पोल्याङमा निशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
पौष ३, २०८०
Health newss

पोखरा । रुपा गाउँपालिका तथा नेलम्बो नेपालको संयुक्त आयोजनामा पोल्याङमा ३ दिने निशुल्क स्वास्थ्य शिविर भएको छ । स्थानीय जनता माविमा भएको उक्त शिविरबाट कुल ८ सय जना बिरामी लाभान्वित भए ।

जसमध्ये ५ सय ७६ जनाले चिकित्सा सेवा, हाडजोर्नी सेवा ४ सय १८ जना, दन्त परीक्षण २ सय २९, नाक, कान घाँटी २ सय १६, स्त्रीरोग सेवा २ सय ३८, छालासम्बन्धी सेवा १ सय १६, इसिजी २ सय ४६, भिडियो एक्सरे १ सय १६, रगत परीक्षण २ सय १३, पिसाब परीक्षण १ सय १०, गर्व परीक्षण ६, कानको परीक्षण ४२, कानको सफाइ २४, दाँत सफा गर्ने ४२ र दाँत निकाल्ने ५ जनालाई सेवा दिएको नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिए ।

शिविरमा डा. सुर्दशन आचार्य, डा. विनोद बराल, डा. सुरज लामिछाने, डा. रेखा पौडेल र डा. सरोज पोख्रेलसहित २१ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । त्यस्तै गाउँपालिकाले १३ जना स्वयंसेवक परिचालन ग¥यो ।

कार्यक्रममा धारणा राख्दै नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले पोल्याङमा स्वास्थ्य शिविर आवश्यक रहेको परीक्षणले देखाएको स्पष्ट पार्दै गुणस्तरीय सेवा दिन संस्थाले कुनै कसुर बाँकी नराखेको जनाए ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नेलम्बोको स्वास्थ्यप्रतिको गुणस्तरीयतामा पालिका विश्वस्त रहेको सुनाउँदै नेलम्बोसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ नेलम्बोले कोभिड १९ को विषम परिस्थितिदेखि नै पालिकालाई सहयोग गर्दै आइरहेको स्मरण गर्दै शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा नेलम्बोको योगदान महत्वपूर्ण रहेको चर्चा गरिन् ।

रुपा ३ का वडाध्यक्ष दीपेन्द्र गौतमले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा नेलम्बोप्रति धन्यवाद दिए । उनले आफूले सुरुमा शिविर सामान्य होला भन्ठानेको तर एउटा अस्पताल बराबरको सेवा गाउँमै प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width