जादुयी स्वरकी धनी सिम्रन

विजय नेपाल
भाद्र ३०, २०८०
simran

पोखरा । संगीतको शक्ति कतिसम्म हुन्छ भन्ने कुरा यसमा रम्नेहरु पूरा जानकार छन् । सुमधुर संगीतमा डुबुल्की मार्दा मानिसले दुख बिर्सन्छ । भोक बिर्सन्छ । पीडा र शोकमा मलम लागेको अनुभूत गर्छ । कोही त यसैमा आल्हादित हुन्छन् र जीवनको एक पाटो बनाउँछन् ।

संगीतको शक्ति यतिमात्र छैन । यसले मानिसको दैनन्दिन क्रियाकलापमा कसरी एक्कासि कायापलट ल्याउँछ भन्ने उदाहरण बागलुङकी बालगायिका सिम्रन परियार हेरे पुग्छ ।

उनको चर्चा सुरु भएको एक महिनामात्र भयो । सिम्रनले एक महिनामै ३० बढी गीत रेकर्ड गरिसकेकी छन् । साउन अन्तिम साता गायक प्रमोद खरेलको स्वरको ‘उसलाई पाउन–२’ को फिमेल भर्सन उनको पहिलो रेकर्ड गीत हो । आखिर यो गीत युट््वको संगीतर्फ टे«न्डिङ १ उक्लिन सफल भयो । र, १८ वर्षीया यी गायिकाको सांगीतिक बजार यसरी तात्यो कि गीत रेकर्ड भ्याइनभ्याइ भयो । सामाजिक सन्जालमा उनको खोजी व्यापक भयो ।

बागलुङ नगरपालिका ६, तीनतलेकी सिम्रन अहिले भने गीत रेकर्ड गर्न बागलुङ–काठमाडौं गरिरहेकी छन् । सिम्रनलाई पनि यति चाँडै चम्किएला भन्ने लागेकै थिएन रे । आफूसँगै आमालाई पनि जहाज चढाएकी छन् । र, आफ्नो सांगीतिक भविष्यको उज्यालो रेखा उँधिरहेकी छन् । उनको तुलना अहिलेका स्थापित चर्चित गायिका रचना रिमाल, समीक्षा अधिकारी, एलिना चौहानसँग हुन थालेको छ ।

बागलुङकी १८ वर्षीया गायिका सिम्रनले एक महिनामै ३० भन्दा बढी गीत रेकर्ड गरिसकेकी छन्

‘पहिले स्कुल जाँदा–आउँदा खासै कसैलाई मतलब हुन्नथ्यो । अहिले देख्नबित्तकै सबैजनाले ‘सिम्रन’ भनी बोलाउनुहुन्छ । टिकटक बनाम् भन्नुहुन्छ,’ सिम्रन भन्छिन्, ‘एक दिन संगीतमा लाग्छु भन्ने त थियो तर अहिले नै यस्तो चेञ्ज होला भन्ने सोेचेकी थिइनँ ।’ सिम्रन यति चाँडै चम्किनुको श्रेय मेचीकाली खबरका सञ्चालक चर्चित सञ्चारकर्मी भोजराज थापा, गीतकार÷संगीतकार सुनिल बिसीलाई जान्छ । उनी पनि यो योगदान भुल्न सक्दिनन् ।

गीतकार तथा संगीतकार सुनिल बिसीको युट्युव च्यानलबाट तीन साताअघि सार्वजनिक उनले गाएको ‘उसलाई पाउन–२’ गीतले युट्युबमा ४७ लाख भ्यूज पाइसकेको छ । सिम्रनले गाएका अन्य गीतहरुमध्ये अर्जुन सापकोटाको लोकगीत ‘पानी परेको’ ले ३६ लाख भ्युज पाएको छ । उनी यो गीतको भिडियोमा मोडल छन् । साथै ऋषि खड्का युट्युब च्यानलबाट सार्वजनिक ‘ए साइला परेलीभित्र’ बोलको लोक–पप फ्युजनको गीत पनि चर्चामा छ । उनी यो गीतको भिडियोमा गायक ऋषिसहित मोडल आम्दा आलेमगरसँग सुन्दर नृत्यमा देखिन्छिन् । शुक्रबारसम्म यो गीत २१ लाखले हेरिसकेका छन् । यस्तै, सन्तोष सुनारको गत वर्ष सार्वजनिक ‘छमक छमक’ गीत अहिले ‘सिम्रन भर्सन’ मा आउने भएको छ । सन्तोषको रचना, संगीत र स्वरको उक्त गीत युट््युबमा सर्वाधिक रुचाइएको गीतमध्ये पर्छ । यो गीत ३० मिलियनले हेरिसकेका छन् । सन्तोषले अहिले केही शब्द फेरेर सिम्रनको स्वरमा रेकर्ड गराएका हुन् । यो गीतबाट सिम्रन अझ उत्साहित छन् । सिम्रनले आफू कक्षा ४÷५ कक्षादेखि नै गीत गुनगुनाउने गरेको बताइन् । भन्छिन्, ‘बाबाले पनि गाइरहने । मलाई पनि इन्टे«स्ट लाग्यो । खाली हुँदा गाइरन थालें ।’ अहिले त उनी व्यावसायिक गायिका नै बन्ने तरखरमा छन् । सुरुमा काठमाडौं ६ दिने बसाइँमा १४ गीत रेकर्ड गरेर फर्केकी उनले दोस्रो पल्ट फेरि ९ गीत रेकर्ड गरेर गत साता फर्केकी थिइन् । समय व्यवस्थापनमै कठिन छ ।

गत १९ साउनमा भोजराज थापा सिम्रनको अन्तर्वार्ताका लागि बागलुङ पुगेका थिए । स्कुल डे«समै सिम्रनले गाएको गीतको क्लीप भाइरल बन्यो । पछि बिसीले ‘उसलाई पाउन–२’ गीतको फिमेल भर्सन गाउन सिम्रनलाई काठमाडौं बोलाएका हुन् । भोजराजले सिम्रनलाई काठमाडौं लगेर रेकर्डको चाँजोपाँजो मिलाएका थिए ।

बागलुङ सदरमुकामस्थित विद्या मन्दिर मावि कक्षा १२ मा विज्ञान पढिरहेकी सिम्रन अब काठमाडौंमै गएर संगीत सिकेर अघि बढ्ने योजना रहेको बताउँछिन् । उनी पढाइमा पनि तीक्ष्ण छिन् । युनिभर्सल सवलाइम एकेडेमीबाट २०७८ को एसइईमा ‘ए’ प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् ।

आमा मनीषा परियार पनि छोरीको गायिका बन्ने लक्ष्य पूरा भएकोमा खुसी छन् । सिम्रनका ७ वर्षीय भाइ सौगात पनि छन् । बाबु सोम भने ३ महिनाअघि रोजगारीका लागि रोमानिया उडेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै