आरुघाटमा अब मोटरेबल पुल

आदर्श समाज सम्वाददाता
पौष १, २०७७
moterable pul silanyas 1 gorkha aarkhet khola

पोखरा | गोरखाको आरुघाट गाउँपालिका ४ र ५ जोड्ने आर्खेत खोलामा मोटरेबल पुल शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पुल शिलान्यास गर्दै आर्खेत आसपास र उत्तरी गोरखा जनतालाई सहज हुनुका साथै उत्तरी गोरखा जोड्नसमेत समेत पुलले महत्वपूर्ण भूमिका खेल्ने बताए । मनास्लु क्षेत्र जोड्ने सडकसमेत भएकाले पुलले पदमार्गमा जोडिने उत्तरी गोरखाका सर्वसाधारण, पदमार्गमा जाने पदमार्गी र उत्तरी गोरखामा ढुवानी सेवा पु¥याउन सहज हुने मन्त्री बस्नेतको भनाइ थियो ।

आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले पुल शिलान्यासपछि आरुघाटवासीमा खुसीयाली छाएको बताए । उनले पुल निर्माणमा आइपर्ने समस्या समाधान गर्न गाउँपालिकाले सहयोग गर्ने बताए । पुलले उत्तरी गोरखा र आरुघाट गाउँपालिकालाई समेत जोड्ने भएकाले पनि यसले पर्यटन, कृषिलगायत क्षेत्रमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

नेकपा गोरखाका सदस्य कृष्णबहादुर नेपाली, स्थानीय रेशमबहादुर गुरुङ लगायतले पुल निर्माणमा कुनै अवरोध सिर्जना भए सर्वदलीयरुपमा समाधानका लागि आफूहरुले पहल गर्ने बताए ।

भौतिक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले ५ करोड ६५ लाख लागतमा निर्माण गर्न लागेको पुल कोभिड–१९ को प्रभावका कारण सम्झौता भएको केही महिनापछि निर्माण सुरु हुन लागेको जानकारी दिए । आगामी २ वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी बानियाँ सूर्यविनायक जेभीले ठेक्का सम्झौता गरेको उनले बताए ।

यसैबीच, मन्त्री बस्नेतले आरुघाट ३, स्याम्राङ र देउराली जोड्ने झोलुंगे पुल र थुमीनिबोट जोड्ने झोलुंगे दुई छुट्टाछुट्टै पुलको समेत शिलान्यास गरेका छन् । स्याम्राङ र देउराली जोड्ने झोलुंगे पुल ३ सय ४६ मिटर लामो हुनेछ । सो पुल निर्माणमा २ करोड १० लाख लागत लाग्ने अधिकारीले बताए ।

त्यसैगरी, थुमीनिबोट झोलुंगे पुल ३ सय ७८ मिटर लामो हुने छ भने लागत २ करोड ६० लाख रहेको छ । सो पुल गोरखामा निर्माण भइरहेका पुलमध्ये सबैभन्दा लामो हुनेछ । आगामी डेढ वर्षभित्र निर्माण सक्ने गरी एसए शैलेन्द्र जेभीले निर्माण जिम्मा लिएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width