सिक्लेसमा सिनेमा संवाद

आदर्श समाज सम्वाददाता
माघ ५, २०८०
cinema sambad

पोखरा। सहर बजारको कोलाहलभन्दा अलिक पर एक विशेष कार्यक्रम हुँदैछ । पर्यटन, सिनेमा र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमको नाम हो–सिनेमा संवाद एट सिक्लेस ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले माघ ६ देखि ८ सम्म उक्त कार्यक्रमको चाँजोपाँजो मिलाएको हो । संघ अध्यक्ष प्रभू अधिकारी यो कार्यक्रम संघको महत्वपूर्ण कार्यक्रम भएको दाबी गर्छन् । उनका अनुसार यो कार्यक्रमले सिक्लेसको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउन मद्दत पनि गर्नेछ । विगतमा यस्तै प्रकृतिका कार्यक्रम लिएर पर्यटकीय गाउँ घान्द्रुक र घलेल पुगिसकेको संघले यस वर्ष कास्कीको मादी गाउँपालिका वडा १, सिक्लेस रोजेको अधिकारीले बताए ।

तीनदिने कार्यक्रमअन्तर्गत पहिलो दिन शनिबार पोखरासहित काठमाडौंबाट समेत फिल्म, साहित्य र पर्यटनसम्बद्ध अग्रज व्यक्तिहरुसहित पत्रकारको टोली त्यसतर्फ प्रस्थान गर्नेछ । दोस्रो दिन विभिन्न विषयमा सरोकारवालाबीच संवाद हुनेछ भने भोलिपल्ट टोली फर्किने कार्यतालिका छ ।

फिल्म क्षेत्रका विद्वतवर्गबीच विभिन्न सेसनमा सिनेमा संवाद गरिनेछ । ‘सिनेमा र सरकार: हिजो, आज र भोलि,’ ‘नेपाली सिनेमाको स्वाद: कस्तो छ ? कस्तो हुनुपर्छ ?’ र ‘सिनेमाभित्र म, मभित्र सिनेमा: अनुभव’ विषयक सत्र तय गरिएको छ।

चलचित्र विकास बोर्ड अध्यक्ष अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा हुने कार्यक्रमको विशेष वक्ता निर्देशक, साहित्यकार, गीतसंगीतका अध्येता प्रकाश सायमी हुन् । यस्तै, अभिनेत्री गौरी मल्ल, कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष कलाकार आकाश अधिकारी, चलचित्र निर्देशक एवं कलाकार अनुप बराल, अभिनेत्री दीया मास्के, निर्देशक एवं लेखक मनोज पण्डित वक्ता तोकिएको छ ।

सहजकर्तामा ‘रजतपट’ सञ्चालक चर्चित सञ्चारकर्मी प्रकाश सुवेदी, पत्रकार सुरज सुवेदी र सञ्चारकर्मी सञ्जोग बस्याल छन् ।

करिब ७० सदस्यीय भ्रमण टोलीलाई सिक्लेसमा नेपाली फिल्म हेर्ने व्यवस्था मिलाउनुका साथै सिक्लेसको पर्यटकीय क्षेत्र घुमाउने कार्यक्रम पनि छ । फिल्म क्षेत्रको सिंगो टिम गाउँ आउने भएपछि सिक्लेसवासी पनि उत्साहित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width