प्रचण्डलाई तेस्रोपटक विश्वासको मत, पाए १५७ जनाको समर्थन

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०८०
prachanda

फाइल तस्बिर

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बहुमत सांसदको मत पाएका हुन्। संसद्‌मा उपस्थित २ सय ६८ सांसदमध्ये दाहालको पक्षमा १ सय ५७ मत परेको छ। विपक्षमा १सय १० जनाको मत परेको छ।

उनले बुधबार संसदमा माओवादी,रास्वपा,जसपालगायत दलको गरी विश्वासको मत प्राप्त गरेका हुन्। प्रचण्डलाई विश्वासको मतको लागि १ सय ३८ मत आवश्यक पर्नेमा उनले १ सय ५७ मत पाएका हुन्।

प्रचण्डलाई माओवादी, एमाले, रास्वपा, जसपा, नागरिक उन्मुक्ति लगायतका सांसदका मत प्राप्त भएको  हो। प्रचण्डलाई स्वतन्त्र सांसदहरु प्रभु शाह,अमरेश सिंह र योगेन्द्र मण्डलले पनि मत दिएका हुन्। कांग्रेस,राप्रपा,जनमत,लोसपा,नेपाल मजदुर किसान पार्टीले प्रचण्डलाई मत दिएनन्।

कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले केहिदिनअघि एमाले, रास्वपा लगायतका दलसँग मिलेर सरकार गठन गरेका हुन्।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रचण्डले बुधबार पुनः विश्वासको मत लिएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए।

त्यतिवेला संसदमा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए।

नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ।

त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए। सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए।

सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए। उनको विपक्षमा ८९ मत परेको थियो।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन्। सरकार विस्तारसमेत भइसकेको छ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन्।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width