नियुक्ति बदरमा अन्तरिम आदेश यथावत्

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७९
court

पोखरा, १० जेठ । उच्च अदालत पोखराले गत जेठ ७ मा जिल्ला खेलकुद विकास समितिमाथिको कारबाही रोक्न गरेको अल्पकालीन अन्तरिम आदेश यथावत् जारी गरेको छ ।
न्यायाधीश श्रीधराकुमारी पुडासैनीको मंगलबारको एकल इजलासले प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अघिल्लो सरकारले नियुक्त गरेका खेलकुदसँग सम्बन्धित नियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको गत चैत २४ को मन्त्रिपरिषद् बैठकले नियुक्त बदर गरेको थियो । त्यसबेला गण्डकी प्रदेशका ११ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्षको नियुक्ति खारेज गरिएको थियो ।

सोविरुद्ध गोरखा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष रहेका कृष्णसिंह बस्नेत, नवलपुर अध्यक्ष सेतबहादुर पुन, म्याग्दी अध्यक्ष दिनेश खत्री, बागलुङ अध्यक्ष कुमार खड्का र कास्की जिल्ला खेलकुद विकास समिति अधयक्ष रहेका तोरणबहादुर बानियाँले बिहीबार उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । जसमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेशको युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय लगायतलाई विपक्षी बनाइएको थियो । निवेदकको तर्फबाट अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता विष्णुप्रसाद लम्साल र अधिवक्ता जूनाकुमारी गुरुङ र विपक्षीको तर्फबाट मुख्य न्यायाधिवक्ता समेत रहेका रोहितराज बास्तोलाले बहस गरेका थिए ।

यसैगरी, अनिल पाण्डेसमेत पक्ष रहेको सोही प्रकृतिको अर्को मुद्दामा पनि न्यायाधीश पुडासैनीको एकल इजलासले विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको छ ।
प्रदेशमा राजनीतिक समीकरण फेरिएसँगै गण्डकी सरकारले उनीहरुलाई स्पष्टीकरण सोध्दै बिनाकारण नियुक्ति बदर गरेपछि चौतर्फी आलोचना भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width