मुख्यमन्त्रीले जवाफ दिएपछि सदन निरन्तर

आदर्श समाज सम्वाददाता
माघ २५, २०७६
IMG_0733

पोखरा । मुख्यमन्त्रीको जवाफ माग्दै विपक्षीले गरेको सदन शुक्रबारदेखि निरन्तर अघि बढेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा उठेका प्रश्नको जवाफ दिएपछि अवरोध हटेको हो । गएको माघ १४ गतेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल र जनमोर्चाकी सांसद पियारी थापाले राखेको प्रश्नको जवाफ एक साताभित्रै नदिएको आरोपमा विपक्षीले बिहीबारको सदन अवरुद्ध पारेका थिए । तर शुक्रबार मुख्यमन्त्री गुरुङले जवाफ दिए र सदन अघि बढ्यो ।

नेपालीले कर्मचारी सरुवामा राजनीतिक आस्था आधारमा विभेद गरिएको, खानेपानी आपूर्ति गर्न सरकारले ध्यान नदिएको, मुख्यमन्त्री कप फुटबल नाममा मनपरी बजेट बाँडेको, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा नगएको लगायत विषय उठाएका थिए । जवाफमा मुख्यमन्त्री गुरुङले कर्मचारी सरुवाको मापदण्ड बनाएको भन्दै सोही मापदण्ड अनुसार काम गरेको बताए । उनले कर्मचारीको माग अनुसार पदपूर्ति अझै नभएको बताए ।

खानेपानी उपलब्ध गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ छ । दुई वर्षभित्र आधारभुत खानेपानी र २ वर्षभित्र प्रत्येक घरमा धारा पु¥याउन निरन्तर लागिरहेको बताए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यान्वयनमा रहेको तर केही निर्वाचन क्षेत्रमा योजना टुंगो नलागेको बताए । ‘सहमतिका आधारमा कार्यक्रम तय गर्नुस् । नत्र आगामी वर्षदेखि यो कार्यक्रम शुन्यमा झर्न पनि सक्छ,’ गुरुङले भने, ‘यो वर्ष राम्रो र प्रभावकारी काम गरे यो रकम अझै बढ्न सक्छ । अन्यथा कार्यक्रम नै खारेज गर्ने अवस्था पनि आउन सक्छ ।’ उनका अनुसार बागलुङ, पर्वत, तनहूँ र नवलपुरका एक÷एक निर्वाचन क्षेत्रका कार्यक्रम कार्यान्वयनमा गएको छैन । यस्तै, मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा कुनै विभेद र मनपरि नभएको प्रतिक्रिया दिए । एन्फाले संयोजन गरेर प्रतियोगिता सञ्चालन गरेको भन्दै उनले २० लाख रुपैयाँ मात्रै प्रदेश सरकारले सहयोग गरेको सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width