हर्षोल्लासका साथ मनाइयो ट्होटें

धनबहादुर गुरुङ
चैत्र २८, २०७९
Tohte Photo

पोखरा । कोही बुख्याचा भेषमा थिए त कोही राक्षस । विभिन्न जनावरदेखि, भूतप्रेतका चित्रजस्ता मुखुण्डो, कालोमोसो, विभिन्न रंगरोगन लगाएर रंगीविरंगी झाँकी । पोखरा रंगशालामा मंगलबार बिहान ११ बजे यही भेष बढी भेटिन्थ्यो ।

गुरुङ पहिरनमा सजिएका महिला तथा पुरुषको चहलपहल उस्तै थियो । सबैले आ–आफ्नै समाजबाट प्रतिनिधित्व गरेका थिए ।

विभिन्न गुरुङ समाजले आफूलाई प्रतिनिधित्व गराउने संस्कृति र संस्कारसँग झल्किने झाँकीसहित हिमाली जनजीवन, गुरुङको जनजीवनको झल्को त्यहाँ देखिन्थ्यो । उनीहरुले चर्खादेखि खर्कसम्मका झल्को दिंदै थिए । जातीय भेषभूषामा, बाजागाजा र झाँकीसहित ट्होटें पर्व मनाउन उनीहरु यसरी आइपुगेका हुन् । आफ्नो मौलिक पर्व ‘ट्होटें’ मनाउन उनीहरुको ठूलो जमघटले माहोल नै फरक देखिन्थ्यो ।

गुरुङ समुदायले हरेक वर्ष साउन र चैत अन्तिम मंगलबार यो पर्व मनाउँछन्

केही समयमा त्यो समूह रंगशालाबाट छुट्यो । विभिन्न समाजबाट ट्होटें मनाउन सजिएका उनीहरु पृथ्वीचोक, नयाँबजारहुँदै तमु धिं प्रांगण पुगेपछि औपचारिक कार्यक्रममा परिणत भयो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ट्होटें पर्वले सकारात्मक ऊर्जा पैदा हुने जनविश्वास रहेको बताए । गुरुङ जातिको, भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले पोखरा समृद्ध बनाउन ठूलो योगदान पुगेको उनको भनाइ थियो । उनले ट्होटेंसहित ल्होसारमा महानगरले साथ दिने पनि बताए । ‘विगतमा पनि तमु धिंसँग केही सहकार्य र सहयोग गरेका थियौं,’ महानगर प्रमुख आचार्यले भने, ‘आगामी दिनमा रातो किताबमा नै सहयोग गर्ने विषय उल्लेख गर्ने प्रतिवद्धता जाहेर गर्छु ।’

हरेक वर्षको साउन र चैत अन्तिम मंगलबार मनाइने यो पर्व यो वर्ष पनि विविध कार्यक्रम गरी मनाइएको तमु धिं नेपालका निवर्तमान अध्यक्ष कर्मा गुरुङ जानकारी दिइन् ।
विगतमा आफ्नो ट्हो (राज्य) सुरक्षाका लागि मनाउने पर्व परिमार्जित स्वरुपमा पोखरामा मनाइएको महासचिव जूनाकुमारी गुरुङले बताइन् । ‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातिको आज महान चाड हो,’ उनले भनिन्, ‘वर्षको साउन र चैतको अन्तिम मंगलबार गरी २ पटक ट्होटें मनाउँदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छांै । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’

पहिले गाउँबस्ती, राज्यसुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले गुरुङहरुको पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङले बताए । उनका अनुसार तमु धिंले २०५२ सालदेखि सामूहिकरुमा ट्होटें मनाउँदै आएको छ ।

तमु (गुरुङ) भाषामा ‘ट्हो’ को अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने ‘टें’ को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुने कार्यक्रम संयोजक कृष्णकुमार गुरुङले बताए । उनका अनुसार यो पर्व वर्षमा उभौली र उधौली गरी २ पटक मनाइने प्रचलन छ । हरेक वर्षको साउन र चैतको अन्तिम मंगलबार यो पर्व मनाइन्छ । कार्यक्रममा पोखरा १७ का टेक गुरुङ, नेवाः खल कास्की अध्यक्ष अशोक पालिखे लगायतले शुभकामना दिएका थिए ।

चिउली पाचे प्रथम
ट्होटें अवसरमा आयोजित झाँकी ¥याली प्रतियोगितामा चिउली पाचे तमु समाज प्रथम भएको छ । यस्तै, डडुवा दुर्छा तमु समाज दोस्रो भयो । चिउली पाचेले ३० हजार साथमा ट्रफी प्राप्त गरेको तमु धिं वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी दिए । यस्तै, द्वितीय भएको डडुवा दुर्छाले २० हजारसहित ट्रफी हात पा¥यो । झाँकी ¥यालीमा फूलबारी तमु समाज तेस्रो हुँदै १५ हजार र ट्रफी प्राप्त ग¥यो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै