निवारण घोषणा गरिएको कुष्ठरोगको ग्राफ बढ्दो

आदर्श समाज सम्वाददाता
पौष ८, २०८०
Kustha rog

पोखरा । नेपाल कुष्ठरोग निवारण संघ, पोखरा शाखाको ४२ औ वार्षिक शाखा सभा भएको छ । कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरण बानियाले कुष्ठरोग नेपालबाट उन्मुलन भएको घोषणा गरेपनि बर्सेनि बढ्दो तथ्यांकले चिन्तित बनाएको बताए । ‘निवारण भैसकेको भन्छन् तर फिल्डमा त्यस्तो छैन,’ उनले भने, ‘तीनै तहका सरकार मिलेर यसको उन्मुलन तर्फ लाग्नुपर्छ ।’ वडाको तर्फबाट आफूहरुले सक्दो पहल गर्ने प्रतिबद्धता उनको छ । यसको नियन्त्रण र निर्मूल बनाउन सचेतना आवश्यक रहेको उनको भनाइ छ ।

संस्थाका केन्द्रीय उपाध्यक्ष नारायण शर्माले कुष्ठरोग निवारणका लागि कुष्ठरोग निवारण संस्थाको योगदान असामान्य रहेको बताए । ‘हामी सरकारभन्दा पहिला समाजमा पुगेर बिरामी खोज्छौं । बिरामीको उपचारका लागि व्यवस्था मिलाउँछौं,’ उनले भने, ‘वास्तवमै यो संस्थाको काम अतुलनीय छ । कुष्ठरोगको हिजोको जर्जर अवस्थामा संस्थाले गरेको काम प्रशंसनीय छ ।’ छिटपुट बाँकी बिरामीहरुलाई पनि खोजेर उपचारको दायरामा ल्याउन सक्दो पहल गर्ने उनले बताए । कुष्ठरोग कुनै पनि ब्यक्तिलाई लाग्न सक्ने र पहिचान हुनेबित्तिकै उपचार गराउन सके जटिल अवस्थाबाट जोगिने शर्माले सुनाए ।

कार्यक्रममा संस्थाका आजीवन सदस्य प्रकाशमान गुभाजु, गणेश गिरी लगायतले निजी स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित गरेको भन्दै संस्थाको प्रशंसा गरे । सधारण सभामा शाखाका सचिव शान्ति सिग्देलले वार्षिक प्रतिवेदन र कोषाध्यष कल्पना राणाले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

सभापति सुभाष तझ्याको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आजीवन सदस्य महेन्द्र सापकोटाले गरे भने उपसभापति भोजराज पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा बौद्ध धर्म उपासिका संघलाई कदरपत्र प्रदान गरिएको थियो भने केन्द्रीय उपसभापति नारायण शर्मालाई सम्मान गरिएको संस्थाले जनाएको छ । यस्तै, आजीवन सदस्यको प्रमाणपत्र हस्तान्तरण समेत भएको थियो ।

नेपालमा कुष्ठरोग प्रभावितको संख्या बर्सेनि बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ८ सय ५५ जना कुष्ठरोग पीडित रहेकोमा गत वर्ष २०७९/०८० मा त्यो बढेर २ हजार ८६ पुग्यो । ‘कुष्ठरोग अन्त्य भएको घोषणा गरे पनि बर्सेनि बढेको तथ्यांक सुनाउनु पर्दा असहज भएको छ,’ सभापति तझ्याले भने, ‘बर्सेनि बढेकोबढ्यै छन् । तैपनि निवारणका लागि हामीले सक्दो प्रयास गरेका छौं ।’ उनका अनुसार अहिले कुष्ठरोगको उपचार पहिलेजस्तो गाह्रो छैन । ‘हिजोका दिनहरुमा पत्ता लागे पनि उपचार र नियन्त्रण गर्न कम्तीमा ६ महिना लाग्थ्यो । अहिले १५ दिनमै नियन्त्रण हुन्छ,’ तझ्या भन्छन्, ‘आज पनि लमजुङ, गोरखा, बागलुङ, नवलपरासीलगायत जिल्लामा यसको दर बढ्दो छ ।’ उनका अनुसार नवलपरासीमा मात्रै ३० जना बिरामी छन् । बागलुङमा ४ जना बिरामी देखिएका छन् । गण्डकीको छुट्टै तथ्यांक छैन तर बिरामीको संख्या भने पोहोरभन्दा थपिएको छ ।

कुष्ठ प्रभावितको हेरचाह र औषधोपचार कुष्ठरोग निवारण संघले गरिरहेको छ । उनीहरुको हेरचाहका लागि काठमाडौं र पोखरामा आफ्नै आश्रम छ । पोखरा १५, टुटुंगामा आरोग्य आश्रम बनाएर ज्येष्ठ नागरिक र विपन्न तथा बेसहारा राखिएको छ । आश्रममा अहिले ११ जना आश्रित छन् । यसबाहेक ठूलीमझुवामा पुनस्र्थापित कुष्ठ प्रभावित परिवारलाई राखिएको छ । कुष्ठ प्रभावितका बालबच्चाको पढाइका लागि संस्थाले छात्रवृत्तिको व्यवस्था गरेको छ । हालसम्म १० जनाले यो सुविधा पाएकोमा अब १८ जनालाई छात्रवृत्ति प्रदान गर्न लागिएको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width