लमजुङमा ३१ औं त्रिवेणी कप जारी

आदर्श समाज सम्वाददाता
पौष १४, २०८०
triveni cup

लमजुङ । त्रिवेणी युवा क्लब आयोजनामा ३१ औं त्रिवेणी कप प्रतियोगितामा जारी छ । शनिबारको खेलमा ठाडाराई अधिकारी समाज बेसीशहर–९ विजयी भएको छ । उसले पेन्गुइन एजुकेसन भरतपुर–२४ लाई ३–१ गोलअन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

जितमा सुनिल गोलेले २ गोलको योगदान दिए । उनले खेलको १५ औं मिनेटमा गोलको खाता खोलेका हुन् । त्यसको ६ मिनेटमा अर्को गोल थपे । अनिल चौधरीले ३२ औं मिनेटमा फेरि गोल थप गरेर जित सुनिश्चित पारेका थिए । पेन्गुइनतर्फबाट भने दोस्रो हाफको पहिलो मिनेटमै मनीष गिरीले सान्त्वना गोल फर्काए ।

अभिशेक चर्च नवलपुर र क्विक गोर्खा सिंग्नल गोरखाको खेलमा नवलपुर २–० गोलअन्तरले विजयी भयो ।

गण्डकी प्रदेशमा हुने फुटबल प्रतियोगितामधये यो दोस्रो ठूलो धनराशिको प्रतियोगिता हो । प्रतियोगितामा कुल २१ टिमले भाग लिएको आयोजक समितिका अध्यक्ष राजकुमार घिमिरेले बताए । साविक विजेता आयोजक भने बिहीबार उद्घाटन खेलबाटै पाखा लागेको छ । प्रतियोगिताको फाइनल २१ पुसमा हुनेछ । यो प्रतियोगितालाई गण्डकी प्रदेशकै प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ ।

विगतमा खेतका गह्रामा बोका र कुखुराको भाले पुरस्कारबाट सुरु भएको यो फुटबल प्रतियोगिता पछिल्लो तीन दशकदेखि निरन्तर जारी रहेको छ ।

आयोजक त्रिवेणी युवा क्लबले यस वर्ष पुरस्कार राशिमा भारी वृद्धि गरेको हो । पोखराको सहारा युथ क्लबले आयोजना गर्ने आहा रारा गोल्डकपको पहिलो पुरस्कार १० लाख छ ।

विजेताले ८ लाख साथमा त्रिवेणी कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ४ लाख साथमा मेडल र प्रमाणपत्र पाउने खेल संयोजक सिजन श्रेष्ठले बताए । सेमिफाइनलिस्ट २ ले १÷१ लाख पुरस्कार प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २०÷२० हजार रुपैयाँ दिइने आयोजक त्रिवेणी युवा क्लब सचिव प्रवीण वाग्लेले बताए । प्रतियोगितामा लमजुङसहित तनहुँ, कास्की, गोरखा, चितवन, नवलपरासी, काठमाडौं तथा काभ्रेबाट खेलाडीले भाग लिएका छन् ।

आयोजक क्लब पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले प्रतियोगिता उद्घाटन गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width