भइरहेको छ।

जगत जननी भगवतीका नाउँमा निदोर्ष पशु वलिदान गरिन्छ। के जननी आफ्नो सन्तानको भोग स्वीकार गर्छिन् त – त्यस्तै, देवता भइसकेका पितृहरू रगतका भोका छन् त ? जसलाई पितृ देवता भनेर सम्मान, पूजा गरिन्छ। यस्तै-यस्तै दानका धेरै कुप्रथाबाट विकसित चुनौतीहरू प्रशस्त पाइन्छन्। तर मानवले मानव हृदयबाट विवेक र विचारको दृष्टिले हेर्‍यो भनेमात्र दान वलिदानको महत्व बढ्न सक्छ। जगतको सम्पूर्ण सम्पत्ति लुटेर थुपारेको सम्पत्ति केही मात्रामा दान गरेर पाप पखाल्न खोजेका राजा बलिले भगवान वामनको दर्शनबाट सम्पूर्ण चल, अचलसमेत सर्वश्व दान गरेर आज उनी पूजनीय भएका छन्। बलि राजाको सम्पत्ति प्रजाले पाए र दान शब्द धर्म कर्म वा पुण्यसँग जोडिएको हुनाले राष्ट्रिय, अन्तर्राष्ट्रिय मानव समाजमा विभिन्न जातजाति, वर्ग, समुदायले आ-आफ्नो रीतिस्थिति र चालचलन अनुसार दान गर्दछन्। दानमा एकरुपता ल्याउन सकिँदैन तर पनि मानव सोच, विचारमा परिवर्तन आयो भने असम्भव छैन। जसरी सम्पूर्ण धर्मावलम्बी समुदायमा परोपकार भन्ने विषयमा दुर्इ मत देखिँदैन र हरेक धर्म, दर्शनले परम पुण्य भनेको परोपकार हो भन्ने प्रमाणित गरेको छ। दान जगत्मा वलि राजाभन्दा महान अरु कोही छैनन्।

अन्त्यमा यो पङ्क्तिकारले पनि दान क्षेत्रमा आफ्नो हैसियत अनुसार जिन्सी, अनाज तथा नगद विभिन्न क्षेत्रमा दैवी प्रकोप, शिक्षा, स्वास्थ्य, सडक, धार्मिक, सामाजिक क्षेत्रमा परोपकार, मानवीय दान, राहत सानो भए पनि सहयोगका साथै क्षत्री समाज नेपाल र हिमालय आँखा अस्पताल पोखराको पहलमा मरणोपरान्त आँखादान पनि गरेको छ। समस्त पाठकवर्गसँग यस्ता दानका साथै आँखादान गर्नका लागि एक पटक सोचिदिनुहुन र आँखादान दिएर दुर्इ जना दृष्टिविहीनले यो संसारलाई देख्न सकून् भन्ने अपील र आग्रह र गीता दर्शनबाट उत्पत्ति भएको यो धार्मिक महत्व बोकेको परोपकार शब्दले जसरी एकरुपता पाएको छ, त्यस्तै दान भन्ने विषयवस्तुले पनि एकरुपता पाओस् भन्ने कामना गर्दछु।

Related News

सम्बन्धित समाचार

hero news full width