भव्य बन्यो बौद्ध अर्घौ सदन 

श्रीभद्र पौडेल
मंसिर ४, २०८०
gumba a
पोखरा । पोखरा रामघाटस्थित बौद्ध अर्घौ सदनको नयाँ भवन (गुम्बा) निर्माणको क्रममा थुपै्र चुनौती छिचोल्दै लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको छ । २०७१ सालमा भएकोे आम भेलाले संकल्प गरेअनुसार ९ वर्षपछि गुम्बा निर्माण सम्पन्न भएको हो । विस. २०३५ मा निर्माण भएको तत्कालीन अर्घौ सदन सानो भएसँगै समयानुकूल फराकिलो गुम्बा बनाउनुपर्ने आवाज सुरुदेखि नै उठ्दै आएको थियो । नयाँ भवनको मंसिर ४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ साथै गुरुवर डुक्पा रिन्पोछेबाट संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
गुम्बा निर्माणबारे छलफलका लागि २०७१ सालमा भएको भेलामा दिनभरजसो विश्वमा प्रसिद्ध मानिएका बुद्धका १० मूर्तिलगायत लुम्बिनी, गया, सारनाथ, कुशीनगरमा रहेका मूर्तिका नमूनाको चर्चा भयो । स्वयम्भू, बौद्धनाथ तथा काभ्रेबाट ल्याइएका बुद्धका विभिन्न डिजाइनका तस्बिरबारे पनि छलफल चल्यो । त्यसपछि मात्रै पोखराका बौद्धमार्गीलाई महसुस भयो कि पोखरामा फराकिलो गुम्बा आवश्यक छ भनेर ।
पोखरामा गुरुङ समुदायको बस्ती बाक्लिँदै गएपछि गुम्बा आकारगत हिसाबले साँघुरो हुन थाल्यो । फलस्वरुप गुम्बाको नयाँ भवन बनाउने निर्णय भयो । गुम्बासहित बहुउद्देश्यीय भवन निर्माणमा १० करोड बढी लाग्ने अनुमान गरियो । तर यतिका मात्रामा रकम जुटाउन असम्भव जस्तै थियो । यस बीचमा कतिपय सदस्यले यस्तो महँगो भवन निर्माण गर्न सकिँदैन भनेर हच्किए । आवश्यक त छ तर पैसा छैन, जुटाउन पनि गाह्रो छ भन्ने कुरा आयो । अध्यक्ष भुवनसिं गुरुङले भेलाले नयाँ भवन बनाउने निर्णय गरोस् हामी काम सुरु गछौं भन्ने प्रस्ताव राख्दा भेला सकारात्मक भयो ।
बौद्ध अर्घौं सदनको तत्कालीन कार्यकारी समितिले गुम्बा निर्माण गरिछाड्ने संकल्पअनुसार प्रक्रिया अघि बढ्यो । रकम जुटाउँदै काम अघि बढाउँदै  जाने निर्णय पनि भयो ।
भेलाको निर्णयअनुसार कार्यकारी समितिले ३ तलाको बहुउद्देश्यीय भवन निर्माण गर्ने सोच अगाडि सा¥यो । त्यसैअनुसार नक्सा निर्माण गरी सोचविचार गरी काटछाँट गरियो । त्यसैअनुसार २०७१ वैशाख १९ गते शुक्रबारको दिन रिम्पोछेबाट शिलान्यास भयो ।
