‍पृथ्वीचोकमा पोखरा घर

आदर्श समाज सम्वाददाता
फागुन २७, २०८०
Pokhara Mun Photo 1

पोखरा । पोखरा नगर, उपमहानगर हुँदै महानगर भएको आइतबार ७ वर्ष पूरा भएको छ । २०७३ साल फागुन २७ गते ३३ वटा वडामा विभाजित भएर पोखरा महानगर स्थापना गरिएको थियो । २०१६ सालमा १३ वडासहित गठित पोखरा नगरपालिका, पोखरा नगर पञ्चायत २०५२ मा विस्तारित भई १८ वडाको उप–महानगरपालिका बन्यो । गणतन्त्र स्थापनापश्चात् २०७१ मंसिर १६ गते पोखरा उपमहानगरपालिका आसपासका तत्कालीन गाउँ विकास समितिहरू मिलाएर २९ वटा वडा पुर्‍याएर पोखरा उपमहानगरपालिकामा रूपान्तरित भयो ।

२०७२ सालमा नेपालको संविधान जारी भएपछि राज्य पुनः संरचना हुँदा साबिकको पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका र आसपासका गाविसहरू मिलाएर २०७३ फागुन २७ गते पोखरा लेखनाथ महानगरपालिका गठन भयो । पोखरा महानगरपालिका नगर सभाको सिफारिसबमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ साउन २३ गतेको निर्णयअनुसार पोखरा लेखनाथबाट लेखनाथ हटाएर पोखरा महानगरपालिका कायम भयो ।

तत्कालीन पोखरा महानगर लेखनाथ महानगरपालिका बनेको मितिलाई आधार मानेर पोखरा महानगरले आफ्नो वार्षिकोत्सव मनाइरहेको छ । हरेक वर्ष सभागृह हलमा औपचारिक कार्यक्रम मात्र गरेर जन्मोत्सव मनाउँदै आएको पोखराले यो वर्ष पृथक रुपमा वार्षिकोत्सव मनाएको छ । यो वर्ष शिलान्यास गरी पोखराले जन्मोत्सव मनाएको हो । यद्यपि पोखरा सभागृहमा पनि जन्मोत्सव समारोह आयोजना गरिएको थियो ।

यही क्रममा आइतबार पोखराका मेयर धनराज आचार्यले पोखरा घरको शिलान्यास गरेका छन् । आर्ट ग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्रसहितका पूर्वाधारयुक्त बन्ने पोखरा घरको मेयर आचार्यले शिलान्यास गरेका हुन् ।

पोखरा पृथ्वीचोकमा बन्न लागेको भवन १८ महिनाभित्र सक्ने गरी शिलान्यस गरिएको हो । अण्डर ग्राउण्डसहित ५ तलाको बन्ने उक्त भवनको माथिल्लो भागमा घन्टाघर बनाइने महानगरले जनाएको छ । अन्डर ग्राउन्डमा ४० वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने ठाउँ रहनेछ । पहिलो तलामा कोसेली घर र सूचना केन्द्र रहनेछ । दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, ३३४.८९ स्क्वायर मिटर क्षेत्रफल रहने तेस्रो तलामा आर्ट ग्यालरी र मिटिङ हल बन्नेछ ।


पोखरा घर निर्माणका लागि निर्माण कम्पनीसँग भ्याटबाहेक ५ करोड १ लाख ४६ हजार ५ सय ५१ रुपैयाँ ३९ पैसामा निर्माण गर्ने सम्झौता भएको छ । महानगरका पूर्वाधार विकास महाशाखाका प्रमुख सुरेन्द्र पाण्डेका अनुसार ६ करोड, ९३ लाख ४७ हजार २ सय ७० रुपैयाँ ७८ पैसा लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले सो रकममा निर्माण गर्ने सम्झौता गरेको हो । निर्माण कम्पनीले यस अगाडि पोखरा ७ को कार्यालय भवन निर्धारित समयभन्दा धेरै नै अगाडि सम्पन्न गरेकाले समयमै सक्ने अपेक्षा राखिएको उनले बताए ।

भवनको शिलान्यासपछि मेयर आचार्यले पोखरा घरले समग्र पोखराको बिस्तृत जानकारी दिने बताए । पोखरा घर परम्परागत वास्तुकला र पछिल्लो प्रविधिको प्रयोग गरिकन काठको बार्दलीसमेत रहेको बन्ने उनले सुनाए ।

