आहा रारामा जावलाखेलद्वारा मच्छिन्द्र पराजित

आदर्श समाज सम्वाददाता
माघ ११, २०८०
Aaha Rara Jawalakhel Win Photo

पोखरा। २३ औं आहा रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । मछिन्द्र क्लबलाई १–० गोलले पराजित गर्दै जावलाखेल अघि बढेको हो ।

केही समयअघि राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका विशाल श्रेष्ठको कप्तानीमा रहेको मच्छिन्द्रलाई हराउन ३८ औं मिनेटमा हिसुब थपलियाले गोल गरेका थिए । दुवै टिम सुरुवाती समयदेखि नै उत्कृष्ट लयमा देखिएका थिए । अघिकांश राष्ट्रिय टिमका खेलाडी लिएर मैदान उत्रिएको मच्छिन्द्रले गरेको एक गल्तीको फाइदा लिँदै जावलाखेलले गोल गरेको थियो । कप्तानको भूमिकाकामा समेत रहेका गोलरक्षक विशाल श्रेष्ठले ३८ औं मिनेटमा बल छाडिदिए । उनी अगाडि बढेको अवस्थामा जावलाखेलका हिसुब थपलियाले बललाई खाली पोस्टमा सहजै जाली चुनाएका हुन् ।

दोस्रो हाफमा मछिन्द्रले आफूलाई सम्हाल्दै आक्रामक खेलेको थियो । दोस्रो हाफको अधिकांश समय जावलाखेललाई दबाबमा राखेको मछिन्द्र खेलमा फर्कन सकेन । दोस्रो हाफको सुरुवाती समयमै मछिन्द्रले बराबरी गर्न असफल रह्यो । ४८ औं मिनेटमा मछिन्द्रका विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्किन पुगेको थियो ।

५७ औं मिनेटमा मछिन्द्रका मनीष डाँगीले प्रहार गरेको बल जावलाखेलका गोलरक्षक अनीष देउलाले पञ्च गर्दै बचाए । त्यसको १ मिनेटमै सनिस श्रेष्ठले प्रहार गरेको फ्रिकिक देउलाले सहजै आफ्नो नियन्त्रणमा लिए । ८१ औं मिनेटमा जावलाखेलका सेवान्त थापाले प्रहार गरेको बल बाहिन पुगेको थियो । दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसकेपछि हिसुबको गोल नै निर्णायक बन्न पुगेको थियो ।

आहा राराको २३ औं संस्करणसम्म आइपुग्दा यो मछिन्द्रको छैटौं र जावलाखेल युथ क्लबको चौथो सहभागिता थियो । तर, कुनै पनि संस्करणमा दुवै टिम सँगै भिडेका थिएनन् । मच्छिन्द्रका कोच सन्तोष न्यौपाने भने आहा रारा गोल्डकपमा आफ्नो टिमलाई अभागी ठान्छन् । न्यौपानेले जावलाखेलसँगको खेलमा भाग्य साथ नदिएको प्रतिक्रिया दिए । ‘आहा रारा खेल्न आएदेखि नै मच्छिन्द्रका लागि अनलक्की नै हुँदै आएको छ । यसलाई हामीले राम्रोसँग बुझेर आएका थियौं,’ उनले भने, ‘नभन्दै बिमलले हानेको फ्रिकिक बारमा लागेर फर्कियो । त्यो गोल भइदिएको भए खेलमा केही परिवर्तन आउन सक्थ्यो ।’ वर्क परमिटका कारण विदेशी खेलाडी खेलाउन नपाउँदा पनि खेल सोचे अनुरुप नभएको उनको प्रतिक्रिया थियो ।

जावलाखेलका प्रशिक्षक नरेश थापाले खेलाडीको मेहनतले जित सम्भव भएको बताए । उनले भने, ‘हाम्रो लागि जित्नु नै सबैभन्दा ठूलो कुरा थियो । अझ महत्वपूर्ण कुरा खेलाडीहरुले मेहनत गरेर खेलेका कारण नै जित सम्भव भएको हो ।’

जावलाखेलले अब मनाङ मस्र्याङ्दीसँग माघ १५ गते क्वाटरफाइनल खेल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल पुलिस क्लब र एपिएफबीच अन्तिम प्रिक्वार्टर फाइनल खेल हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width