सडक महोत्सवमा ५ लाख पर्यटक लक्ष्य

आदर्श समाज सम्वाददाता
पौष ७, २०८०
reban

पोखरा । अंग्रेजी नयाँ वर्ष अवसरमा हुने २५ औं पोखरा सडक महोत्सवलाई यसपालि विशेष बनाइने भएको छ । महोत्सव प्रचारका लागि आयोजक रेस्टुरेन्ट बार एसोसिएसन (रेवान) पोखराको टोली देश दौडाहामा छ ।

रेवान पोखराले हालै काठमाडौं र चितवनमा पत्रकार सम्मेलन गरी अंग्रेजी नयाँ वर्षसँगै सडक महोत्सवमा रमाउन पर्यटकलाई पोखरा निम्तो दिएको हो ।

पुस १२ देखि १६ सम्म रजत जयन्ती महोत्सव अवसरमा २५ औं पोखरा सडक महोत्सव हुन लागेको हो । काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने नारासहित ५ दिन चल्ने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकलगायत कार्यक्रम हुने भट्टराईले बताए ।

महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सव पोखराको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्मको करिब ३ किमी क्षेत्रमा हुने जानकारी दिए । महोत्सवमा पोखरा पर्यटनको विकास प्रवद्र्धन, अवसर र चुनौतीको विषयमा केन्द्रित टक सो कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले यस्ता सडक महोत्सवलाई सहयोग गर्दै आएको बताए । रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

यस्तै, चितवनको सौराहामा आयोजित पत्रकार सम्मेलनमा यसपालिको महोत्सव पृथक तरिकाले सञ्चालन हुने जनाइएको छ ।

यही पुस १२ देखि १६ गतेसम्म लेकसाइडमा हुने महोत्सवमा चितवनको थारु संस्कृति हेर्न पाइने

महोत्सव मुख्य आकर्षणरुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौती विषय केन्द्रित टक सो, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजलाई प्राथमिकताका साथ प्रदर्शनी व्यवस्था गरिएको आयोजकले जनायो ।

कार्यक्रममा बालबालिकाका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदको डकुमेन्टी प्रदर्शन समेत गर्न लागिएको छ ।

महोत्सवमा राष्ट्रियस्तरका कलाकारको दैनिक प्रस्तुति रहनेछ । यस्तै चितवनको थारु संस्कृति महोत्सवमा हेर्न पाइनेछ ।

महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा लिइएको छ । महोत्सवबाट १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ ।

सडक महोत्सवमा आउने पर्यटकलाई बसोबासको लागि पोखराका १ हजार २ सयभन्दा बढी होटलमा ४० हजार श्यया उपलब्ध रहेको रेवान पोखराले जनाएको छ । ४ देखि ५ लाख आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवको अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा ७० लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ ।

पोखरा राजधानीपछिको ठुलो पर्यटकीय गन्तव्य हो । यहाँ देश विदेशबाट पर्यटक आउने गर्दछन् । विशेषगरी नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width