स्वास्थ्यमा जनशक्ति व्यवस्थापन चुनौती -मन्त्री पुन

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
ph 1 (1)

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्थापन चुनौती बनेको बताएकी छन् । जापान सहयोग नियोग(जाइका)को सहयोगमा पोखरा महानगरपालिका वडा नम्वर १६ र १९ मा सञ्चालन भएको सुत्केरी आमा र बच्चाको सुरक्षा सम्वन्धी परियोजनाको समापन कार्यक्रममा बोल्दै उनले कर्मचारी समायोजनमा स्वास्थ्य क्षेत्रका कर्मचारीले संघ रोजेकाले प्रदेशमा कर्मचारी अभाव भएको बताइन् ।

‘स्वास्थ्यकर्मीले संघ रोजेका कारण प्रदेश खाली भयो,त्यसैले आवश्यक जनशक्ति व्यवस्थापन गर्नसकेका छैनौ ।’ मन्त्री पुनले गण्डकी प्रदेशका लागि आवश्यक जनशक्तिको संख्या एकिन गरेर केन्द्रमा पठाएको बताइन् । प्रदेश लोकसेवा गठन भएको छैन् उनले भनिन्,‘संघीय लोकसेवा आयोगले विज्ञापन नखुलाउने भएकाले कर्मचारी व्यवस्थापन गर्न केही समय लाग्ने देखिएको छ ।’ उनले जापानको कोमागाने सहर र पोखरा महानगरपालिका बीच भगिनी सम्वन्धलाई दिगो बनाउन स्थापना भएको मातृशिशु मितेरी अस्पताललाई भौतिक पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरेको बताइन् । अस्पताल प्रदेश सरकार मातहत रहेकाले अस्पतालाई आवश्यक सहयोग गर्ने उनले बताइन् ।

गण्डकी प्रदेशका सांसद कृष्ण थापाले जाइकाको सहयोगमा पाँच वर्षदेखि मातृशिशु सम्वन्धि कार्यक्रम संञ्चालन हुदै आएको र त्यसले मातृशिशु मृत्युदरमा कमी आएको बताए । उनले तेश्रो चरणको कार्यक्रम ल्याउन पहल गर्ने बताए । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश मन्त्रालय प्रतिबद्ध रहेको बताए ।पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मातृशिशु मृत्युदर घटाउन जाइकाले सञ्चालन गरेको परियोजनाले मद्धत पुगेको बताउदै आगामी कार्यक्रम महानगरका ३३ वटै वडामा सञ्चालन गर्ने गरी ल्याउन सुझाव दिए । जाइका टोकियोका डेपुटी प्रोजेक्ट डाइरेक्टर इटो किनिचिले सवैको सहयोग र साथले परियोजना सफल भएको बताउदै आगामी दिनमा थप सहयोग गर्ने बताए ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सिटिजन्स एशोसिएसन फर नेपाल एक्सचेन्जका सचिव मासासुमी खोमास्टियू, मातृशिशु मितेरी अस्पतालका अध्यक्ष उषा बरुवाल, सिशुवा अस्पतालका अध्यक्ष डा. नारायण ओझा, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ अधिकारी, स्वास्थ्य स्वयमसेवी पुनम गायक लगायतले परियोजना बारे बोलेका थिए । कोमागाने र पोखरा महानगरपालिका वीच भगिनी सम्वन्ध स्थापना भएको २० वर्ष पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width