पोखरा । दोस्रो लहरको कोरोना त्रासबाट जोगिन सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण पोखरा र आसपासका पर्यटकीय क्षेत्रमा २ सय हाराहारी पर्यटक अड्किएका छन् । पहिलो लहर सकिएपछि नेपालमा विदेशी पर्यटकको बिस्तारै आगमन सुरु भएको थियो । उनीहरु पोखरा र आसपासमा निर्धक्क साथ डुलिरहेका थिए । अहिले कोभिडले छपक्कै छोप्यो । सरकारले निषेधाज्ञा जारी गर्यो । घुम्न आएका २ सय हाराहारी पर्यटक रोकिएका हुन् । अहिले उनीहरु बसिरहेको होटलमा छन् । केही होमस्टे तथा कोही पदमार्गमा पनि छन् । पोखरा पर्यटन परिषद् उनीहरुको उद्धार र राहतका लागि हाई अलर्टमा छ ।
‘ठ्याक्कै कति छन् भन्ने रेकर्ड छैन । सबै स्रोतबाट २ सय हाराहारी पर्यटक छन् भन्ने आएको छ,’ परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘अहिलेसम्म रेस्क्युका लागि कसैले आग्रह गरेका छैनन् । तर कोही अप्ठेरोमा पर्यो भने हामी तयार छौं ।’
‘ट्रेकिङमा निस्किएका ५० भन्दा बढी पर्यटक छन् । उनीहरु अन्नपूर्ण रुटका विभिन्न होटलमा सुरक्षित बसिरहेका छन्,’ भट्टराईले भने, ‘पहिलेको लकडाउन पछि उनीहरु यहाँ आउन थालिसकेका थिए । व्यवसायीहरु उत्साही थिए । सेकेन्ड वेभले अवस्था जटिल छ ।’ अघिल्लो वर्ष लकडाउन लामो भएपछि पर्यटक प्लेन चार्टर्ड गरेरै भए पनि स्वदेश फर्किएका थिए । केही पर्यटक स्वदेशभन्दा नेपाल सुरक्षित देखेर यतै बसे । त्यतिबेला पनि पर्यटन सम्बद्ध संघसंस्थाले सहयोग गरेका थिए । अहिले खासगरी पदमार्गमा धेरै पर्यटक थुनिएका छन् । कोही होमस्टे र होस्टल तथा फ्ल्याटमा पनि बसिरहेका छन् ।
प्रदेशमा वित्तीय संस्थाले २ खर्ब ३७ करोड लगानी गरेका छन् ।
पर्यटन व्यवसायीले खोपको सहज उपलब्धताका लागि आग्रह गरेका छन् । ‘छिटोभन्दा छिटो भ्याक्सिन दिए हुन्थ्यो । पोस्ट कोभिडपछि त हामी सेवामा हाजिर हुनुपर्छ । भ्याक्सिन लगाएपछि आउने ग्राहक पनि सुरक्षित हुन्छन्,’ व्यवसायीले भने, ‘यही देखाएर हामीले ठूलो मार्केटिङ गर्न सक्छौं । बन्दको बेलामा सरकारले मजदुरलाई भ्याक्सिन लगायो भने राम्रो सन्देश पनि जान्छ ।’ नियमित बैंकबाट आउने फोनका कारण आफूहरु हैरानीमा परेको उनीहरुको गुनासो छ । ‘बैंकको कर्जा अवधि थपिदिनुप¥यो । सरकारले दिने भनेको सहुलियत पनि छिटो दिनुपर्छ,’ परिषद् अध्यक्ष भट्टराई भन्छन्, ‘सरकारको पैसा २५ प्रतिशत पनि खर्च भएको छैन । व्यवसायी यस्तो हालतमा छन् । आगामी बजेटमा विशेष सम्बोधन हुनुप¥यो । कोभिडमा असर परेको क्षेत्रमा सरकारले सहयोग गरोस् ।’
गण्डकी सरकारले कोभिडले थलिएको व्यवसाय उकास्न व्यवसाय जीवनरक्षा कोष सञ्चालन गरेको छ । १ अर्बको कोष बनाएर बैंकबाट व्यवसायीले लिएको कर्जाको व्याज तिरिदिने योजना छ । त्यसका लागि प्रस्ताव समेत आह्वान भएर ऋण प्रवाह गर्ने क्रममा पुगेको छ । ६ हजार ७ सय ७८ व्यवसायीले सहुलियत ऋणको लागि निवेदन बुझाएका छन् । सरकारले ४ क्षेत्र तोकेर ऋण लगानी गर्ने जनाएको थियो । लघुउद्यम, साना सेवा, साना पर्यटन र यातायात व्यवसायीलाई सहुलियत ऋण दिन लागिएको हो । सबै गरेर ७ अर्ब ६७ करोड रुपैयाँ ऋण व्यवसायीले बैंकसँग मागेका राष्ट्र बैंकले जनाएको छ । ४ अर्ब ५१ करोड रुपैयाँको लोन स्वीकृत भैसकेको छ । बैंकका अनुसार सबैभन्दा धेरै लघु, घरेलु तथा साना उद्योगमा १ अर्ब ९९ करोड ऋण माग भएको छ भने साना पर्यटन १ अर्ब ५३ करोड, साना सेवामा ६२ करोड, साना यातायातमा ३५ करोड रुपैयाँ ऋण माग भएको छ । वार्षिक ५० लाखभन्दा कम कारोबार गर्ने व्यवसायीलाई व्यवसायको प्रकृति हेरेर ५० हजारदेखि १५ लाखसम्म बिनाब्याज ऋण दिन लागिएको हो । ३ वर्षसम्मको ब्याज सरकारले तिरिदिने कार्यविधि छ । सरकारी आँकडाले १ महिना आर्थिक गतिविधि ठप्प हुँदा गण्डकी प्रदेशमा १९ अर्ब नोक्सान हुने देखाएको छ । प्रदेशमा वित्तीय संस्थाले २ खर्ब ३७ करोड लगानी गरेका छन् । त्यसमध्ये पर्यटन, निर्माण, गैरखाद्य वस्तु उत्पादन र धातुका उत्पादन क्षेत्रमा गरिएको लगानी तत्कालै फिर्ता हुने सम्भावना निकै न्यून छ । ११ अर्ब ९० करोड पर्यटनमा, २ अर्ब धातु उत्पादन, ३५ अर्ब निर्माण र ५ अर्ब गैरखाद्य वस्तुमा लगानी गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१