पोखरा । नेपालको प्रमुख पर्यटकीय पोखरा घुम्न यतिबेला बहाना छ । कोही लोक सेवा दिन आएका छन् त कांग्रेसको प्रदेशस्तरको चुनावमा भाग लिन पनि मतदाता पोखरामै छन् । साथै स्कुल कलेजको भ्रमण टोली रिजर्भ गाडीभित्रै गीत गाउँदै हुइँकिएको पाइन्छ । आखिर जे जस्तो बहाना भए पनि पोखरा घुम्नेहरु बढेका छन् । यसको स्पष्ट संकेत फेवाताल किनार वाराही चोकमा डुंगा चढ्नेहरुको ताँतीले दिन्छ ।
फेवा डुंगा व्यवसायी समिति काउन्टरका इन्चार्ज सन्देश गिरी पनि आन्तरिक पर्यटकको चहलपहलले खुसी छन् । २ वर्षजसो कोरोना प्रभावले साङ्लोले बाँधेर राखिएका डुंगा अहिले धमाधम पानीमा सयर गर्न भ्याइनभ्याइ छ । उनी भन्छन्, ‘अहिले पोखरा घुम्नेहरुको संख्या बढेको हुँदा हामीलाई पनि केही आशा पलाएको छ । पोखरा घुम्न आउनुहोस्, हामीहरु सुरक्षित साथ यहालाई डुंगा सयर गराउन आतुर छौं ।’ गिरीका अनुसार हाल वाराही घाटबाट मात्रै २ सय जति डुंगा चल्ने गरेका छन् । यहाँमात्रै कुल ३ सय ५६ डुंगा छन् । तालका विभिन्न ८ घाटबाटै डुंगा चल्छन्।
बर्दिया गुलेरियाबाट पहिलो पटक पोखरा घुम्न आएकी लक्ष्मी खत्रीले पोखरा आफूले सोचेभन्दा राम्रो लागेको प्रतिक्रिया दिइन् । उनले साथीसँग डुंगा सयर पनि गर्दै टिकटक बनाउन भ्याइन् । डुंगा चढेर तालमा कावा खानु, वाराही मन्दिर दर्शन गर्नुका अलावा यहाँका पर्यटकीय गन्तव्यमा लामो समयपछि पर्यटकको बाक्लो उपस्थिति बढेको छ ।
पश्चिमाञ्चल होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले दसैं तिहारपछि केही चलायमान हुन थालेको यहाँको पर्यटन क्षेत्र बीचमा केही कमी भए पनि अहिले फेरि बढेको बताए । उनले लोक सेवा आयोग गण्डकी प्रदेशले खुलाएको विभिन्न तहको परीक्षा केन्द्र पोखरा भएकोले दैनिक ४ देखि ५ हजार हाराहारीमा परीक्षार्थी आएका छन् । साथै कांग्रेसको प्रदेश अधिवेशन तथा विविध गतिविधिले आन्तरिक पर्यटक बढेको उनको भनाइ छ । पोखरा आउनुुको मूल उद्देश्य अर्कै रहे पनि यहाँको सुन्दरतामा रम्नु अर्को बहाना बनेको छ ।
सुवेदीका अनुसार पोखराका साना होटलमा पर्यटक भरिभराउ छन् । साना होटलको तुलनामा ठूला होटलमा सोचेजस्तो पाहुना भने छैनन् । यतिखेर पोखराका होटलमा हाल २५ प्रतिशतजसो अकुपेन्सी छ । दसैंतिहार बिदाको बेलामा अकुपेन्सी ५० प्रतिशतसम्म पुगेको थियो । यो भनेको २ वर्षयताकै उच्च हो । पोखरामा सानाठूला गरी पर्यटकीयस्तरका ५ सय जति होटल छन्।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना प्रभावले २०७६ चैतदेखि शून्यमा झरेको यहाँको पर्यटन क्षेत्र पछिल्लो समय चलायमान हुन लाग्दा भने तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ को त्रास पनि उत्तिकै छ । भारतीय तथा तेस्रो मुलुकका पर्यटकबाट होटल बुकिङ बरोबर भइरहँदा अब घट्ने हो कि भन्ने चिन्तामा पर्यटन व्यवसायी छन् । ‘२/३ दिन भयो, मानिसहरु फेरि लकडाउन हुने हो कि भन्ने चिन्तामा छन्,’ सुवेदीले भने, ‘आशा गरौं, त्यस्तो नहोस् । पर्यटन क्षेत्र पुरानै लयमा फर्किनेछ ।’
पोखराको पर्यटन क्षेत्र चलायमान हुन लाग्दा कोरोनाको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’ को त्रासमा व्यवसायी छन्
पोखरा घुम्नेमात्र हैनन्, पदयात्रामा जानेहरु पनि बढ्न थालेका छन् । पोखराबाट दिनमा ४० देखि ५० जना तेस्रो मुलुकका पर्यटक र डेढ सय जति भारतीय पर्यटक पदयात्रामा जाने गरेको पर्यटन व्यवसायी बताउँछन् । यसैबीच, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपिबहादुर भट्टराईले पछिल्लो समय आन्तरिक पर्यटन बढिरहेको अवस्थामा फेरि व्यवसायी त्रासमा पर्न लागेको बताए । देशको सीमा क्षेत्रमा जे हुन्छ, त्यसको सिधैं असर यहाँ पर्ने भएकोले विगतको पाठ सिकेर पनि पूर्व तयारी रहनुपर्ने उनी सुझाव दिन्छन् ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले ‘ओमिक्रोन’ भनिए पनि पोखरामा आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । हाल यहाँमा विभिन्न अस्पतालमा गरी ८/१० जना मात्र कोरोना संक्रमित देखा परेकोले थप के गर्ने भन्ने विकल्प नसोचिसकेको उनले बताए।
पर्यटक आगमनको आकडा हेर्दा सन् २०२१ सुरु भएपछि ११ महिना अवधिमा १ लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा हवाई मार्ग भएर २६ हजार १ सय ३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४ सय २१, बंगलादेशबाट १ हजार ३ सय ८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४ सय ८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबर महिनामा २३ हजार २ सय ८४ पर्यटक आएका थिए । तुलनात्मक रुपमा पर्यटक आगमनमा झिनो रुपमा सुधार देखिए पनि बाह्य पर्यटकको संख्या बढ्न सकेको छैन ।
बाह्य पर्यटक आगमनको पछिल्लो २ महिनाको तथ्यांक हेर्दा झिनो रुपमा सुधार भएको छ । यद्यपि, पर्यटकको संख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महिनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ । पर्यटक आगमन बढेको भए पनि संख्यात्मक रुपमा कम पर्यटक भित्रिएको बोर्डका निर्देशक मणि लामिछानेले बताए । उनले भने, ‘पर्यटनले लय समातेको देखिन्छ तर संख्यात्मक रुपमा कम नै हो । यस अवधिमा २० देखि ३० प्रतिशत पर्यटक बढ्ने अनुमान गरिएको थियो ।’ तर कोरोनाको तेस्रो भेरियन्टले भने कस्तो मोड लेला यकिन भन्न सकिन्न । विदेशी पर्यटकका लागि अन अराइभल भिसा व्यवस्था रहँदा छिमेकी मुलुकमा तेस्रो भेरियन्टले भने फेरि समस्यामा पर्न सक्ने देखिन्छ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१