राजश्व सङ्कलन २८ प्रतिशत कम

रासस
श्रावण ७, २०७७
antarika_rajaswo-pokhara

पोखरा, ७ साउन । आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७६/७७ मा लक्ष्य भन्दा एक अर्ब ५८ करोड ५६ लाख कम राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको २८ प्रतिशत न्यून हो । गण्डकी प्रदेशको राजधानी शहरमा अवस्थित कार्यालयले सो वर्षमा विभिन्न शीर्षकबाट रु पाँच अर्ब ६१ करोड ६७ लाख उठाउने लक्ष्य राखेकामा रु चार अर्ब तीन करोड ११ लाख मात्र राजश्व सङ्कलन गर्न सक्यो । कार्यालयले लक्ष्यको ७२ प्रतिशत मात्र राजश्व उठाउन सफल भएको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विजय लामिछानेले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले रु पाँच अर्ब ७६ करोड लक्ष्य राखेकामा ९२ प्रतिशत अर्थात रु पाँच अर्ब २९ करोड राजश्व दाखिला भएको थियो । कास्कीसहित स्याङ्जा जिल्ला कार्यक्षेत्र रहेको कार्यालयलाई राजश्वको लक्ष्य भेट्टाउन कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीले प्रभावित बनाएको बताइन्छ । ‘चैतदेखी जेठ तीन महिना बन्दाबन्दीमा थियौँ, असारमा समेत कर तिर्न म्यान्डेटरी( अनिवार्य कानूनी व्यवस्था) थिएन’, कर अधिकृत लामिछानेले भने, ‘असारमा करदाताको उत्साहजनक सहभागिता रहेपनि राजश्वमा बन्दाबन्दीका कारण अपेक्षाकृत सहभागिता भएन, लक्ष्य पूरा गर्न सकिएन ।’ कार्यालयले आयकरबाट सर्वाधिक रु दुई अर्ब १५ करोड चार लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष आयकर रु तीन अर्ब ३२ करोड १३ लाख ४३ हजार उठाउने लक्ष्य राखिएको थियो ।

त्यसैगरी मूल्य अभिवृद्धि करबाट रु एक अर्ब ३५ करोड २९ लाख ३६ हजार, अन्तःशुल्क रु २१ करोड ५५ लाख ४९ हजार, ब्याजकरबाट रु २५ करोड ५० लाख १५ हजार, घरभाडा कर रु पाँच करोड ३५ लाख ५८ हजार, स्वास्थ्य सेवा कर रु १९ लाख ६३ हजार तथा शिक्षा सेवा करबाट रु १६ लाख ४५ हजार राजश्व सङ्कलन भएको कार्र्यालयले जनाएको छ । गएको आर्थिक वर्षको असार महिनामै मात्र रु ७६ करोड राजश्व जम्मा भएको छ । कोभिड–१९ सङ्क्रमण रोक्नका लागि चैत ११ गतेदेखि आह्वान गरिएको बन्दाबन्दीले जेठसम्म राजश्व सङ्कलन प्रभावित भएकामा आन्तरिक राजश्व विभागले असारमा कर बुझाउन व्यवसायीलाई सूचना जारी गरेपछि व्यवसायीहरुले विरोध गरेका थिए ।

कर बुझाउन गरिएको निर्देशनका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएकामा अदालतले अन्तरिम आदेश जारी गरी लकडाउन पूर्णरुपमा खुलेको एक महिनापछि मात्र कर तिर्ने व्यवस्थाका लागि सरकारलाई निर्देशन दिएको थियो । अदातलको आदेशपछि समेत करदाताले स्वेच्छिक सहभागिता जनाएका थिए । अघिल्लोे आर्थिक वर्षको असार महिनामा रु ६० करोड राजश्व दाखिला भएकामा आव २०७६÷७७ मा रु १६ करोड बढी राजश्व उठेको हो । गत वर्ष असारमा मात्र अन्त शुल्क रु ५६ करोड ९७ लाख ५० हजार उठेको छ । जुन लक्ष्यको २८८ प्रतिशत रहेको बताइन्छ । त्यसैगरी आयकर मात्र रु ४० करोड जम्मा भएको छ । ‘करदातालाई तिर्नै पर्ने बाध्यात्मक अवस्था नरहेपनि कतिपयले आफूले तिर्नुपर्ने कर स्वेच्छिक रुपमा बुझाएर सरकारलाई सहयोग गरे, असारमा कर सङ्कलन विगतका तुलनामा उत्साहजनक रह्यो’, कर अधिकृत लामिछानेले भने ।

एक लाख ४६ हजार करदाता

दुई जिल्ला कार्य क्षेत्र रहेको कार्यालयमा एक लाख ४६ हजार करदाता दर्ता भएका छन् । कूल करदातामध्ये ८८ हजार व्यक्तिगत करदाता(इ प्यान) रहेका छन् । कूल ५८ हजार व्यावसायिक करदाता मध्यमा ११ हजार मूल्य अभिवृद्धिकरमा दर्ता भएका छन् भने पाँच हजार हाराहारीमा अन्तःशुल्क तथा बाँकी प्यानमा दर्ता छन् ।

आन्तरिक राजश्व कार्यालय पोखराको यस अघि कास्की र स्याङ्जा दुई जिल्ला कार्यक्षेत्र रहेकामा चालू आर्थिक वर्षको पहिलो दिन साउन १ देखि स्याङ्जा सदरमुकाम पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । स्याङ्जाका करदातालाई कर तिर्न आफ्नै जिल्लामा सहज होस् भनेर छुट्टै कार्यालय स्थापना गरी सेवा शुरु गरिएको बताइन्छ । सो कार्यालयबाट कर परीक्षण र अनुसन्धान बाहेकका अन्य सबै सेवा उपलव्ध हुने कार्यालयले जनाएको छ ।

चालू वर्षको राजश्व लक्ष्य घट्यो

आन्तरिक राजश्व कार्यालय पोखराले चालू आर्थिक वर्षमा रु चार अर्ब ८२ करोड राजश्व उठाउने लक्ष्य लिएको छ । सो लक्ष्य गत आर्थिक वर्षको भन्दा रु ७९ करोड न्यून हो । सरकारले बजेटको आकार समेत घटाएको तथा कोभिड–१९ को असर पछिसम्म पर्न सक्ने र उद्योग, व्यापार व्यवसाय प्रभावित हुने आकलनसहित राजश्वको लक्ष्य घटेको कर अधिकृत लामिछानेले जानकारी दिए ।

राजश्व कार्यालयले फागुनदेखिको मूल्य अभिवृद्धि कर तथा आयकर दाखिला गर्न बाँकी रहेकाहरुको हालसम्मको अवस्थामा जरिवाना र कुनै पनि प्रकारको विलम्ब शुल्क नलाग्ने जनाएको छ । सर्वोच्च अदालतले बन्दाबन्दी पूर्र्ण रुपमा खुलेको ३० दिन पछिमात्र कर तिर्ने व्यवस्था गर्नु भनेकाले अहिलेसम्मको अवस्थामा जरिवाना नलाग्ने कार्यालयले जनाएको छ । बन्दाबन्दी अवधिको कर कहिले दाखिला गर्ने भनेर छिट्टै मिति निक्र्यौल हुने बताइन्छ । रासस

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width