विद्युत खपत बढाऊ: ऊर्जामन्त्री भुसाल

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७८
Urja Mantri Vushal

लमजुङ, १५ मंसिर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युतीय ऊर्जाको खपत बढाउन अपिल गरेकी छन् । नेकपा (माओवादी केन्द्र) लमजुङको दोर्दी गाउँ कमिटीको घोषणा सभा उद्घाटनमा आएकी उनले दोर्दी करिडोरमा निर्माणाधीन ४ जलविद्युत आयोजना निरीक्षणपछि त्यस्तो बताएकी हुन्।

उनले भान्सामा एलपी ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग गर्न र अन्यत्र पनि सकेसम्म विद्युत ऊर्जाको उपयोग गर्न आग्रह गरिन् । पेट्रोलियम पदार्थ खरिदमा मुलुकबाट बर्सेनि विदेश जाने खर्बौं रुपैयाँ बचाउन विद्युत प्रयोग गर्न र त्यसबाट बचेको रकम विकासका अन्य कार्यमा लगानी गर्न सकिने उनको तर्क थियो।

उनले आफू सरकारमा आएको मात्र २७ दिनमै २० युनिटसम्म विद्युत खपत गर्ने परिवारका लागि विद्युतको सेवा निशुल्क गरेको र सो सुविधा मंसिरदेखि लागु भइसकेको बताइन् । २० युनिटसम्म विद्युत खपत गर्ने त्यस्ता परिवार मुलुकभर २६ लाख लाभान्वित भएको उनको भनाइ छ । उनले विद्युतलाई यातायात र औद्योगीकरणमा खर्चिने योजना तयार गरेको पनि बताइन्।

निशुल्क २० युनिटसम्म विद्युत खपत गर्ने २६ लाख परिवार लाभान्वित भएका छन् ।

दोर्दी करिडोरमा मात्र ४ वटा विद्युत आयोजना निर्माण अन्तिम चरणमा छन् । ती आयोजनाबाट उत्पादित विद्युत एउटै प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जडान गरी वितरणको प्रबन्ध गरिने पनि मन्त्री भुसालले जानकारी दिइन् ।

यसैबीच, उनले पाँचदलीय गठबन्धन आगामी चुनावसम्म निर्धक्क चल्ने जिकीर गरिन् । नेकपा माओवादी केन्द्र, दोर्दी गाउँ कमिटीको प्रथम अधिवेशन घोषणा सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री भुसालले अहिले ७ वटै प्रदेशमा गठबन्धनको सरकार रहेको र आगामी चुनावसम्म पनि गठबन्धन सरकारकै नेतृत्व चल्ने उनको दाबी थियो ।

राष्ट्रियता र संविधानको रक्षा, जनताको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति पाँचदलीय गठबन्धन बनाइएको भन्दै उनले ठूलो मूल्य चुकाएर ल्याएको नेपालको परिवर्तन र त्यसका अगाडि आउन सक्ने प्रतिगमन, प्रतिक्रान्तिलाई पराजित गर्न सहकार्यद्वारा अघि बढ्ने गठबन्धनको प्रतिबद्धता रहेको स्मरण गरिन् । उनले देशमा राजनीतिक परिवर्तन माओवादीको बलमा प्राप्त भएको जिकीर गर्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता मुद्दा माओवादीले उठाएको दाबी गरिन् । उनले अब वैज्ञानिक समाजवाद हुँदै साम्यवादको यात्रामा अघि बढ्न माओवादी बलियो भएर उभिनुपर्नेमा जोड दिइन् ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेश सरकारका जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको र त्यस्ता कार्ययोजना लागु गरिसकेको बताइन्। कार्यक्रममा एमालेका दोर्दी गाउँ कमिटी अध्यक्ष युवराज अधिकारी, नेकपा एकीकृत समाजवादी दोर्दीका संयोजक रणबहादुर घले, माओवादी पार्टीका जिल्ला समन्वय समिति सदस्य एवं दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ लगायतले बोलेका थिए । यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य देवेन्द्र पौडेल, जिल्ला इन्चार्ज पारसमणि पौडेललगायत पार्टीका जिल्ला तथा स्थानीय तहका नेताको सहभागिता थियो । माओवादी केन्द्र, दोर्दी गाउँ कमिटी अध्यक्ष सागर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रवीन्द्र अधिकारीले स्वागत र सञ्चालन धर्म गुरुङले गरेका थिए।

यसैबीच, मन्त्री भुसालले नेकपा माओवादी केन्द्र, दोर्दी गाउँ कमिटिको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष सागर गुरुङ नेतृत्वको ४३ सदस्यीय पालिका कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराएकी छन्।

Related News

सम्बन्धित समाचार

hero news full width