पोखरा । पोखरालाई पर्यटनको अघोषित राजधानी मानिन्छ । नेपाल छिर्ने पर्यटकमध्ये कम्तीमा ४० प्रतिशत पोखरा आइपुग्ने आकलन छ । आन्तरिक र बाह्य गरी १० लाख पर्यटक घुम्ने पोखरामा पर्यटनबाट ५० लाख पनि आम्दानी छैन । यसको प्रमुख कारण हो–यहाँ पर्यटक भुल्ने विशेष गन्तव्य छैनन् । भएकाहरुमा महानगरको स्वामित्व छैन । गत वर्ष पर्यटन सेवा शुल्क रोयल्टी नामको शीर्षकमा ६२ लाख रुपैयाँ राजस्व उठेको छ । यो वर्ष २३ लाख जम्मा भएको छ । स्थानीय तह बनेपछि पोखराको आन्तरिक आम्दानीमा खासै परिवर्तन छैन । भैरहेका स्रोतको कर बढाउने बाहेक नयाँ स्रोत खोजीमा पोखराले मिहिनत गरेको देखिँदैन ।
अझै पनि अनुत्पादक क्षेत्रबाट जम्मा हुने राजस्व नै प्रमुख स्रोत हो । सम्पत्ति कर, भूमि कर र बहाल करलाई पोखराको प्रमुख स्रोत मानिन्छ । तथापि यसको व्यवस्थापनमा पनि ध्यान पुगेको छैन । पछिल्लो २ वर्षको तथ्यांक केलाउने हो भने मुख्य शीर्षकबाटै आम्दानी बढेको छैन । अघिल्लो वर्ष करिब ११ करोड उठाएको बहाल करबाट यो वर्ष बिटौरी समेत जोड्दा मुस्किलले ८ करोड उठेको छ । भूमि तथा मालपोत कर पोहोरभन्दा अहिले बढेको छ । पोहोर करिब ८ करोड संकलन भएकोमा यो वर्ष १० करोड नाघेको छ । अघिल्लो वर्ष साढे ८ करोड सम्पत्ति कर उठाएकोमा अहिले ७ करोड जम्मा भएको छ ।
यो वर्ष व्यवसाय कर ६ करोड उठेको छ । तर यसको तथ्यांक समेत पोखरासँग छैन । कति घर छन् र कति भाडामा लगाइएको छ भन्ने तथ्यांक महानगरले बटुल्न सकेको छैन । अर्कोतर्फ भाडामा लगाउनेहरुले बढी भाडा लिएर सरकारलाई बुझाउने कागजातमा मूल्य कम देखाइन्छ । त्यसको अनुगमन भएको छैन । जताततै राजस्व उठ्ने ठाउँ छ । महानगरले संरचनागत प्रणालीको विकास गर्न नसक्दा स्रोत त्यसै खेर गइरहेका छन् । एकातिर कर्मचारीसँग मिलेर राजस्व छली बढी छ भने अर्कोतर्फ गलत कागजी विवरणले चुहावट बढेको छ ।
अहिले पोखरा महानगरपालिकाको प्रमुख आम्दानीको स्रोत घाट हो । ढुंगा गिटी बालूवा बेचेर पोखरा विकासको कल्पना गरिएको छ । अघिल्लो वर्ष गिटी बालुवा बेचेर १२ करोड जम्मा गरेकोमा अहिले २१ करोड उठेको देखिन्छ । साना खोलाहरुलाई समेत ठेक्का दिने र बिनाअध्ययन उत्खनन् गर्दा राजस्व बढे पनि खतरा डरलाग्दो छ । थोरै अनुमति लिएर अनियन्त्रित उत्खनन् गर्दा खोला किनारमा जोखिम बढेको हो । खासगरी ३३ वटा नदी तथा खोलाहरुबाट गिटी बालुवा उत्खनन् गर्न सामान्य सम्भावना खोजिएको छ । गएको वर्ष १३ वटा मात्रै घाट चल्यो । ठेक्कामा नगए पनि अरु खोला नदीहरुमा समेत दैनिक उत्खनन् भैरहेका छन्, अनियन्त्रित निकासी चलिरहेको छ । ताल संरक्षणका लागि बनाइएका चेक ड्याममा समेत महानगरले गिटी बालुवा बेच्ने ठेक्का लगाएको छ ।
