३१ औं त्रिवेणी कप जारी

आदर्श समाज सम्वाददाता
पौष १६, २०८०
Triveni cups

लमजुङ । ३१ औं त्रिवेणी कपमा ठाडाराई अधिकारी समाज, नेपाल पुलिस क्लब र बेंशीसहर युथ सोसाइटी विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

सोमबार ठाडाराई अधिकारी समाज र पेन्गुइन एजुकेशन भरतपुर–२४, चितवनबीचको पहिलो खेलमा ठाडाराई अधिकारी समाज ३–१ गोलअन्तरले विजयी भएको हो । जितमा सुनिल गोलेले २ गोलको योगदान दिए । अनिल चौधरीले १ गोल गरे । पेन्गुइनतर्फबाट दोस्रो हाफको पहिलो मिनेटमै मनीष गिरीले सान्त्वना गोल फर्काए ।

दोस्रो खेलमा विभागीय पुलिस क्लब विजयी भयो । चामे युवा क्बल मनाङलाई १–० गोलअन्तर हराउँदै विजयी भएको हो । तेस्रो खेल बेसीशहर युथ सोसाइटी र बेसीशहर नगरपालिका टिमबीच भएकोमा ६–१ को फराकिलो गोलअन्तरले बेंशीसहर युथ सोसाइटी विजयी भएको हो । प्रत्येक दिन ३ खेल हुने गरेका छन् ।

जिल्ला सदरमुकाम बेंशिसहरको सहजी खेलमैदान त्रिवेणी रंगशालामा सञ्चालित त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको ३१ औं संस्करण हो । पछिल्ला २ वर्षमा लगातार आयोजकले उपाधि जितेकोमा ऊ पहिलो चरणमै पाखा लागेको छ । २१ टिमले भाग लिएको प्रतियोगितामा विजेताले ८ लाख प्राप्त गर्ने छ ।

आयोजक समिति अध्यक्ष राजकुमार घिमिरेका अनुसार यो प्रतियोगिता गण्डकी प्रदेशमा हुने फुटबल प्रतियोगितामा सर्वाधिक दोस्रो ठूलो पुरस्कार राशिको हो । पोखराको सहारा क्लबले सर्वाधिक राशिको फुटबल खेलाउँछ । त्रिवेणी कपमा उपविजेताले ४ लाख पाउने छ । सेमिफाइनलसम्म पुग्ने २ टिमलाई १÷१ लाख रुपैयाँ मेडल र र प्रमाणपत्र प्रदान गरिने छ । विगतको पुरस्कार राशि तुलनामा यो वर्ष ३ लाख थप गरी विजेतालाई ८ लाख दिन लागिएको हो । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २० हजार रुपैयाँ र प्रमाणपत्र दिइने छ ।

प्रतियोगितामा काठमाडौं, काभ्रे, चितवन, नवलपरासी, तनहुँ, कास्की तथा लमजुङका विभिन्न २१ टिमले भाग लिएका छ्न । प्रतियोगिता उद्घाटन गण्डकी प्रदेशका सभा सदस्य एवं आयोजक क्लबका पूर्व अध्यक्ष भेषबहादुर पौडेलले गरेका थिए ।

लमजुङमा हरेक वर्ष पुसको दोस्रो सातामा आयोजना हुने त्रिवेणी कप निकै महत्वको मानिन्छ । फाइनल २१ पुसमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width