प्रमुख आचार्यले पोखरा घर पोखरा घुम्नेहरूका लागि एउटा महŒवपूर्ण स्थल बन्ने र विस्तृत जानकारी दिने स्थल बन्ने बताए । पोखराका कला क्षेत्रका बादशाह दुर्गा बराल र प्राध्यापक विश्व श्रेष्ठलाई साक्षी राखेर पोखरा घरलाई पोखराकै लागि उपयोग हुने र बन्ने महŒवपूर्ण संरचनाको शिलान्यास गरिएको उनको भनाइ छ । पोखरा घरमा रहने घन्टा घरले आफूहरूलाई हरेक समयको महŒव बुझेर काम गर्न प्रेरित गर्ने उनको भनाइ थियो ।

पोखरा घर सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थाहरूसँग नै सहकार्य गर्ने उनले प्रष्ट पारे । जीर्ण भवन कसैको नभएर पोखरा महानगरकै रहेको र पोखरा घर पनि महानगरकै बन्ने कुरा नबिर्सन उनले सुझाए । ‘महेन्द्रपुलको जीर्ण भवन भत्काउँदा आफ्नै घर भत्काएजस्तो गरियो । त्यो महानगरको थियो र सबै हिसाबले अध्ययन गरेरै योजनासहित भत्काइएको थियो,’ उनले भने, ‘कसैका निजी घर भत्काइएको जस्तो गरियो । त्यसो नगरियोस् । महेन्द्रपुलमा रहेका संस्थाहरूकै सहकार्य यहाँ पनि हुनेछ । तर यो भवन महानगरकै भवन हो भन्ने नबिर्सनुहोला ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी नहुने बताए । महानगरका प्रमुख आचार्यको नेतृत्वमा पोखरामा उल्लेख्य विकास निर्माणका काम भइरहेको र त्यसको रिजल्ट क्रमश देख्न पाइने उनले बताए ।

पूर्वाधार महाशाखा प्रमुख सुरेन्द्र पाण्डेले पोखरा घर कस्तो र कति लगतमा बन्ने भन्ने जानकारी दिए । निर्माण कम्पनी कोजु इन्जिनियरिङ÷आरुसी÷एबिसी जेभीका सञ्चालक होमनाथ ढकालले निर्धारित समयभन्दा ५ महिना अगाडि नै भवन निर्माण गरेर सक्ने दृढता प्रकट गरे ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतीक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताए । पोखरा महानगरका प्रमुख आचार्यको सोचअनुरूप विकास निर्माणको काम अगाडि बढेको उनले धारणा राखे ।

महानगरले आइतबार नै खुइते खोला (घट्टे खोला) पुलको शिलान्यास गरेको थियो । पोखरा महानगरपालिका वडा नं.१९ को लामाचौर माछापुच्छ«े सडक खण्डमा पर्ने खुइते खोला (घट्टे खोला) मोटरेबल पुलको नगर प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन् ।

२ करोड ८२ लाख ९७ हजार १ सय ३१ को लागतमा निर्माण सम्पन्न हुने पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवैतर्फ १.२ मिटरको फुटट्रयाक पनि हुनेछ । सिंगल स्पानको डबल लेन पुल निर्माणको काम २०८१ को कात्तिकभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुलको उचाइ जमिनबाट ११ मिटर अग्लो हुनेछ ।
खुइतेखोलामा निर्माण हुने पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ«े गाउँपालिकालाई दीर्घकालीनमा रूपमा जोड्ने विश्वास गरिएको छ । त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरूमा यसको यसको योगदान उल्लेखनीय हुनेछ ।

महानगरले आइतबार बिहानै रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिए ।

दिवसको समारोह भने पोखरा सभागृहमा भएको थियो । सभालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, महानगर सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मी, दलका नेताहरू दिवसमान प्रधानांग र राधिकाकुमारी शाही योगी, महानगरका प्रवक्ता मोतीराज तिम्सिना, कर्मचारी संगठनका प्रतिनिधिहरू लगायतले शुभकामना दिए ।

आगामी वर्षदेखि महानगरपालिकाले नगरपालिका घोषणा भएको दिनलाई स्थापना दिवसका रूपमा पुस २ गतेलाई मनाउने बताएको छ ।

दिवसका अवसरमा महानगरपालिकामा सञ्चालित विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालय, हरूलाई सम्मान र लामो समय शिक्षण गरेका शिक्षकहरूलाई दीर्घ सेवा सम्मान प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width