देशभक्ति फिल्म नवलको ‘काँडेतार’

आदर्श समाज सम्वाददाता
माघ ३, २०८०
Cinema kadetars

पोखरा। कलाकार नवल खड्काको परिचय देशभक्तिको फिल्म बनाउनेमा चर्चित छ । उनको पछिल्लो फिल्म ‘काँडेतार’ रिलिज डेट कुरेर बसेको छ ।

आगामी २५ फागुनमा देशभर रिलिज हुने यो फिल्म पनि देशको माटो बोल्छ । यतिखेर धमाधम च्यारिटी शो गरिरहेको ‘काँडेतार’ नेपालको सिमाना रक्षाका लागि राष्ट्रप्रेमी सबै नेपाली जाग्नुपर्ने निर्देशक एवं निर्माता खड्काले बताए ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ‘काँडेतार’ देशप्रेमीको सिनेमा भएको दाबी गरे । उनले भने, ‘काँडेतार नेपालीको कथा हो । यसमा हाम्रो सिमाना रक्षाका विषय उठाएको छ । माटो र मान्छे जोगाउने उद्देश्यले सिनेमा निर्माण गरिएको हो । २५ फागुनपछि देशभक्ति र घाती छुट्टिने छन् ।’ नेपाली फिल्म इतिहासको ६० वर्षको इतिहासमा ‘काँडेतार’ जस्तो सिनेमा बन्न नसेकेको उनको दाबी छ ।

आफू देशको सच्चा नागरिक भएकाले पनि राष्ट्र र राष्ट्रियता जोगाउने बाटोमा अग्रसर रहेको उनले बताए । यसअघि दशगजा, भीमदत्त, आवाज जस्ता राष्ट्रभक्ति फिल्म निर्माण गरेका उनी चलचित्र निर्माता संघका अध्यक्ष समेत हुन् । सेन्सरबाट पास भएको सिनेमालाई प्रदर्शन गर्न वीरगञ्जमा लगाइएको रोकलाई राष्ट्रघाती कदम भएको उल्लेख गरे । ‘नेपालको माटो र नेपालीपनलाई जोगाउने हेतुले काँडेतार निर्माण गरिएको हो । हरेक नेपालीको कथा हो यो । सेन्सर भइसकेको सिनेमा देखाउन हामी ठाउँठाउँमा पुगिरहँदा वीरगञ्जमा रोक लगाइयो,’ उनले आक्रोश पोखे ।

हालसम्म करिब ७० च्यारिटी शो सम्पन्न भइसकेको काँडेतारको पोखरामा १३ माघमा वाराही हलमा च्यारेटी शो हुँदैछ । बिहान ११ बजे हुने शो गरिब, जेहेन्दार र असहाय विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले कास्कीको माछापुच्छे« ९ स्थित मनिलाल प्रतिष्ठानले चाँजोपाँजो मिलाएको हो ।

पत्रकार सम्मेलनमा नायक प्रशान्त यादव, निर्माता अञ्जु केसी, च्यारेटी शोका आयोजक संस्थाका अध्यक्ष रामहरि, चलचित्र पत्रकार संघ कास्की अध्यक्ष प्रभू अधिकारी, सचिव सन्तोष बस्याल लगायतले बोलेका थिए । सामना फिल्म प्रालि ब्यानरमा निर्मित फिल्ममा नवल खड्का सहित गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, नादिया खड्का, सनिया खड्का लगायतको अभिनय छ । शिवम् अधिकारीसँग मिलेर नवलले लेखेको फिल्मको छायांकन सौरभ लामा, संगीत मणि थापा र दीपक शर्मा, द्वन्द्व श्री श्रेष्ठ, कोरियोग्राफी कविराज गहतराजको हो । फिल्मका कार्यकारी निर्माता सत्यकला राई हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width