विश्व पानी रङ दिवसमा पोखरामा अग्रज कलाकारका चित्र प्रदर्शनी

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
water colour

पोखरा । पोखरा र चित्रकलासँगै जोडिने नाम हो दुर्गा बराल वास्त्यायन । उनले नै सुरुमा पोखरालाई पानी रङको पाठशालाका रुपमा चिनाए । वास्त्यायनलाई पछ्याउँदै बुद्धि गुरुङले कुची समाए । सुरुआती अवस्थामा वास्त्यायनकै शैलीमा चित्र कोर्ने उनको कुची खारिँदै गयो । रङसँग रमाउन सिके उनी । अनि आफ्नै शैली स्थापित गरे । अर्का कलाकार यादवचन्द्र भुर्तेल पनि पानी रङमै आफ्नो कला पस्कन माहिर । यी ३ कलाकारका चित्रले सन् १९९० को दसकमा पोखरा मात्र होइन देश विदेशमा तहल्का नै पिट्यो । पानी रङका चित्रको बिक्री पनि उसैगरी बढ्यो ।

सन् १९९४ मा ‘द न्यु आर्ट सर्कल’ ले काठमाडौंमा पानी रङका चित्र प्रदर्शनी गर्‍यो । त्यति नै बेला अग्रज कलाकार लैनसिंह वाङदेलले पोखरालाई पानी रङको पाठशाला भनेर नामकरण गरिदिएका थिए । रङसँग गहिरोसँग खेल्न सकिने, लामो समयसम्म पनि नबिग्रिने यस्ता चित्रप्रति नयाँ पुस्ताको आकर्षण समेत बढ्दै गयो । नयाँ पुस्ताका पोखरेली कलाकारहरुले पानी रङमा बेजोड कला प्रस्तुत गर्दै आएका छन् ।

आइडब्लुएस ग्लोबल नेटवर्कको १२ औं वार्षिकोत्सव तथा विश्व पानी रङ दिवसको अवसर पारेर प्रदर्शनी गरिएको

पोखरालाई पानी रङको पाठशालाका स्थापित गराउने ३ अग्रज कलाकार, दुर्गा बराल, बुद्धि गुरुङ र यादवचन्द्र भुर्तेलका पुराना चित्र पोखरा आर्ट ग्यालरीमा प्रदर्शन गरिएको छ । आइडडब्लु एस हेमकान्ती आर्ट ग्यालरीको आयोजनामा मंगलबार सुरु भएको प्रदर्शनी बिहीबारसम्म चल्ने छ । आइडब्लुएस ग्लोबल नेटवर्कको १२ औं वार्षिकोत्सव तथा विश्व पानी रङ दिवसका अवसर पारेर प्रदर्शनी गरिएको आयोजक संस्थाकी अध्यक्ष हेमकान्तीले बताइन् ।

प्रदर्शनी उद्घाटन गर्दै अग्रज साहित्यकार सरुभक्तले ‘मास्टर अफ मोमेन्ट’ शीर्षकमा सुरु भएको प्रदर्शनीले पोखराको कलाकारिताको इतिहास झल्काएको बताए । पोखराले पानी रङको चित्रकारितामा प्रशिद्धि पाउनुमा यी ३ कलाकारको ठूलो योगदान रहेको बताए । उनले भने, ‘यस महत्वपूर्ण प्रदर्शनीमा सोनामधन्य चित्रकारहरुको कलाशिल्पका पुराना आयाम देख्न पाइने र समकालीन युवा चित्रकारका लागि प्रेरणाको बिम्ब हुने विश्वास गरेको छु ।’ पोखराबाट उठेका यी त्रिमुर्ति कलाकारले राष्ट्रिय अन्तर्राष्ट्रिय कलाजगतमा राम्रैसँग धक्का दिएको पनि उनी बताए । प्रदर्शनीमा राखिएका चित्रहरु अवलोकन गर्दा कलाबाट इतिहासको जानकारी पाइने अनुभूति आफूलाई भएको सरुभक्तको भनाइ थियो ।

कार्यक्रममा अग्रज कलाकारहरु वात्स्यायन, बुद्धि गुरुङ, यादवचन्द्र भुर्तेलले कलाकारिताका क्रममा आफूले भोगेका अनुभूति व्यक्त गरे । ज्योति गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन हेमकान्ती गुरुङले गरेकी थिइन् ।

प्रदर्शनीमा पुरानो पोखरा, वरपरका गाउँ घान्दु्रक, घाचोकका तत्स्थानीयदेखि जीवनशैलीसँग जोडिएका अर्धअर्मुत खालका चित्रसम्म राखिएको छ । सन् १९९९ मा काडमाठौंबाट अपहरण गरेर कान्दाहार पुर्‍याएको जहाजको घटना प्रतिबिम्बित गर्न र प्रोट्रेट चित्रसमेत प्रदर्शनीमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width