चरक अस्पतालद्वारा म्याग्दीमा स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
पौष ९, २०८०
charak shibirs

पोखरा । चरक मेमोरियल अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा शनिबार निशुल्क स्वास्थ्य शिविर गरेको छ । बेनीको घतान नेप्टेचौरस्थित राष्ट्रिय माविमा भएको स्वास्थ्य शिविरबाट ६ सय ५० जना भन्दाबढी मानिस लाभान्वित भएका छन् ।

लायन्स इन्टरनेसनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता एवं बेनी ९ का अध्यक्ष चक्रबहादुर केसीको आतिथ्यमा भएको शिविरमा आवश्यकलाई औषधी वितरणसमेत गरिएको थियो ।

शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको चरकका पिआरओ सोवित सुवेदीले जानकारी दिए । डा. प्रदीप काफ्ले, डा. शस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायतले स्वास्थ्य जाँच गरेका थिए ।

अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले अस्पतालले यस खालका शिविर सञ्चालन गर्दै आएको बताए ।

अस्पतालले हालै गोरखामा पनि स्वास्थ्य शिविरमा सम्पूर्ण प्राविधिक सहयोग गरेको थियो । लायन्स क्लब अफ पोखरा अभियान अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बलबहादुर केसी तथा सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width