५ सहकारीमा पोखरेलीको ३ अर्ब जोखिममा

प्रकाश ढकाल
पौष १२, २०८०
Cooperative-2

पोखरा । पोखरामा रहेका ५ वटा सहकारीमा मात्रै झण्डै ३ अर्ब रुपैयाँ जोखिममा परेको छ । करिब ३७ हजार बचतकर्ताले जम्मा गरेको २ अर्ब ९७ करोड ११ लाख ‘डुब्ने’ अवस्थामा पुगेको हो । सबैभन्दा धेरै सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड, इमेज सहकारीको करिब ६५ करोड, शिव शिखर सहकारीको ५४ करोड ९४ लाख, मित्रमिलनको ३१ करोड ७८ लाख र बलिदानीको १० करोड ६९ लाख रुपैयाँ जोखिममा परेको हो ।

सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ जोखिममा पारेको छ । उक्त सहकारीविरुद्ध १ हजार ३५ जनाले १ अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित जाहेरी दिएका छन् । १९ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा १ जनामात्रै पक्राउ परेका छन् । कोषाध्यक्ष कुमार रम्तेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

इमेज सहकारीले झण्डै ६५ करोड रुपैयाँ जोखिममा पारेको छ । यसमा कति सदस्य छन् भन्ने पनि प्रस्ट खुलेको छैन । प्रहरीले सूचना जारी गरेपछि ५ सय २४ जनाले आफ्ना ५७ करोड ९४ लाख फसेको दाबी गरेका छन् । प्रहरीले १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा ६ जना पक्राउ परिसकेका छन् । अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखा समिति संयोजक शक्ति किसान, लेखा समितिका सदस्यहरु भूमि भण्डारी, निशा कार्की र विष्णु पौडेल समातिएका छन् । मुद्दा अदालतमा दर्ता भएको छ भने २ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । अरु धरौटीमा रिहा भएका छन् ।

करिब ३७ हजार बचतकर्ताको २ अर्ब ९७ करोड ११ लाख जोखिममा परेको हो

शिव शिखर बहुउद्देश्यीय सहकारी संसथामा ७ हजार १ सय ७० जना बचतकर्ताले ५४ करोड २३ लाख जम्मा गरेका छन् । तीमध्ये १ हजार १ सय २९ जना बचतकर्ताले ४३ करोड ५९ लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी दर्ता गरेका थिए । त्यसकै आधारमा ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ४ जना पक्राउ परिसकेका छन् । सदस्यहरु अमिसराज भण्डारी, पुस्कर मल्ल, पूर्व अध्यक्ष केदारनाथ शर्मा र व्यवस्थापक लिलानाथ गौतम पक्राउ परेका हुन् । सबैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

मित्रमिलन सहकारीले ३ हजार ४ सय ४६ बचतकर्ताको ३१ करोड ७८ लाख माग दाबीसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । सहकारीका ७ सय १४ जनाले २० करोड ५० लाख ठगिएको आरोप लगाएका छन् । सहकारीका ३२ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ५ जना चाहिँ पक्राउ परेका छन् । अध्यक्ष रमण पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी सञ्चालक समिति सदस्य गोपाल खनाल, सल्लाहकार राजु बराल र बुद्धिसागर पौडेल पक्राउ परेर अनुसन्धानका क्रममा छन् । अरु फरार रहेका प्रहरीले जनाएको छ ।

बलिदानी बचत तथा ऋण सहकारी संस्थाले ६ हजार ३ सय ४५ जना बचतकर्ताको १० करोड ६९ लाख डुबाएको छ । १ सय ९८ जनाले आफ्नो ४ करोड २८ लाख ठगी भएको उजुरी दिएका छन् । १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा हालसम्म ५ जना पक्राउ परिसकेका छन् । अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषाध्यक्ष सुवर्णमान नकर्मी, सदस्य डिल्लीराम सिग्देल र लेखा समिति सदस्य सचिना थापा पक्राउ परेका हुन् । उक्त मुद्दा अदालतमा पेस भएर ३ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । अन्य धरौटीमा रिहा भएका कास्की प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width