मुख्यगरी रामघाट पोखराको प्रमुख निर्माण सामग्री उत्खनन् गर्न सक्ने ठाउँ हो । गत वर्ष ७७ हजार घनमिटर बालुवा उत्खनन् गर्न कर बाहेक ५ करोड ४८ लाखमा ठेक्का दिइएको थियो । वर्षभरीमा पोखराका घाटहरुबाट वैधानिक रुपमा ३ लाख घनमिटर गिटी बालुवा उत्खनन् हुन्छन् । अवैध निकासी पनि भैरहेको छ । त्यसको आँकडा निकालिएको छैन ।
वर्षभरीमा पोखराका घाटहरुबाट वैधानिक रुपमा ३ लाख घनमिटर गिटी बालुवा उत्खनन् हुन्छन् ।
महानगरका राजस्व प्रमुख गणेश पाण्डे महानगरकै लगानीबाट आम्दानी गर्ने स्रोत नभएकोले अनुत्पादक क्षेत्रमा कर बढाउनुपर्ने अवस्था आएको बताउँछन् । ‘धेरै स्रोतहरु छन्, सम्भावना बढी भएको तर उठाउन सकेको छैन । घाटगद्धीमा पनि व्यवस्थित गर्न सके ४० करोड पुर्याउन सकिन्छ,’ उनले भने, ‘सबैको ध्यान आम्दानीमा हुनुपर्ने हो । दायरा खोजी गर्न कसैले मतलव गरेको पनि छैन । उठेको पैसा बाँढ्नेमा मात्रै केन्द्रित भयो ।’ सम्पत्ति कर, पर्यटन शुल्क, बहाल कर र विज्ञापन करमा सामान्य फेरबदल गर्दा पनि धेरै आम्दानी बढ्न सक्ने उनको भनाइ छ । आन्तरिक आम्दानी नबढ्दा अझै माथिल्ला सरकारको अनुदानमै भर पर्नुपर्ने अवस्था पोखरालाई छ ।
लेखा प्रमुख जयराम पौडेल दायराहरुको अभिलेखीकरण नै नभएकोले राजस्वक कम उठेको बताउँछन् । ‘ठूला करदाताहरु २० प्रतिशत पनि करको दायरामा छैनन् । नयाँ स्रोत पनि नहुने र करको दायरामा करदाता नहुँदा आम्दानी कसरी बढ्छ ?,’ उनले भने, ‘१० तलाका घर छन्, १ तलाको कर तिर्छ । कतिपय क्षेत्रको अभिलेखीकरण छैन ।’ अहिले पनि जमिन र घरसँग जोडिएको क्षेत्रबाट संकलन भएको पैसाले नगरपालिका चलिरहेको छ । खेतीयोग्य जमिन वर्षेनी घटिरहेको छ । उद्योग, कलकारखाना बढेको छैन ।
कर तिर्ने प्रणालीको विकास नभएकोले नदीजन्य राजस्वमा केन्द्रित हुनुपरेको पोखरा महानगरकी राजस्व परामर्श समितिकी संयोजक तथा उपमेयर मञ्जुदेवी गुरुङले बताइन् । ‘कर भनेपछि नगरबासी रिसाउँछन् । कर तिर्ने बानीको विकास गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘विस्तारै कर शिक्षा टोलटोलमा लगेका छौं । अब नयाँ स्रोतबाट पनि राजस्व उठ्न सक्छ ।’ घर जग्गा र व्यवसाय दर्तामा जोड दिएको उनले सुनाइन् । कर छल्न खोज्ने समस्याले राजस्व संकलन धेरै हुन नसकेको उनको निष्कर्ष छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१