संक्रामक रोग अस्पताल ‘हाउसफुल’

धनबहादुर गुरुङ
वैशाख २१, २०७८
cm at hospital (1)

पोखरा । प्रदेश सरकारको मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल थप कोरोना संक्रमित राख्न नसक्ने अवस्थामा पुगेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनका अनुसार उपचाररत संक्रमितको संख्या ५१ पुगेको छ । अस्पताल स्थापना गर्दा नै ५० बेड छुट्याएर बनाएको उनले जानकारी दिए ।

‘हामीले राख्न सक्ने भनेको ५० जना हो, १÷२ जना तलमाथि हुन्छ,’ उनले भने, ‘अब हामीले यहाँ नयाँ संक्रमित भर्ना गर्न सक्दैनौं, अब अन्य अस्पताहरुसँग समन्वय गर्नुपर्ने अवस्थामा छौं ।’ उनले हाल भएका बिरामी हेरचाहका लागि पनि कर्मचारी अभाव रहेको बताए । सामान्य अवस्थामा पनि ५० जना कोरोनाका बिरामी हेर्न अस्पतालमा सबै गरेर ८४ जना कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १ बेडमा १ सिफ्टमा ४ जना नर्स आवश्यक पर्छ,’ उनले भने, ‘हामीले विदेशजस्तो खोजेर त हुँदैन तर पनि अहिलेको अवस्थामा कमर्चारी कम नै छन् । कर्मचारी कम भएको जानकारी बेलाबेलामा सामाजिक विकास मन्त्रालयमा गराइरहेको उनले बताए ।

मुख्यमन्त्री गुरुङले संक्रामक तथा सरुवा रोग अस्पतालको मंगलबार निरीक्षण गरेका छन्

‘यो विषयमा हाम्रो तालुकवाला निकायमा कुरा राखिसकेका छौं,’ उनले भने, ‘छलफल भइरहेको छ । संस्थाको संगठन र व्यस्थापनको प्रक्रिया लामो भएको हुनाले नियुक्ति गर्न समस्या भएको हो ।’ अस्पतालमा कर्मचारी थप्ने विषयमा प्रदेश सरकार पनि सकारात्मक रहेको साथै स्टाफ नर्स र कार्यालय सहयोगी भर्ना प्रक्रिया अगाडि बढेको डा. गौचनले जानकारी दिए । अस्पतालमा आइसियु र एचडियु सेवा छिट्टै सञ्चालनमा ल्याउने आफूहरुको योजना रहेको उनको भनाइ छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मंगलबार संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । ‘उहाँ आएर कस्ता कस्ता बिरामी छन्, उनीहरुको उपचार कसरी भइरहेको छ भन्ने बारेमा जानकारी लिनुभयो,’ गौचनले भने, ‘जनशक्तिको अवस्था कस्तो छ, समय कसरी मिलाउने, आगामी दिनमा कस्ता सेवा थप गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।’ अस्पतालको भौतिक संचरना हेरेर अझै १०/१५ वटा बेड थप्ने विषयमा पनि मुख्यमन्त्रीसँग छलफल भयो । अक्सिजनका लागि ब्याकअप सिलिन्डर चाहिन्छ भनेर छलफल भएको डा. गौचनले जनाए ।

समय समयमा मुख्यमन्त्री आफैं उपस्थित भएर साथै विभिन्न माध्यमबाट अस्पतालको अभिभावकत्व लिइरहेका छन् । मंगलबार पनि मुख्यमन्त्री गुरुङ अस्पतालमै पुगेर भौतिक दूरी कायम गर्दै बिरामीको समस्या बुझ्दै केही समस्या भएमा तत्काल डाक्टरलाई जानकारी गराउन सुझाए । मुख्यमन्त्री गुरुङले बिरामीको मनोबल बढाउनका साथै कर्मचारीहरुको जोखिमभत्ताको विषयमा चासो व्यक्त गरेको डा. गौचनले बताए । गत साउन महिनादेखि कर्मचारीहरुले जोखिमभत्ता नपाएको उनले गुनासो गरे । यसबारे पनि छिट्टै सल्लाह गरेर टुंगोमा पु¥याउने मुख्यमन्त्रीबाट आश्वासन आएको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width