गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा किरणबाबु, पदम र मनरुपा निर्वाचित

आदर्श समाज सम्वाददाता
माघ ११, २०८०
Manrupa, Kiran & Padam~ Gandaki Province

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३ हजार ८ सय ८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् ।

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार प्राप्त गरे । राप्रपाका रोमबहादुर भण्डारीले १ सय ६ मत ल्याए ।

अपांगता र अल्पसंख्यकमा क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार निर्वाचित भए । उनले ३ हजार ७ सय ७४ मतभार प्राप्त गरे । नेकपा एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए ।

महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा ३ हजार ६ सय ६० मतभार पाएर निर्वाचित भएकी छन् । एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाएकी छन् । राप्रपाकी गौमायालाई प्रदेश सभाका २ सांसदले मात्र मतदान गरे ।

पोखरामा बिहान ९ देखि ३ बजेसम्म भएको मतदानमा २२९ जनाले मत खसालेका हुन् । कुल २३० मतदातामध्ये बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपाली इमेज सहकारी ठगी अभियोगमा फरार रहेकोले आएनन् ।

गण्डकीबाट राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका एमालेका गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width