हिमालयले दियो अप्सरालाई उज्यालो

आदर्श समाज सम्वाददाता
पौष २१, २०८०
himalaya eye hospital

पोखरा । आँखा उपचारमा अब्बल हिमालय आँखा अस्पतालको ध्येय नाफा कमाउनु हैन । बिरामीको उपचारमा दिनरात खट्ने यो अस्पतालले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । बर्सेनि ८÷०१ लाख रुपैयाँ त उसले बिरामीको आँखाको अप्रेसन, औषधी तथा चस्मा वितरणमै खर्चिने गरेको छ ।

यसैक्रममा बिहीबार अस्पतालमा सापुकी एक बालिका भर्ना भइन् । घरको कमजोर आर्थिक अवस्थाले उपचारका लागि एक पैसो पनि तिर्न सक्ने अवस्था थिएन । अस्पताल प्रशासनले उनको पारिवारिक अवस्था बुझ्यो र तत्कालै निशुल्क अप्रेसन गरिदियो । उनी हुन्, पर्वत सदरमुकाम कुश्मा नगरपालिका वडा ११ की ७ वर्षीया अप्सरा बिक । उनका बाबु मानसिक रोगी छन् भने आमा केही समयअघि रुखबाट लडेर घाइते भएकी थिइन् ।

अस्पतालका प्रशासन प्रमुख एवं प्रवक्ता कुमार गर्बुजा भन्छन्, ‘हामीहरु नाफालाई मात्र हेर्दैनौं, कुनै पनि बिरामी पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्दैन । ती बालिकको हकमा पनि हामीले पारिवारिक अवस्था बुझेर सहयोग गरेका हौं ।’ उनका अनुसार अस्पताले बर्सेनि ८ देखि १० लाखसम्म निशुल्क उपचारमै रकम खर्चिने गरेको छ ।

पर्वत कुश्माकी सापुकी बिरामी एक बालिकाको हिमालय आँखा अस्पतालले गरिदियो निशुल्क अप्रेसन

नेपाल नेत्रज्योति संघका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर पनि गर्बुजाको भनाइमा सहमत छन् । उनी भन्छन्, ‘हिमालय आँखा अस्पताल नाफामूलक संस्था हैन । दीनदुखीको लागि स्थापना भएको अस्पताल हो भन्ने यस कुराले पनि प्रमाणित गर्छ ।’ उनका अनुसार संवेदनशील आँखाको उपचारमा कोही पनि बिरामी पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्दैन ।

अस्पतालमा अचेल दैनिक ५ सयदेखि ५ सय ५० जनासम्म बिरामी आँखाको उपचारका लागि आउने गरेका छन् । अघिल्लो वर्ष सन् २०२३ सापुको वर्ष भएकोमा यस वर्ष पनि फाट्टफुट्ट सापुका बिरामी आएको प्रवक्ता गर्बुजाले बताए ।

पोखरा १७, घारीपाटनस्थित यो अस्पतालले बिरामीको सेवामा ३ दशक पार गरिसकेको छ । अस्पतालका गण्डकी र कर्णालीमा गरी २७ आँखा उपचार केन्द्र छन् । बेलाबेलामा जुम्लालगायत विकट जिल्लामा पनि आँखा शिविर लिएर जाने गरेको अस्पताल प्रमुख डा. इलिया श्रेष्ठले बताइन् । नेपालमा चस्मा लगाउन नपर्ने गरी रेटिनासम्बन्धी अप्रेसन काठमाडौंको तिलगंगामात्र छ । बाँकी सबै सुविधा हिमालयमा पनि छ ।

Related News

सम्बन्धित समाचार

hero news full width