बुढ्यौलीमा बल्ल नागरिकता

धनबहादुर गुरुङ
भाद्र ८, २०७९
Nagarikata Photo

पोखरा । कास्कीको माछापुच्छ्रे ८ का डमरबहादुर गुरुङ र दानबहादुर गुरुङ पोखरा बिरलै झर्छन् । उमेरले डमर ७८ लागे भने दान ६८ वर्ष पुगे । बजारिया झिलमिलदेखि पर गाउँले जीवनमै मख्ख उनीहरुको लागि पोखरा बजार परकै कुरो थियो । तर साउन अन्तिम सातादेखि दुवैको पोखरा आउजाउ बाक्लियो । मंगलबार उनीहरु जिल्ला प्रशासन कार्यालयको प्रांगणमा भेटिए । त्यो पनि हषिलो मुद्रामा ।

शिरमा ढाकाटोपी । एक हातमा लौरो । अर्को हातमा नागरिकता प्रमाणपत्र देखाउँदै थिए । र, भन्दै थिए, ‘हाम्रा पनि आफ्ना मान्छे रैछन् ।’

उमेरले सात दशक पुग्दासम्म उनीहरु आफ्नै मुलुकमा पनि ‘अनागरिक’ थिए । एउटै वडा भए पनि डमर भुने गाउँमा बस्छन् भने दान घलेलमा । डमर अहिलेसम्म अविवाहित हुन् भने दानले विवाह गरे पनि श्रीमतीसँगको सम्बन्ध राम्रो भएन । भुने गाउँका डमरको दैनिकी दाउरा घाँस र गोठालोमै कटेको थियो । यस्तै डमर पनि उसैगरी जिए ।

गरिब जीवन बाँचेका उनीहरुलाई नागरिकता दिलाउन यसअघि कसैले पहल गरेनन् । एक्लो जीवन बाँचेका गुरुङद्वयलाई छोराछोरीको नागरिकता पनि बनाउनुपर्ने भएन । त्यसैकारण नागरिकतामा ध्यान गएन । सरकारको नजर नै न उनीहरुतर्फ गयो । घरघरमा सिंहदरबार नारा बोकेको संघीयतापछिको पहिलो कार्यकालको स्थानीय सरकारले पनि उनीहरुको खोजी गरेनन ।

एक्लो जीवन बाँचेका गुरुङद्वयलाई छोराछोरीको नागरिकता पनि बनाउनुपर्ने भएन, त्यसैकारण नागरिकतामा ध्यान गएन

‘गाउँको सिंहदरबार’ माछापुच्छ्रे ८ वडा कार्यालयले केही समयअघि नागरिकताबाट वञ्चितलाई वडामा सम्पर्क गर्न सूचना जारी गर्‍यो । यो कुरा गाउँकै समाजसेवी शिवकुमारी गुरुङले उनीहरुले नागरिकता नपाएको खबर वडा कार्यालय पु¥याइन् । आफ्नै वडामा जीवनका उत्तरार्धसम्म कसैले नागरिकता नपाएको खबर पाउनासाथ वडाध्यक्ष रामबहादुर गुरुङ तुरुन्त जिल्ला प्रशासन कार्यालय, कास्की पुगे । सुरुमा आफू एक्लै पुगेका उनी पछिल्लो पटक पुग्दा भने डमर र दानलाई बोकेर गए । उनीहरु धेरैपछि पोखरा पुग्दा अचम्मसमेत परेको वडाध्यक्ष गुरुङ सुनाउँछन् ।

डमर र दानलाई कार्यालय उपस्थित गराएपछि नागरिकताको प्रक्रियाबारे जानकारी गराइयो । सोही अनुसार वडाध्यक्ष गुरुङले नाता प्रमाणित, बाबुआमाको मृत्यु दर्ता प्रमाणित, जन्म दर्ता, प्रहरी मुचुल्का लगायत कागजात तयार गरी प्रशासनमा लगेपछि वंशज आधारमा नागरिकता हात लागेको हो ।

‘दुबै जनाले आज (मंगलबार) नागरिकता लिनुभएको छ,’ उनले भने, ‘अब दुवै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकारबाट प्राप्त हुने सेवासुविधा बुझ्ने बाटो खुलेको छ । वडा समिति पहलमा वहाँहरुले नेपाली नागरिकता लिनुभएको हो ।’

नागरिकता आधारमा सरकारले पैसा दिन्छ भन्ने जानकारी दिंदा दुवै जना भावुक भएको वडाध्यक्ष रामबहादुरले सुनाए । ‘सुरुमा नागरिकता के हो भन्ने थाहा नै थिएन । पोखरामा खासै नझरेका उनीहरुलाई नागरिकताको महत्व के थाहा हुन्थ्यो र,’ उनले भने, ‘नागरिकता हातमा थमाएपछि अब यो देखाएर अब सरकारले पैसा दिन्छ भन्दिएको दुवै जना भावुक बने ।’

पहिलो पटक नागरिकता प्राप्त गरेका उनीहरुलाई सामाजिक भत्ता लगायत सरकारबाट प्राप्त हुने विभिन्न सेवा दिन सहज हुने वडाध्यक्ष गुरुङले जानकारी दिए । वडावासीलाई गाउँगाउँमा सिंहदरबारको अनुभूति दिलाउन लागिपरेकोले उनीहरु जस्तै अरु नागरिकताबाट वञ्चितको खोजी गर्ने उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width