काम सुरु भएपछि क्रमशः १÷२ करोड रकम संकलन हुँदै गयो । स्रोतकै खोजीमा गण्डकी क्षेत्रस्थित ४५ वटा क्षत्रीय तमु (गुरुङ) समाजका प्रतिनिधि तथा गुरुङ समुदायका बौद्धिक व्यक्तिसँग छलफल गरियो । त्यहाँ रकम संकलनका लागि विभिन्न उपायबारे चर्चा भयो । विभिन्न व्यक्तिलाई संयोजक तोक्दै विदेशबाट रकम संकलनलाई पनि तीव्रता दिइयो । सोही पहलका कारण सोचेभन्दा बढी भवन निर्माणमा स्रोत संकलन भयो । करिब ८ सय जनाले १ लाख नघट्ने गरी दान रकम दिने घोषणासमेत गरे । जसले तत्कालीन समितिलाई भवन निर्माणमा निकै ठूलो ऊर्जा पनि दियो ।
त्यति काम के हुँदै थियो, विनाशकारी भूकम्प गयो । हजारौंको मृत्यु भयो, लाखौं घरबार एवं सहाराविहीन भए । बचेका कतिपय घाइते नेपालीले समेत मन थाम्ने अवस्था भएन । जिउज्यानको सुरक्षा नै प्राथमिकतामा प¥यो । जसकारण गुम्बा निर्माणको काम रोकियो । कार्यसमिति भूकम्प पीडितको उद्धार तथा राहत कार्यमा जुट्यो ।
करिब सयभन्दा बढी भूकम्प पीडितलाई अर्घौं सदनमै आश्रय दिई डाक्टर, नर्ससहितको विशेषज्ञ टोली व्यवस्थापन गरेर उपचार साथै उद्धारसमेत गरियो ।
भूकम्पको प्रभाव केही कम हुँदै गर्दा गुम्बा निर्माणको काम सोचेभन्दा निकै ढिलो गतिमा चलिरह्यो । त्यस बीचमा देशमा नाकाबन्दी भयो । भारतले खाद्यलगायत निर्माण सामग्री निर्यातमा ठप्प बनायो । त्यस बीचमा २०७४ का तीनै तहका निर्वाचनसमेत भए । यी कारणले पनि गुम्बा निर्माणमा बारम्बार अवरोध र ढिलाइ भइ नै रह्यो । कामदार सबै मतदान गर्न गृह जिल्ला गए । केही महिना घरायसी काम गरेर पुनःगुम्बा निर्माणमा फर्किए ।
त्यसपछि केही समय भए पनि गुम्बा निर्माणको कार्य अगाडि बढ्यो । काम लक्ष्यभन्दा निकै सुस्त गतिमा थियो । शिलान्यासको ४ वर्षमा गुम्बा निर्माण गरिसक्ने लक्ष्य पूरा नहुने निश्चितजस्तै भयो । तर पनि तत्कालीन सञ्चालक समितिले विभिन्न अवरोध छिचोल्दै निर्माण कार्यलाई तीव्रता दिने अथक प्रयास भने जारी नै राख्यो ।
विश्वभर कोरोनाको बिगबिगी सुरु भयो । बिस्तारै कोरोना देशैभर फैलियो । कोरोनाकै कारण मानिसहरू सबै घरभित्रै लुकेरै बस्नुपर्ने बाध्यता बन्यो । यसबीचमा कतिपयले छिमेकी, आफन्त, एकाघरकै मान्छे गुमाउनु प¥यो । कतिपय मानिसहरू शोकमा परे।
बाहिर हिँड्डुल गर्न सक्ने अवस्था नभएपछि कोरोनाकै कारण कामदार अभाव भएर करिब २ वर्षसम्म गुम्बा निर्माणको काम रोकियो । ४ वर्षमा सक्ने सुरुको लक्ष्यमा धक्का महसुस भयो । समय त बढी लाग्ने भयो नै । लागत पनि बढ्ने र कसरी जुटाउने हो भन्ने चिन्ता निर्माण समितिलाई थपियो ।
निर्माण जिम्मा लिएको ब्रेन वक्र्स आर्किटेक्चर प्रालिका (वीरेन्द्र गुरुङ) तथा स्टक्चरल इन्जिनियर सञ्जय गुरुङलाई पनि समयमै गुम्बा निर्माण टाउको दुखाइको विषय बन्यो ।
