तमुका संस्था एकीकरण गर्न सुुझाव

तमु धिं नेपालका १६ औं महाधिवेशन

आदर्श समाज सम्वाददाता
असाेज २७, २०८०
Tamu Dhin Photo

पोखरा । सहरी विकास मन्त्री सीता गुरुङले देशलाई समृद्ध बनाउन गठबन्धन सरकार लागि परेको बताएकी छिन् । शनिबार पोखरामा तमु धिं नेपालको ३९ औं वार्षिक साधारण सभा तथा १६ औं महाधिवेशनमा सहरी विकास मन्त्री सीता गुरुङले सरकार पूर्वाधारमा लागि परेको बताएकी हुन् । ‘नेपालका सबै ठाउँमा पूर्वाधारको विकास हुन सकेको छैन । त्यसलाई सुधार गर्दै देश समृद्ध बनाउने अभियानमा गठबन्धनको सरकार लागिरहेको छ,’ मन्त्री गुरुङले भनिन्, ‘हामीले व्यवस्था परिवर्तन गरेर मात्र हुँदैन, अवस्था परिवर्तनका निम्ति सबैको साझा संकल्प र प्रतिबद्धता आवश्यकता छ ।’

गुरुङहरूको भाषा, कला, साहित्य संस्कृति बचाउनका लागि गुरुङ युवाहरू नेपालमै बस्ने वातावरण सिर्जना गर्नु आजको आवश्यक रहेको मन्त्री गुरुङले बताइन् । ‘युवाहरूको उत्साह र ऊर्जालाई सँगै समेटेर लैजान सकेनौं भने देशले आर्थिक, सामाजिक र भौतिक फड्को मार्न सक्दैन,’ उनले भनिन्, ‘त्यसपछि हाम्रो कला, भाषा, संस्कार, संस्कृतिहरूको पुस्तान्तरण पनि हुँदैन । सोही कारण नयाँ पुस्ताहरूलाई सँगै डो¥याएर लैजानुपर्ने आजको आवश्यकता देखिएको छ ।’ तमु धिं नेपाल, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, तमु प्हे ल्हु संघ जस्ता छरिएर रहेका गुरुङको संस्थालाई एकजुट भएर अगाडि बढ्न पनि मन्त्री गुरुङले सुझाव दिइन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, प्रदेश सभा सदस्यद्वय सरस्वती गुरुङ र वेदबहादुर गुरुङले गुरुङ, तमु ह्युला छोंज धि गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङ, तामाङ घेदुङ संघका अध्यक्ष दीपक तामाङ लगायतले संघसंस्थाको एकतामा जोड दिएका थिए ।

संस्थाका अध्यक्ष हुमबहादुर गुरुङले अधिवेशन लगत्तै तमु धिं र तमु ह्युला छोंज धिंबीचको एकताको पुनः थालनी गरिने बताए । यसभन्दा अघि पनि एकताको प्रयास भएको भए पनि नामका कारण घोषणा गर्न बाँकी रहेको उनको भनाइ थियो । ‘संस्थागत एकता अपरिहार्य छ । एकता नभई शक्ति प्राप्त हुँदैन अनि शक्ति नभई अधिकार प्राप्त गर्न गाह्रो पर्छ,’ उनले भने, ‘त्यसैले पनि हाम्रो अधिकारका लागि एकता अपरिहार्य छ । यसअघि पनि प्रयास भएकै हो । नामका कारण ढिला भएको हो अब अधिवेशन सकिएलगत्तै त्यसलाई सार्थकता दिन लाग्छौं ।’ साधारण सभाले सचिव जुनाकुमारी गुरुङको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।

तमु धिंमा पुनः हुम
तमु धिं नेपालको अध्यक्षमा पुनः हुमबहादुर तमु निर्वाचित भएका छन् । १६ औं अधिवेशनका लागि उद्घाटन सत्र अगावै गरिएको उम्मेदवारी दर्ता प्रक्रियामा कार्यसमितिको पदाधिकारीमा एकल उम्मेदवारी परेसँगै तमु आगामी ३ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबार अध्यक्ष लगायत ९ पदीय पदाधिकारीको लागि उम्मेदवारी दर्तामा वर्तमान अध्यक्षसहितको पदाधिकारीहरूको एकल उम्मेवारीपश्चात् निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको सूचना टाँस गरेको थियो ।

वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गीमाया गुरुङ, द्वितीय उपाध्यक्ष नारायण गुरुङ, महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, सचिव जुमकाजी गुरुङ, सहसचिव गोपाल गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ र सहकोषाध्यक्ष सु.तुलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य राजबहादुर गुरुङले जानकारी दिए ।

कार्यसमिति सदस्यका लागि निर्वाचित पदाधिकारीहरूले विभिन्न जिल्ला, क्षेत्र, लिंग लगायत समावेशितालाई ध्यान दिंदै संस्थागत सिफारिसको आधारमा मनोनयन गर्ने प्रावधान रहेको सदस्य गुरुङले बताए । निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सदस्यहरू सल्लाहकार एवं पूर्व महासचिव रुद्रकुमारी गुरुङ मैना र आजीवन सदस्य एवं पत्रकार राजबहादुर गुरुङ रहेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width