पोखरा अन्तर्राष्ट्रिय आर्ट फेस्टिभल सुरु

Suraj Hazare Dahal
चैत्र २, २०७८
art~main

पोखरा । आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीद्वारा आइडब्लुएस भियतनामको सहकार्यमा पोखरामा मंगलबारदेखि ‘पहिलो पोखरा अन्तर्राष्ट्रिय आर्ट फेस्टिभल–२०२२’ सुरु भएको छ । ३ दिनसम्म चल्ने फेस्टिभलमा २८ देश सहभागी छन् । जसमा ६० वटा चित्रकला प्रदर्शनीमा राखिएका छन् । पोखरामा छानिएका ३० वटा चित्रकला पछि भियतनाममा प्रदर्शन समेत हुने जनाइएको छ ।
फेस्टिभलमा उत्कृष्ट १० मा पर्न सफल रहेका चित्र, कलाकार र देशको नाम घोषणा गरिएको थियो । विभिन्न देशबाट प्राप्त चित्रकलामध्ये चीनका सन जियन ग्यांगको चित्र पहिलो भयोे । यस्तै, बुलगेरियाको मगडलेना केलिभाको चित्रकला दोस्रो र रुसका निकोले सोलोडोभको चित्रकला तेस्रो भएको थियो । नेपालबाट भने राजदुर जोशीको चित्रकला चौथो भएको थियो । यी बाहेक टर्की, युक्रेन र भारतका कलाकारको कलाकृतिले विभिन्न स्थान प्राप्त गरेका थिए । विभिन्न ४ देशका कलाकार निर्णायक थिए । टर्किस क्यानेडाली कलाकार तथा आइडब्लुएस ग्लोबका प्रमुख एटानुर डोगन, मेक्सिकोकी कलाकार तेरी लेजोरी, हङकङकी कलाकार जेजे ली र चेक रिपब्लिककी कलाकार एलेक्जेण्ड्राले उत्कृष्ट १० चित्रकला छानेका हुन् ।

फेस्टिभलमा उत्कृष्ट १० मा पर्न सफल चित्र, कलाकार र देशको नाम घोषणा गरिएको थियो

पहिलो दिनको कार्यक्रममा पर्फमेन्स आर्ट समेत देखाइएको थियो । कलाकार ज्योति गुरुङ, तायमा राई, शारदा नेपाली, सुहानी आलेमगर र आयशा तुलाचनले पहेंलो रङको थिममा प्रस्तुति दिएका थिए ।
फेस्टिभलमा बिक्रीका लागि चित्रकलाका पनि राखिएका छन् । बिक्री गरिएको कृतिबाट प्राप्त ७० प्रतिशत रकम सम्बन्धित कलाकारलाई र बाँकी रकम आइडुब्लुएस आर्ट कोषलाई जानेछ । सो कोष प्राकृतिक प्रकोप, युद्धजस्ता आपतकालीन घटनाबाट पीडित देशको लागि संचालनमा ल्याइएको हो ।
चित्रकला बाहेक अन्य कलाकृति पनि प्रदर्शनीमा छन् । फोहोरजन्य सामाग्रीबाट सबु लामाले बनाएको विद्यालयको झोला, जुत्ता, ह्यागंर, डस्टर र काष्ठकला छन् । यस्तै कलाकार सोमबहादुर बिकले बाँसबाट बनाएको घर तथा इयररिंङ लगायत छन् ।
कार्यक्रम उद्घाटन गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्चीले गरेका थिए । यस्तै, कलाकार दुर्गा बराल, संस्कृतिकर्मी तस्र्थ श्रेष्ठ र प्राज्ञ बुद्धि गुरुङले संयुक्तरुपमा रिबन काटेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै