भारतीय राजदूतावासको आयोजनामा पोखरामा वृहत योग शिविर

आदर्श समाज सम्वाददाता
असार ६, २०८०
yoga

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार बिहान पोखरा रंगशालामा आयोजना गरिएको योग शिविरमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर: कृष्ण दवााडी/रासस

पोखरा । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले पोखरामा मंगलबार वृहत योग शिविर गरेको छ । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रंगशालामा शिविर भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय दूतावासको यो कार्यक्रमले दुई मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने विश्वास व्यक्त गरे । पोखरा र गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएको भन्दै उनले यहाँ धार्मिक पर्यटक समेत उसैगरी आकर्षण गर्न सकिने भनाइ राखे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भारतका विभिन्न सहरबाट पोखरा सिधाइ हवाई सम्पर्क कायम गरी पर्यटकीय चहलपहल बढाउन सकिने भनाइ राखे ।

अन्नपूर्ण हिमशृंखललाको काखमा रहेको पोखरालाई अन्तर्राष्ट्रि योग केन्द्रका रुपमा समेत विकास गर्न सकिने मन्त्री किरातीले बताए ।

मन्त्री किरातीले भारतीय उपमहाद्वीपबाट प्रारम्भ भएको तथा सिन्धु घाँटी सभ्यतासँग जोडिएको योग आज संसारभर नै लोकप्रिय हुँदै गइरहेको बताए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखराको पर्यटन प्रवद्र्धनमा भारत सरकार प्रयासरत रहेको भन्दै पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थाल्नुका अतिरिक्त सडकमार्ग समेत सहज बनाउनुपर्ने भनाइ राखे ।

पछिल्ला केही वर्षमा योगका अनुयायीहरुको संख्या विश्वभर नै बढेर गएको भन्दै उनले योगको प्राचीन दर्शन र अभ्यासको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताए ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘वसुधैव कुटुम्बकमका लागि योग’ अर्थात् ‘एक विश्व एक परिवार सबैको कल्याणका लागि योग’ रहेको छ । यो नाराले योगको विश्वव्यापी आकर्षण र मर्मलाई प्रतिबिम्बित गर्ने राजदूत श्रीवास्तवको भनाइ थियो ।

यो कार्यक्रम जारी ‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको उत्सव कार्यक्रमहरु मध्येको एक हो ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन–अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर संक्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width