यिनै पृष्ठभूमिबीच ३ तले बहुउद्देश्ययीय गुम्बा निर्माणले हालै पूर्णता पायो । जुन यस क्षेत्रकै महŒवपूर्ण उपलब्धि हो ।
निर्माण सम्पन्न भएको बौद्ध अर्घौ सदनको नयाँ भवनको भुइँतलामा ५ सय जना अट्ने बहुउद्देश्यीय सभाकक्ष निर्माण गरिएको छ । सभाकक्षलाई खुल्ला गरी सदनको आम्दानीसँग जोड्ने तयारीमा वर्तमान सञ्चालन समिति रहेको अध्यक्ष क्या. भुवनसिंह गुरुङले जानकारी दिए । उक्त सभाकक्षमा शाकाहारी भोजनमात्रै खान तथा पकाउन मिल्ने व्यवस्था छ ।
गुम्बाको पहिलो तला विशेष महŒवको छ । जसलाई पूजा हलका रुपमा विकास गरिएको छ । जहाँ भगवान् बुद्धको विशाल मूर्ति छ । त्यहाँ ९ तथा ८ फिट उचाइमा अमिताभ बुद्ध, चेन्रोसिग तथा गुरु पद्मसम्यम्को सालिक स्थापना गरिएको छ । सुनको जलप जडित अमिताभ बुद्ध मूर्तिको लागत मात्रै करिब डेढ करोड छ । पूजा हलको भित्तामै हजार संख्यामा बुद्ध भगवान्का स–साना मूर्ति जडान गरिएको छ । त्यस्तै २ वटा स्तूप राखिएको छ भने बुद्धको जीवनलीलामा आधारित विभिन्न आकृतिका चित्रसमेत कोरिएको छ ।
पूजा हलभित्रै बौद्ध संस्कृतिमा प्रयोगमा आउने विभिन्न वाद्यवादन सामग्रीसमेत व्यवस्थापन गरिएको छ ।
गुम्बाको दोस्रो तलालाई झनै मनमोहक तुल्याइएको छ । जुन ५ कक्षमा विभाजित छ । जसमध्येको एउटा कक्ष मिनी आर्ट ग्यालरी (संग्रहालय) का रुपमा विकास गरी त्यहाँ महायानी बुद्ध धर्मका देवी देवताका मूर्तिहरू साथै पूजासामग्री राखिएको छ ।
दोसो कक्षमा पुस्तकालय व्यवस्थापन गरिएको छ । जहाँ बौद्ध मान्यतासम्बन्धी विभिन्न भाषाका महŒवपूर्ण पुस्तक संग्रहित छन् । त्यस्तै तेस्रोमा २१ वटा तारादेवी समेटिएका छन् । चौथोंमा अतिथिगृह वा कक्ष तथा अन्तिममा मुख्य गुरुसँग भेटघाट कक्ष निर्माण भएको छ । त्यहाँ सानो भान्छाकोठासमेत निर्माण भएको छ ।
यसरी लामो समयको प्रतीक्षापछि करोडौं खर्चेर निकै मनमोहक भवन बनेको छ । जसले पोखरा, गण्डकी क्षेत्र लगायत नेपालकै बौद्ध मार्गीहरूमा उत्साह, उमंग थपेको छ ।
गुम्बाको पहिलो तलामा राखिएका ३ वटा मुख्य मूर्ति (अभिताम बुद्ध, चेन्रोसिग तथा गुरु पद्मसम्भवको सालिक) तथा तारादेवी पाटन निवासी ज्यापु हस्तकला प्रालिका बुद्धरत्न महर्जनले निर्माण गरेका हुन् भने बुद्धका साना आकारका हजार मूर्ति काठमाडौं बौद्धका प्रज्ञान योञ्जनले बनाएका हुन् ।
