गठबन्धनले चिरियो कांग्रेस : पालुङटारमा उम्मेद्वारकै सामूहिक राजीनामा

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७९
congress

पाेखरा । गोरखाको पालुङटारमा आफ्नो पार्टीका मेयर उम्मेद्वार दीपक कँडेललाई जवरजस्ती उम्मेद्वारी फिर्ता लिन लगाएको भन्दै केन्द्रीय समिति विरुद्ध त्यहाँका सबै उम्मेद्वारले राजीनामा दिएका छन् । ५१ जना उम्मेद्वारले नगर समितिमा राजीनामा पत्र बुझाएका हुन् ।

त्यहाँ कांग्रेसले मेयर र उपमेयर सहित वडाध्यक्ष र सदस्यहरुमा उम्मेद्वारी दिएको थियो । १० वडा रहेको पालुङटारमा कांग्रेसकै ५२ उम्मेद्वार छन् । नगर समितिका सचिव कृष्ण गिरीले उनीहरुको पत्र पाएको र सोही अनुसार जिल्ला र केन्द्रमा पठाईसकेको जानकारी दिए । ‘राजीनामाको पत्र हस्ताक्षर सहित आएको छ । उहाँहरुले मेयर विना चुनाव लड्दिनँ भन्नुभएको छ,’ उनले भने, ‘त्यो पत्र सम्बन्धित ठाउँमा पठाएका छौं । रेस्पोन्स पाएको छैन ।’

उनले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबूराम भट्टराईको ढिपीको पछि लागेर कांग्रेसले आफ्नै कार्यकर्तालाई विछिप्त बनाएको गुनासो गरे । ‘अहिले पार्टी नै तितर वितर भएको छ । केन्द्रका नेताहरु कुरै नबुझी निर्णय गर्छन्, यहाँ कसरी कार्यान्वयन गराउने ?,’ उनले भने, ‘आफैलाई सिध्याउने गरी यसरी गठबन्धन गर्दा सकस परेको छ ।’ केन्द्रीय गठबन्धन अनुसार पालुङटारको मेयरमा जसपालाई सघाउने निर्णय थियो । तर कांग्रेसले आफ्ना उम्मेद्वार उठायो । केन्द्रीय सभापति शेरबहादुर देउवाले उम्मेद्वारी फिर्ताका लागि निर्वाचन कार्यालयमै पत्र पठाए । पत्र ढिलो भएका कारण कँडेलको नाम उम्मेद्वारको सूचीमा छ ।

केन्द्रले हस्तक्षेप गरेको भन्दै नेपाली काँग्रेसबाट उम्मेदवार बनेका १० वटै वडाका उम्मेदवारले सामूहिक राजिनामा दिएका हुन् । कँडेल भने अहिले काठमाडौं छन् । उनलाई शेरबहादुर देउवाले नै काठमाडौं बोलाएर उम्मेद्वारी फिर्ता लिने विज्ञप्ति लेख्न लगाएको बुझिएको छ । अहिले उनलाई आधिकारिक उम्मेद्वार जसपा हुने भएकोले सघाउन भन्दै विज्ञप्ती निकाल्न लगाईएको हो ।

तर कँडेलले आफ्नो उम्मेद्वारी फिर्ता नभएको बताएका छन् । ‘मैले उम्मेद्वारी छोडेको छैन । त्यहाँको उम्मेद्वार मै हुँ,’ उनले भने, ‘बाबुरामले गलत प्रचार गरे । त्यसको हिसाव चुनावमा हुनछ ।’ उनले उम्मेद्वारी फिर्ता लिएको भन्दै भट्टराईले फेसबुक पेजमा पत्र शेयर गरेका थिए । त्यसपछि पालिकामा उम्मेद्वार बनेका सबैले राजीनामा दिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width