पोखराको पर्यटन विकासमा अमेरिकाले सघाउने

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०८०
Pokhara – US aid
पोखरा । पोखरा महानगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बिच कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई प्रोत्साहन गर्न प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र (यूएसएआईडी) को तर्फबाट परियोजना प्रमुख एगनेस लुजले बिहीबार हस्ताक्षर गर्नुभएको हो ।
समझदारी अनुसार पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले युएसएआइडी टी एन्ड सिले २ वर्षसम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेछ । आगामी नोभेम्बर १, २०२३ देखि डिसेम्बर ३०, २०२५ सम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेगरि समझदारी भएको हो । यस अवधिमा पर्यटन क्षेत्रमा सार्वजनिक लगानी वृद्धिका लागि आवश्यक कार्य योजना सहित खाका तयार गर्न अल्पकालीन तथा दीर्घकालीन प्राविधिक सहयोगको साझेदारी गरिनेछ ।
पोखराको पर्यटन विकासका लागि पर्यटन व्यवसाय र पर्यटन व्यवसायीले सामना गरिरहेका चुनौती र समस्यालाई सम्बोधन गर्न पोखरा महानगरपालिकालाई आवश्यक प्राविधिक तथा परामर्शात्मक सहयोग समेत युएसएआइडी टी एन्ड सिले प्रदान गर्नेछ । समझदारी अनुसार पर्यटन विकासमा आवश्यक प्रशिक्षण, लगानी फोरमहरू, बजारीकरण र प्रचारप्रसारका कार्यक्रमहरू पनि गरिनेछन् । यसको कार्यान्वयन भने सहरी योजना आयोगको सहजिकरणमा हुनेछ ।
पोखरा महानगरपालिकाले साझेदारबाट प्राप्त प्राविधिक परामर्शको कार्यान्वयन भने महानगरपालिकाको आवश्यकता अनुसार गरिने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताउँदै उहाँले पर्यटन पूर्वाधार तथा पोखराको पर्यटनमैत्री विकासका सन्दर्भमा प्राप्त सुझावहरूको कार्यान्वयन उपयुक्तताको आधारमा गरिने बताउनुभयो । समझदारी अनुसार गुणस्तरीय पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यहरू होमनाथ गैरे र सुरेन्द्रबाबु तिवारी, मन्दिरा पराजुली लगायतको उपस्थिति रहेको थियो ।
यूएसएआईडीले आफ्नै खर्चमा सञ्चालन गर्ने यस परियोजनाले उच्च गुणस्तर र मूल्यको निर्यातमा विविधीकरण, दिगो रोजगारी वृद्धि र अधिक स्थायित्व तथा दिगो निर्माणमा सहयोग गर्दै आइरहेको छ । साथै यसले हरित वृद्धि वित्त पोषण, जलवायु वित्त पोषण र स्वदेशी तथा घरेलु लगानी लगायत वित्त पोषण र लगानीका नयाँ स्रोतहरू जुटाउने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width