गुम्बाको रोचक पक्ष यो छ कि गुम्बामा रंगरोगनबाट निर्मित विभिन्न आकृति सम्पन्न गर्न झण्डै साढे २ वर्ष लागेको छ । विभिन्न बुट्टामा त्यहाँ बुद्धका जीवनसम्बन्धी विभिन्न आकृति निर्माण भएका छन् । सिन्धुपाल्चोकको ह्योल्मो थरका १६ जना कामदारले निरन्तर साढे २ वर्ष रंग खोपेर त्यस्ता आकृति बनाएका हुन् । जसले गुम्बाको सुन्दरतामा वृद्धि गरेको छ । त्यस्तै इलामबाट कार्पेन्टर झिकाइ काम गराइएको थियो ।
गुम्बा निर्माणको लागत तोकिएकोभन्दा निकै बढी पुगेको छ । सुरुमा १० करोड हाराहारी लाग्ने भने पनि काम सम्पन्न गर्दा झण्डै १९ करोड वरिपरि खर्च भएको जनाइएको छ । यो दाताहरूको विशाल मनबाट मात्रै सम्भव भएको हो ।
बुद्धको मुख्य सालिक निर्माणका लागि हेमजाकोट निवासी हर्कबहादुर गुरुङले २१ लाख दान गरेका छन् । त्यस्तै ठूलो म्हणि (माने) बनाउन तामागीका क्या.यमबहादुर गुरुङले १९ लाख ३४ हजार र गुम्बा निर्माणमा थप ५ लाख सहयोग गरे ।
चेन्रोसिग भगवान्को मूर्ति निर्माणका लागि बाँझापाटन तमु समाजले २० लाख खर्चेको छ । कक्ष निर्माणमा विजयपुर निवासी डब्लुओटु एकबहादुर गुरुङले १२ लाख, गेट निर्माणमा ल्वाङघलेल निवासी सा. चिनबहादुर गुरुङबाट १० लाख प्राप्त भएको अर्घांै सदनले जनाएको छ ।
त्यसैगरी सु.विजयकुमार गुरुङ (पात्लेखेत), वर्तमान अध्यक्ष क्या.भुवनसिं गुरुङ (घान्द्रुक), बगालेटोल निवासी क्या.स्वःईश्वरबहादुर गुरुङ, हङकङस्थित उर्गेन दोर्जे छ्योलिङ बुद्धिस्ट सेन्टरबाट पनि गुम्बा निर्माणका लागि १०÷१० लाखभन्दा बढी दान रकम प्राप्त भएको छ ।
भवन/गुम्बा उद्घाटनकै अवसर पारेर सञ्चालक समितिले सबै दाताको नाम ठेगाना समेटी स्मारिका प्रकाशन गर्ने तयारी पनि गरेको छ । त्यस्तै गुम्बा परिसरमा डिजीटल माध्यममार्फत् एक पटकमा १५ दाताको नाम देखिने गरी सबै दाताको नाम क्रमश देखाइने व्यवस्था गरिने जनाइएको छ ।
२०३५ सालमा स्थापित सदनको हालसम्म क्रमशः क्या.स्वःबुद्धिबल गुरुङ, मे.स्वःपूर्णबहादुर गुरुङ, नासु बिलबहादुर गुरुङ, सि.आई स्वः प्रेमबहादुर गुरुङ, शंकर गुरुङ, क्या. उमरध्वज गुरुङ, स्वःवीरबहादुर गुरुङ, क्या.मनबहादुर गुरुङ तथा पछिल्ला ४ कार्यकाल लगातार क्या.भुवनसिं गुरुङले नेतृत्व गरिरहेका छन् ।
कुल १५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त सदन परिसरमा २०२८ सालबाटै शवको अन्त्येष्टि गर्ने गरिएको छ । बौद्ध अर्घौ सदनबाट सञ्चालित चित्ता घर सबैका लागि खुला छ ।

Related News

सम्बन्धित समाचार

hero news full width