प्रहरीको रासन भत्ता बढाउँदै सरकार

आदर्श समाज सम्वाददाता
माघ २९, २०७७
nepal police

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता बढाउने भएको छ।

रासनभत्ता पुनरवलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदनको सिफारिसअनुसार तत्काल रासनभत्ता वृद्धिका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताएका हुन्।

उनले आर्थिक वृद्धि र समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य सर्त रहेको र त्यस्तो शान्तिसुरक्षा कायमगर्न महत्त्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने बताए।

प्रत्येक वर्ष स्वतः भत्ता पुनरवलोकन हुने गरी समिति बनाइने पनि गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरे। पछिल्लो ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुन सकेको छैन।

सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्यान्नमा सरदर ३३ प्रतिशत मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी उपयुक्त मात्रामा रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको हो।

कार्यक्रममा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको समेत उपस्थिति थियो।

Related News

सम्बन्धित समाचार

hero news full width