लेखनाथ हाफ म्याराथन तयारी

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
khelkud news rtf final pokhara mahanagarpalikff Main (1)

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजनामा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा आगामी १ वैशाखमा विभिन्न ४ इभेन्टमा हाफ म्याराथन हुने भएको हो ।
मंगलबार पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले पुरुषतर्फ २१ किमी हाफ म्याराथन, १० किमीको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने बताए । प्रतियोगितामा करिब १ हजार धावकले भाग लिने छन् ।

हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र पाँचांले क्रमशः ६०, ३०, २०, १० र ५ हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

१० किमी महिला/पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउने छन् । तृतीय, सान्त्वना र पाँचौंले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौंले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।

१ वैशाखमा हुने प्रतियोगितामा विभिन्न ४ इभेन्टमा करिब १ हजार धावकले भाग लिँदैछन्

भेट्रान्सतर्फ विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ पाउने सदस्यसचिव खड्काले बताए । दौड पूरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० खेलाडीलाई मेडल प्रदान गरिने खेलकुद विकास समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले बताए ।

भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंहचोक, भूगोलपार्क, रामबजार, सीतागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य संघको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुंगिने छ ।

खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले प्रतियोगिताले पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गरे ।

पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङले लेखनाथमा राष्ट्रियस्तरका अन्य प्रतियोगिता निरन्तर गर्न आवश्यक रहेको बताए । ‘लेखनाथ पोखरामा गाभिएपछि केही पछाडि परेको हामीले महसुस गरेका छौं । यस्तैखाले राष्ट्रिय प्रतियोगिता यहाँ गरेर यो ठाउँ चिनाउनुपर्छ,’ उनले भने, ‘यहाँ पर्यटनको थुप्रो सम्भावना छ । सात वटा ताल छन् । धेरै कोट पनि छन् ।’ भण्डारढिकमा रहेको रंगशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने र वडाबाट पनि बजेट लगानी गर्ने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै