पोखरा । कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रदेश गौरवको योजना हो । गण्डकी सरकारले आयात प्रतिस्थापन गर्न मझौला तथा ठूला उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गर्ने गरी औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको ३ वर्ष बित्यो ।
अहिलेसम्म निर्माणको काम त परैको कुरा, जग्गा समेत आफ्नो बनाउन सकेको छैन । कास्की र तनहुँको बीचमा पर्ने तल्लो पुँडीटार क्षेत्रमा २ हजार ८ सय रोपनी क्षेत्रफलमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्न संघ सरकारसँग स्रोत समेत मागिएको थियो । नवलपुरमा १ सय बिगाहा जमिनमा औद्योगिक क्षेत्र बनाउने सरकारी योजना छ । तर दुवै ठाउँको जग्गा अहिलेसम्म प्रदेशको नाममा आएको छैन । जग्गा प्राप्तिकै कारण समयमा काम गर्न नसकेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।
अघिल्लो वर्ष नै औद्योगिक क्षेत्र बनाउने भनिए पनि हालसम्म जग्गा समेत प्राप्त गर्न सकेको छैन ।
‘जग्गा प्राप्तिले ढिलो भएको हो । जग्गा दर्ता भएकै रहेनछ,’ उनले भने, ‘खुला क्षेत्र भनेर लेखेको रहेछ । कहिले वनले मेरो भन्ने, कहिले अरुले दाबी गर्ने भयो । बल्ल अहिले तान्द्रो पत्ता लागेको छ । अहिले चाहिँ प्रक्रियामा गएको छ ।’ औद्योगिक क्षेत्र बनाउने भनिएको ठाउँमा सुकुम्बासीको बसोबास छ । बिना योजना सुकुम्बासी हटाउन नसकिएको लम्साल बताउँछन् । ‘सुकुम्बासी कता लाने ? अपार्टमेन्ट गरेर सार्ने कि ? उनीहरुसँग लालपुर्जा पनि छैन,’ उनी भन्छन्, ‘जे होस अब कमिटी बनाएर नापी गर्छौं । त्यो डकुमेन्ट लिएर गएपछि संघको मन्त्रीपरिषद्ले निर्णय गरिदिन्छ । त्यसपछि बल्ल डिपिआर बनाउने हो ।’ प्रदेश सरकारले यसको डिपिआर बनाउन चालु वर्षमै खर्च हुने गरी ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले नै चासो नदिँदा विनियोजित बजेट खर्च नहुने पक्कापक्की छ । ‘पूर्वाधारमा खर्च गरौं न त भनेको कर्मचारी मानेका छैनन् । एक छेउबाट कम्पाउन्ड मात्रै गर्दिन पाए पनि केही काम देखिन्थ्यो,’ मन्त्री लम्सालले थपे, ‘जग्गा नपाएसम्म अर्काको जग्गामा नगरौं भन्छन् । गाह्रो भइरहेको छ ।’ अघिल्लो वर्ष नै औद्योगिक क्षेत्रको संरचना बनाउने भनिएकोमा अहिलेसम्म जग्गा प्राप्तिमै अड्किएको छ ।
प्रदेशले पूर्व तयारी र अध्ययन बिना कार्यक्रम घोषणा गर्दा कार्यान्वयनमा समस्या भइरहेको छ । अधिकांश ठूला आयोजनाहरु जग्गा प्राप्तिलाई देखाएर कार्यान्वयन नै नगरी जिम्मेवारीबाट पन्छिने परम्परा बढेको छ । योसँगै प्रत्येक स्थानीय तहमा बनाउने भनिएको औद्योगिक ग्राम पनि निकै सुस्त अघि बढेको छ । ८५ मध्ये १९ वटा तहमा मात्रै उद्योग ग्रामको काम सुरु भएको छ । एक स्थानीय तह एक उद्योग ग्राम अन्तर्गत विज्ञ टोलीले ५१ वटा मात्रै पालिकामा यो कार्यक्रम लागु गर्न सकिने सम्भाव्यता देखाएको थियो । ‘८० करोडको डिपिआर छ, १ करोड दिएर रिजल्ट आउँदैन नि । कमसेकम १० करोड खर्च भएपछि खोजेजस्तो रिजल्ट आउँछ,’ किन देखिने गरी काम भएन भन्ने प्रश्नमा मन्त्री लम्सालले भने, ‘गेट बनाएका छन् । कम्पाउन्ड बनाएका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । २०२९ सालको पोखराको औद्योगिक क्षेत्र चलेको पनि ८÷१० वर्ष त भयो । समय लाग्छ, काम हुन्छ ।’ मन्त्रीले त्यसो भने पनि उक्त औद्योगिक क्षेत्र सुरुदेखि नै सञ्चालनमा छ ।
बेरोजगारी अन्त्य र रोजगारी सिर्जना गर्ने उद्देश्यले सार्वजनिक गरिएका कार्यक्रम नै अलपत्र परेपछि सरकारी लक्ष्य सपना मात्रै बनेको छ । प्रदेश सरकार बनेपछि ११ हजार ५ सय ४७ नयाँ उद्योग र १० हजार ८ सय ७९ नयाँ व्यवसाय दर्ता भएको सरकारी तथ्यांक छ । यसबाहेक ७ हजार ४ सय ९३ उद्योग र ८ हजार ३ सय ७३ व्यवसायको नवीकरण भएको छ । तथ्यांक हेर्दा पुरानो नवीकरण भन्दा नयाँ उद्योग र व्यवसाय खोल्ने दर अधिक छ । गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम सन्चालन गरेर ८ हजार ५ सय ८९ जनालाई उद्यमी बनाइएको दाबी उद्योग मन्त्रालयको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१