पत्रकारितामा संकट र चुनौतीबारे संवाद

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
journlism challenge

पोखरा । मुलुकमा आर्थिक मन्दीको असर मिडिया हाउसमा पनि परेको छ । कोरोनायता देशभरका छापा तथा विद्युतीय सञ्चारमाध्यममा मन्दी छाएको हो । जसका कारण कतिपय पत्रकार पेसाबाट पलायन भइसकेका छन् ।

नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवस अवसरमा शुक्रबार पोखरामा यसबारे सरोकारवालाबीच संवाद भयो । नेपाल पत्रकार महासंघ कास्की आयोजनामा ‘पत्रकारितामा देखिएको संकट र समाधानका उपायहरु’ विषयमा संवादमा वक्ताले पत्रकारितामा देखिएको समस्या र चुनौती समाधानका लागि पत्रकार स्वयं जागरुक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारितालाई नियन्त्रणभन्दा पनि नियमनको जरुरी रहेको बताए । ‘स्वतन्त्रता र छाडातन्त्र भनेको के हो भनेर मूलधारमा काम गर्ने पत्रकारहरुले अन्यलाई बुझाउन जरुरी छ,’ उनको भने, ‘सामाजिक सञ्जाल र पत्रकारिता फरक कुरा हुन् भन्ने आमजनतालाई बुझाउन सकिएको छैन । यो पत्रकार र सरकारका लागि चुनौती हो ।’ यो भ्रम चिर्नका लागि साझा प्रयासको जरुरी रहेको उनको बताए । उनले गण्डकी प्रदेश सरकाले सञ्चारको क्षेत्रमा धेरै काम गरिहेको दाबी गरे । ‘हामीले आमसञ्चार विधेयक पारित गरिसकेका छौं । त्यसमा प्रेस रजिष्ट्रारको कार्यालय पनि छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो कार्यान्वयनमा गएपछि सरकारको खासै आवश्यकता पर्दैन । पत्रकारिताका लागि जे गर्नुपर्छ विधेयकमा परिकल्पना गरिएको काम प्रेस रजिष्टार कार्यालयले नै गर्छ ।’

सरकारको नीति तथा कार्यक्रम बनाउने क्रममा पनि पत्रकार महासंघ कास्कीसँग सहकार्य गरिरहेको उनको सुनाए । ‘छलफलपछि लोक कल्याणकारी विज्ञापनमा पहिला भएकोमा ५० प्रतिशत वृद्धि गरेको छु । पत्रकारको स्वास्थ्य बिमा हुनुपर्छ भनेर त्यो कार्यक्रम पनि ल्याएको हो,’ उनको भने, ‘पत्रकारहरुका लागि फेलोसिप दिने भनेर २० लाख पनि छुट्याएको छु । आगामी दिन आर्थिक अवस्था हेरेर नीति कार्यक्रम बनाउँला ।’

पत्रकारितालाई नियन्त्रणभन्दा पनि नियमनको जरुरी : मुख्यमन्त्री पाण्डे

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले पत्रकार सरकारको स्थायी प्रतिपक्ष रहेकोले सोही अनुसार कलम चलाउनुपर्ने सुझाव दिइन् । पत्रकारिता बौद्धिक पेसा भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष बद्रीविनोद प्रतीकले पत्रकारितामा देखिएको समस्या र चुनौती समाधानका लागि पत्रकारहरु नै जागरुक हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदीले आफूहरु पत्रकारको हकहितका पक्षमा काम गरिरहेको बताए । काम गर्ने समयमा केही कमजोरी भए आगामी दिनमा सच्याउँदै अघि बढ्ने उनको जनाए ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले सदस्यहरुलाई परेको समस्यामा सधैं साथमा रहेको उल्लेख गरिन् । महासंघ कास्कीमा आएका लिखित तथा मौखिक उजुरीका साथै जानकारी भएसम्ममा समस्या समाधानका लागि पत्रकार महासंघ कास्कीले कुनै कसर बाँकी नराखी काम गरेको सुनाइन् । समस्या र चुनौतीबीच पनि धेरै काम गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कोमलनाथ बराल, पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली, संसदीय पत्रकार महासंघ गण्डकी अध्यक्ष भरत कोइराला, प्रेस युनियन कास्की अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपाल कास्कीका इन्चार्ज सन्देश श्रेष्ठ, प्रेस चौतारी नेपाल कास्कीका कावा अध्यक्ष मोतिसागर अधिकारी, एमाले कास्की सचिव दर्शन लामालगायतले पत्रकारिता क्षेत्रको चुनौती समाधानका लागि पत्रकार नै सक्रिय र जिम्मेवार हुनेपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै