रैथाने बाली जोगाउनै मुस्किल

आदर्श समाज सम्वाददाता
असाेज २८, २०८०
raithane 1

पोखरा । नेपालीले दैनिक रूपमा खाने परिकारहरू दाल, भात, तरकारी र अचार हुन् । तर कोदो, जौं, फापर, चिनो, कागुनो, लट्टे केही यस्ता अन्नबाली हुन्, जुन पहिलेदेखि नै नेपालीको प्रमुख खाना थियो । नयाँ जातको विकास र सहज उपलब्धताका अलावा रैथाने जातका बालीको न्यून उत्पादकत्व, जनसंख्या वृद्धि, बसाइँसराइ, आयातित खानेकुरा, जलवायु परिवर्तनको कारण हाल यी बालीको उत्पादनमा ह्रास आएको छ ।

यसैक्रममा काठमाडौं फ्रेस बेकरी पोखराको स्वदेशी अन्न, स्थानीय उद्यमी र दिगो कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ रैथाने बेकिङ प्रदर्शनी गरेको छ । शनिबार महेन्द्रपुलस्थित काठमाडौं फ्रेस बेकरी परिसरमा सो प्रदर्शनी भएको हो । जसमा सेफ लोकेन्द्र महर्जनको नेतृत्वमा विभिन्न स्वादका परिकार पस्किएको थियो ।

काठमाडौं फ्रेस बेकरी पोखराका सञ्चालक रोशन महर्जनले कसरी रैथाने बालीहरुले आर्थिक समृद्धि र दिगो कृषिको जगको रुपमा काम गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण प्रदर्शनी भएको बताए । दिगोपन र पाक उत्कृष्टताप्रति सरकारको प्रतिबद्धतालाई जोड दिँदै कृषि तथा पशुपक्षी मन्त्रालयको अटुट सहयोगमा यसप्रकारका कार्यक्रमको प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरे ।

कार्यक्रममा पाक महर्षि सन्दीप क्षेत्रीले पर्यटकीय सहर पोखरा क्षेत्रमा रैथाने बालीको संरक्षण गर्दै पर्यटन व्यवसाय, होटल म्यानेज्मेन्ट र पाककलाको विकासको प्रशस्त सम्भावना रहेको बताए । आफू देशका विभिन्न भागमा रैथाने बालीको पाककला सिकाउन लागिपरेको उल्लेख गर्दै उनले सरोकारवाला निकायले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । घनश्याम भट्टराईसँग मिलेर उनले लेखेको ‘रैथाने बालीका परिकारसम्बन्धी पुस्तिका’ कृषि ज्ञान केन्द्र कास्कीले यसअघि प्रकाशन गरेको थियो । जसमा रैथाने बालीबाट बन्न सक्ने ४० प्रकारका परिकारहरु उल्लेख गर्दै पाककलाको तरिकासमेत सिकाइएको छ ।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले कार्यालयले उत्पादन र उत्पादकत्वमा जोड दिँदै आएको बताउँदै आपूmहरु रैथाने बाली संरक्षणमा सहकार्य गर्न तयार रहेको बताए ।

पोखरा होटल म्यानेज्मेन्ट कलेजका अध्यक्ष अशोक पालिखेले नेपालमा होटल म्यानेज्मेन्टको प्रशस्त सम्भावना रहेकोले आफूहरुले नेपालमै पहिलो पटक पोखरामा कलेज खोजेको बताए । उनले डाँडामा खेतीबाली लगाउन छोडेर रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले संघ पोखराकै जेठो संस्था भएको उल्लेख गर्दै व्यवसायीको हितमा सहकार्य गर्दै आएको बताए ।
सो अवसरमा द मेन स्ट्रिट आर्टिसन क्याफेको पनि सफ्ट लन्च गरिएको छ । सञ्चालक युनिका महर्जनका अनुसार यो क्याफेमा कोदोबाट बनेका परिकारहरुलाई अहिले जोड दिइएको छ । जसमा कोदोको पानकेक, मोमो, पिज्जा लगायतका परिकार ग्राहकलाई पस्किने गरिएको छ ।

आजभन्दा झण्डै ३ दशकदेखि सञ्चालित काठमाडौं फ्रेस बेकरी पोखरामा हाल ५० जना कर्मचारी छन् । यसले सोही ठाउँमा द मेन स्ट्रिट आर्टिसन क्याफे सञ्चालनमा ल्याएको हो । महिला सशक्तीकरणमा जोड दिँदै एकल महिला तथा श्रीमान् विदेशमा रहेका महिलाको आयआर्जनमा पनि सघाउ पुग्ने उद्देश्यले उनीहरुलाई यसप्रकारको रैथाने बाली संरक्षण र प्रवद्र्धनमा जोड दिने सञ्चालक युनिका महर्जनले बताइन् ।

कृषिमा कम बजेट
विशेष ठाउँमा किसानहरुले ६० वर्ष अगाडिदेखि परम्परागत रुपमा खेती गर्दै आएका बालीहरुलाई स्थानीय वा रैथाने बाली भनिन्छ । गण्डकी प्रदेशका प्रमुख रैथाने बालीहरुमा धान, मकै, कोदो, फापर, लट्टे, आलु, तरुल, पिँडालु, चिनो, कागुनो, उवा, स्थानीय मास लगायत हुन् ।

गण्डकी प्रदेश सरकारले पनि रैथाने बाली संरक्षणमा विभिन्न कार्यक्रम ल्याउने गरेको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले क्लस्टर (समूह) मा रैथानी बाली संरक्षण उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । कृषि ज्ञान केन्द्र कास्कीले भने कागुनोलाई विशेषबालीको रुपमा संरक्षण गर्दै आएको छ । कम उर्बरभूमिमै बढी उत्पादन दिन सकिने कागुनो कोदोको एक प्रकार हो । ४ महिनामा उत्पादिन लिन सकिने यसलाई अनिकाल टार्ने अन्नको रुपमा पनि लिइन्छ । केन्द्रले जिल्लामा विभिन्न कृषक समूहमार्फत रैथाने बाली संरक्षणमा प्राविधिक र आर्थिक सहयोग गर्दै आएको छ ।

अचेल कतिपय रैथाने बाली तथा प्रजाति लोप भइसकेका छन् । रैथाने बाली पोषिलो भए पनि उपभोक्ताको पहुँचभन्दा टाढा हुँदा सहजै पाइने खानेकुरामा उनीहरु आकर्षित देखिन्छन् । रैथाने बालीको उत्पादन कम दिने हुँदा यसप्रति किसान अनिच्छुक छन् भने उनीहरुको आकर्षण उन्नत जातको बिउमा बढी छ ।

गण्डकी प्रदेशमा चालु आवमा कृषि क्षेत्रको लागि संघ र प्रदेशबाट गरी कुल २ अर्ब २१ करोड बजेट परेको छ । यो बजेट गत आव २०७९÷८० को तुलनामा ३२ करोडले कमी हो । गत वर्ष २ अर्ब ५३ करोड बजेट विनियोजन भएकोमा यसपाला झनै घटेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width