कोरोना संक्रमण महिलालाई उपचारका लागि धनगढी पठाइयो

एजेन्सी
वैशाख १, २०७७
dt_200130_coronavirus_test_tube_800x450

कैलाली, १ वैशाख । कैलालीको लम्की चुहा नगरपालिका–१मा एक महिलालाई कोरोना भाइरस (कोभिड(१९) संक्रमणको सम्भावना देखिएपछि थप उपचारका लागि धनगढी पठाइएको छ।

१५ दिनअघि वीरगन्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । र्यापिड टेस्टका क्रममा उनको नतिजा नेगेटिभ आएको थियो। तर थप परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो।काठमाडौंमा परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको अनौपचारिक जानकारी आएपछि ती महिलालाई सोमबार बिहान धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले जानकारी दिए । ‘हामीले उनीहरुलाई धनगढी पठाएका छौं, औपचारिक जानकारी त दिउँसोमात्र आउला,’ तिमिल्सिनाले भने।

उनीसँगै १७ जनाको स्वाब र रगतको नमूना गत शनिबार काठमाडौं पठाइएको थियो। बाँकीको भने नतिजा नेगेटिभ आएको छ। र्यापिड टेस्ट र पिसिआर परीक्षणको लागि धनगढीबाट टोली उनीहरू बसेको क्वारेन्टाइनमा पुगेका थिए। १५ दिनअघि ती महिला १७ जनाको टोलीसहित वीरगन्जबाट आएकी थिइन्।’उहाँहरूलाई पर्सा जिल्ला प्रशासन कार्यालयले पत्रसहित चिसापानीसम्म छोडिदिनुभएछ। त्यहाँबाट उहाँहरू सिधै आ(आफ्नो घर जानुभएछ’ लम्कीचुहा(१ का वडाअध्यक्ष जनक बमले भने, ’गाउँलेले बाहिरबाट आएको खबर गरेपछि सबैलाई क्वारेन्टाइनमा राख्यौं।’ महिला वीरगन्जबाट फर्केको साँझ आफन्तकहाँ बसेकी थिइन्।

बमले भने, ’उनको अहिले यहाँ घर छैन। पहिल्यै बेचेर भारततिर जानुभएको थियो। आएर आफन्तको घरमा बस्नुभएको थियो।’ वडाअध्यक्ष बमले नतिजा टुंगो लागेपछि आफन्तलाई पनि क्वारेन्टाइनमा राखिने जनाए। उनले महिलाको आफन्तमा को–को छन् भन्ने बुझ्ने कार्य भइरहेको जानकारी दिए।यसअघि आइतबार वीरगन्जको मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले चार जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post