एसओएस गण्डकीमा प्रतिभा प्रदर्शनी

आदर्श समाज सम्वाददाता
असाेज २६, २०८०
SOs ma tailent sho

पोखरा । एसओएस हरमन माइनर गण्डकीमा प्रतिभा प्रदर्शनी भएको छ । विद्यालयको प्रांगणमा सम्पन्न उक्त कार्यक्रम दसैं, दीपावली, नेपाल संवत् र छठपर्वको पूर्वसन्ध्यामा आयोजना गरिएको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक लक्ष्मण देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले गरेका थिए ।

विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले नेपालीहरूका महान् पर्वहरूको पूर्वसन्ध्यामा विद्यालयले हरेक वर्ष प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गर्दै आइरहेको र सोही कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको विद्यालयका सहप्राचार्य प्रभास पौडेलले बताए । विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनलाई तहगत रूपमा विभाजन गरिएको थियो । आधारभूत तहको एक र माध्यमिक तहका दुई गरी जम्मा तीन चरणमा विभाजित उक्त कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे । विद्यालयले यसपूर्व ५९ औं बालदिवसका उपलक्ष्यमा गत भाद्र २९ गते कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको प्रतिभा प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

विद्यार्थीहरूद्वारा प्रस्तुत प्रतियोगितात्मक सांगीतिक प्रस्तुतिको मूल्यांकन संगीतज्ञ सञ्जीव पाल, वरिष्ठ कोरियोग्राफर मीन गुरुङ तथा हिमाली सांस्कृतिक परिवार पोखराकी सदस्य सजिना गुरुङले गरेका थिए । कार्यक्रमका विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि लक्ष्मण देवकोटा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक लक्ष्मण देवकोटाकाले निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका कारण एसओएस सम्पूर्ण बालबालिकाको आकर्षणको केन्द्र बन्न सफल भएको बताए । एसओएसका विद्यार्थीहरूको प्रतिभाबाट आफू द्रवीभूत भएको बताउँदै प्रमुख अतिथि देवकोटाले यस्तै अवसर र मञ्चले विद्यार्थीहरूको जीवनमा नवीन दिशाबोध गर्ने दाबी गरे ।

विद्यालयीय शिक्षा पूरा गरेपछि विद्यार्थीहरू विदेश पलायन हुने क्रममा बढोत्तरी आइरहेको विषयप्रति चिन्ता व्यक्त गर्दै देवकोटाले सबै पक्ष मिलेर यो समस्या समाधान गर्न ढिलाइ गर्न नहुने धारणा राखे । आफ्ना विभिन्न प्रतिभाका माध्यमबाट कार्यक्रमको गरिमा अभिवृद्धि गर्ने सम्पूर्ण विद्यार्थीप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले नेपालीहरूका घरआँगानमा भित्रिनै लागेका चाडपर्वहरूका उपलक्ष्यमा समस्त शिक्षक, अभिभावक र विद्यार्थीप्रति शुभकामनासमेत व्यक्त गरे ।

समारोहमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति थियो । एसओएस स्कुलको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू रिश्मा पाण्डे, प्रश्ना पौडेल, विशेष पौडेल, गोकुल श्रेष्ठ, आयुष सुवेदी र निश्चल सुवेदीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width