पोखरामा सुरु भएको क्रिकेटमा ओलीको ब्याटिङ

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०८०
400749449_1051886382931543_7079250451999400566_n

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ब्याटिङ गर्दै । –तस्बिरः विजय नेपाल

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरा रंगशालामा बिहीबारदेखि प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

पोखराबाट पहिलो पल्ट सुरु भएको केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको एकेडेमी संरक्षक समेत रहेको नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याटिङ गरेर उद्घाटन गरे । पूर्व उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बलिङ गरेका थिए ।

प्रतियोगिता उद्घाटन अवसरमा एकेडेमी परिकल्पनाकारसमेत रहेको नेता ओलीले पोखराको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने बताए । उनले आफू प्रधानमन्त्री भएको बेला सरकारले देशभर खेल मैदान निर्माणमा जोड दिएको दाबी गरे ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका राजेशकुमार गुरुङ, एकेडेमी अध्यक्ष ध्रुव आचार्य लगायत बोलेका थिए ।

ओलीलाई पोखरा रंगशालामा पञ्चेबाजा र नाचगानसहित भव्य स्वागत गरिएको थियो ।

प्रतियोगितामा ३ विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी क्लबसहित कोशी, बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको टिमले भाग लिएका छन् । साथै, युवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना २ टिमलाई समेत मैदान उतारेको छ ।

विजेताले ५ लाख नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उद्घाटन खेल बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी रातोबीच भएको छ । आगामी मंसिर १५ सम्म खेल चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width