होटल व्यवसायीले गुहारे राष्ट्रबै‌क, तत्काल साँवा व्याज बुझाउन सकिएन

आदर्श समाज सम्वाददाता
असाेज २६, २०८०
Hotel sang ko bigyaptie

पोखरा । होटल संघ पोखरा नेपालले व्यवसाय टिकाउन आवश्यक सहजीकरणको आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भए अनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनर्तालिकीकरण, पुनर्संरचना र पुनर्लगानीको व्यवस्था प्राथमिकताका साथ हुनुपर्ने भन्दै संघले गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको हो । यसका लागि संघको टोली शुक्रबार नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय पुगी निर्देशक आर्या जोशीलाई सो पत्र बुझाएको हो ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड १९, रुस–युक्रेन युद्ध, पोखरा आउने अस्तव्यस्त राजमार्ग र यती एयर जहाज दुर्घटना असरले पोखराको पर्यटन अहिले निकै शिथिल बनेको बताए । जसका कारण पोखरामा पर्यटक आगमन नगन्य रहेको भन्दै सुवेदीले बैंक तथा वित्तीय संस्थामा तिर्नु बुझाउनु पर्ने कर्जाको साँवा तथा व्याज तत्कालका लागि बुझाउन असमर्थ रहेको अवगत गराए । हाल भएका कर्जालाई कम्तीमा ३ वर्ष थप गरी पुनर्तालिकीकरण गरी पुँजीकरण गरिएको ब्याज अनुपातितरूपमा पुनर्तालिकीरण गरिएको कर्जाको व्याज र साँवा तिर्ने समयसीमा असोज मसान्तसम्म तोकिएको हुँदा आर्थिक भार थेग्न नसकी एकै पटक तिर्न नसकिने हुँदा लामो अवधिको लागि किस्ताबन्दीमा तिर्ने, बुझाउने व्यवस्था हुनुपर्ने माग संघको छ । बैंैंक तथा वित्तीय संस्थाले कुनै प्रकारको जरिवाना शुल्क लिन नपाउने तथा व्यवसायीलाई कर्जा भुक्तानी गर्न बाध्यकारी बनाउन नपाउने तथा व्यवसायीको धितो लिलामी गर्ने जस्ता कार्य हाललाई बाध्यकारी नगर्न समेत संघले ध्यानाकर्षण गराइएको छ ।

राष्ट्र बैंकको निर्देशिका बमोजिमको आर्थिक संकटको समयमा नगद प्रवाहको समस्या भएको कारणले बैंकलाई तिर्न नसकिएको व्याजलाई २ वर्षमा बाँडेर बेलुनिङ विधिबाट भुक्तानी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै संघले यस्तो व्यवस्था गर्दा हालसम्म नियमितरुपमा साँवा व्याज भुक्तानी गरिरहेका ऋणीहरुलाई बैंकले व्याजमा विशेष छुटको व्यवस्था गर्न आग्रह गरिएको छ ।

संघले बैंकहरुले पर्यटन क्षेत्रमा भएको लगानीको व्याजदर एकल अंकमा हुने व्यवस्था गरिनुपर्ने, व्याजमा आधारदर मात्र कायम गरिनुपर्ने, कोभिड र त्यस पछिको बिगँ्रदो आर्थिक अवस्थालाई मध्यनजर गरी पर्यटन क्षेत्रको अडिट प्रतिवेदनमा वासलातमा कुल सञ्चालन मुनाफा लगातार ऋणात्मक भई बैंकले ऋण प्रवाहमा अवरोध गर्ने गरेको व्यवस्थालाई हटाइनु पर्ने र विद्युत उत्पादनको लगानीमा रहेको व्यवस्था पर्यटन क्षेत्रमा समेत लागु गरिनु पर्ने माग गरेको छ ।

हाल आय आम्दानी नभएको कारणले नगद प्रवाहमा देखिएको समस्या सम्बोधन गर्न बैंकहरुले सम्पत्तिको वास्तविक मूल्याङ्कन गरी ८० प्रतिशत ऋण प्रवाह गरिनु पर्ने, हाल आर्थिक संकटबाट सबैभन्दा धेरै पर्यटन व्यवसाय आक्रान्त भएको हुँदा विशेष व्यवस्था गरी थप सहुलियत ऋण प्रदान गरिनु पर्ने माग पनि संघको छ ।
होटल तथा पर्यटन क्षेत्रलाई पनि कृषी क्षेत्रसरह सहुलियत कर्जा उपलब्ध गराई होटल क्षेत्रको मुल्य अभिवृद्धि कर कम गरिनु पर्ने, होटल तथा पर्यटन उद्योगको वित्तीय अवस्था हालसम्म सहज भइनसकेको हुनाले २०८१ असारसम्म हुन आउने व्याज छुट्टै हिसाब राखी हर्जना र पेनाल व्याज नलाग्ने व्यवस्था गरिनुपर्ने र होटलका लागि आवश्यक पर्ने थप कर्जा न्यून व्याजदरमा प्रवाह गरिनुपर्ने तथा कर्जा प्रक्रिया शुल्क सहुलियतपूर्ण गरिनुपर्ने विषय पनि उठाइएको छ ।

होटलमार्फत विदेशी एजेन्टलाई डलरमा कमिसन भुक्तानी गर्दा भुक्तानीको सिमा बढाइनुपर्ने साथै प्रक्रिया झन्झटिलो रहेको हुंदा होटलहरुले तोकेको व्यक्तिको नाममा डलरको प्रिपेड कार्ड उपलब्ध गराई सहजीकरण गर्न पनि संघले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय पर्यटकहरुद्वारा अधिकांश भुक्तानी एवं कारोबार क्रेडिट कार्ड मार्फत हुने भएकाले क्रेडिट कार्डको प्रयोगमा बैंकहरुले लिँदै आएको ३ प्रतिशत सेवा शुल्क धेरै महँगो भएकोर्ले घटाई बढीमा १ प्रतिशत कायम गरिनुपर्ने सुझाव दिइएको छ ।

पत्र बुझ्दै निर्देशक जोशीले व्यवसायीका मागहरुप्रति आफू सकारात्मक रहेको बताइन् । हानका केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले अहिले होटल क्षेत्रको अकुपेन्सी ८० प्रतिशत हुनुपर्नेमा २० देखि ३० प्रतिशत पनि नभएको यथार्थ सुनाए । अग्रज पर्यटन व्यवसायी रामचन्द्रबहादुर भट्टराईले कोभिड र रसिया–युक्रेन युद्धको असर नेपाली पर्यटनमा प्रत्यक्ष परेको भन्दै लेकसाइडमा पर्यटक नहुँदा अहिले डेडसाइड जस्तो बन्न पुगेको गुनासो गरे । संघका महासचिव राजेन्द्र ढकालले पछिल्लो इजरायल प्यालेस्टाइन युद्धको असर समेत पर्यटन क्षेत्रमा देखिन थालेको गुनासो गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width