पैसा कसरी बढ्छ ?

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७०

मानिस जोसुकै हुन्, जतासुकैका हुन्, जेसुकै गरुन् तर उनलाई पैसा चाहिन्छ । मेरो बुझाईमा पैसा चार कामका लागि चाहिन्छ ।

पहिलो –

जीवनका आधारभूत आवश्यकता पूरा गर्न, जीवन धान्न, जीवन चलाउन र आफूले सोचेको वा चाहेको कुरा प्राप्त गर्न ।

दोश्रो-

परेको बेला खर्च गर्ने गरी ‘बचत’ गर्न ।

तेश्रो-

पैसा बढाउन अर्थात धन कमाउन ।

र,

चौथो-

अरुका लागि सहयोग गर्न, सन्तान वा कसैलाई दिन अथवा कसैलाई छाडिजान ।

धेरै मानिस पहिलो आवश्यकता पूरा गर्न पैसा आर्जनको काममा लाग्छन् । त्यो पूरा हुँदै गएपछि परेको बेला, चाहिँदा सजिलोहोस् भनेर अलिअलि गर्दै बचत गर्ने गर्छन् । बचत गर्ने बानी परेकाहरु  पैसा बढाउन, धन कमाउन लगानि गर्ने गर्छन् । जसले धन कमाउँछन् वा विभिन्न श्रोतबाट प्राप्त गर्छन् त्यो कसै न कसैलाई दिन्छन् वा छाडेर जान्छन् । अर्थात सम्पत्तिका मालिक परिवर्तन हुँदै रहन्छन् । अहिले जुनजुन सम्पत्तिका जो-जो मालिक छन् सयपचास वर्षमा अहिलेका मालिक सबै परिवर्तन हुन्छन् र नयाँनयाँ मालिकहरु आइसकेका हुनेछन् । यो प्रकृयालाई सम्पत्ति छाड्नका लागि भनिएको हो । हाम्रो सम्पत्ति, हामीले आर्जन गरेको सम्पत्ति खर्च, बचत, लगानि र छाड्नैका लागि हो।

यसमध्ये मैले चर्चा गर्न चाहेको विषय पैसा कसरी बढाउने भन्ने हो । एउटा उखान सुनेको थिएँ ‘पैसाले पैसा तान्छ’ । यो भनेको पैसा लगानि गर्नु, त्यसले पैसा कमाउँछ भनेको हो भनेर बुझन धेरै दिमाग लगाउनु पर्दैन । एक जना अग्रजले भनेको याद छ ‘पहिलो एक लाख कमाउन धेरै गाह्रो हुन्छ, त्यसमा पनि पहिलो दश हजार कमाउन त झनै गाह्रो हुन्छ ।’ मैले सुनेको यो कुराको अर्थ धेरै वर्षपछि मात्र थाहा पाएँ । मलाई लाग्छ, धेरैलाई यसको वास्तविक अर्थ भनौं वा मर्म थाहा पाउन अझै बाँकि छ ।

आजको मूल्यमा १० हजार रुपैयाँ आर्जन गर्नु भनेको पैसा कमाउनु होइन । एकलाखै हुनु भनेको पनि पैसा कमाएको होइन । तर १० हजार नभई एकलाख हुँदैन । एकलाख नभई त्योभन्दा धेरै हुँदैन अर्थात् दशौंविसौं लाख र करोड हुँदैन ।

हाम्रो समाजका कतिपयलाई जन्मदै करोडपतिको भाग्य जुरेको छ। त्यो भनेको छाडेर जानेको सम्पत्तिले गर्दा हो। त्यसैले जो करोडपति छन् । तीमध्ये केहीले कमाए पनि सबैले आफै कमाएको होइन । आफैले कमाउनु पर्नेले वा कमाउन चाहनेले पहिलो १० हजार कमाउने सपना देख्नु पर्छ । त्यो निक्कै कठिन काम हो, त्यस पछि एकलाखको सपना देख्नु पर्छ र त्यसपछि अरु लाखहरुको।

कतिपय मानिस धनी बन्न एकैपटक लाखौंलाखको सपना देख्ने गर्छन् तर त्यसका लागि चाहिने आधारको कहिल्यै पालन गर्दैनन् । थोरै समयमा लाखौंलाखको सपना देख्ने र त्यो पनि आधार र प्रकृया पूरा नगरि धनी हुनु भनेको जिन्दगीलाई सधैं खतरामा, जोखिममा हिडाउनु हो।

दैनिक रु. तीन सय ५० वा महिनाको रु. १० हजार आम्दानी गर्ने मानिस पनि धनी हुन सक्छ । कसरी भने आर्जन गरेको आम्दानीमध्ये दैनिक खर्चबाट केहि न केही पैसा हरेक दिन बचत गर्ने बानी बसाल्नु पर्‍यो । यस्तो बचतले दुर्इ/तीनवर्षमा तपाईलाई सानो लगानिको पैसा जुटाइदिन्छ । तपाईको काम गर्ने जाँगर, सीप, चालचलन, अनुभव, अरुलाई तपाईँले गरेको सहयोग आदिका आधारमा तपाईलाई सघाउने मानिस वा समूह, संस्था तपाईको वरिपरि तयार भैसकेका हुनेछन् । तिनको सहयोगले तपाईलाई ठूलो मद्दत पुग्ने छ ।

योभन्दा धेरै कमाई गर्नु हुन्छ र आम्दानी र खर्चका बिचमा सन्तुलन मिलाएर अझ बढी बचत गर्न सक्नु हुन्छ भने तपाईको सफल हुने अर्थात् पैसा बढाउने गति अझ बढ्ने छ ।

केही मानिस खर्च गर्नका लागि मात्रै आर्जन गर्ने अथवा कमाउने गर्छन् । बचत गर्ने र लगानि गर्ने सोच उनीहरुमा हुँदैहुदैन । यस्ता मानिस कहिल्यै धनी हुन सक्दैनन् । यस्ता धेरै मानिस हुन्छन् जोसँग केही दिनलाई खान पुग्ने पैसा वा सामग्री घरमा छ भने उनीहरु काममा जाँदैनन् । काम गर्दैनन् । जब सकिन्छ, तब मात्रै कामको खोजीमा निस्कने गर्छन् । दैनिक गजो र्टार्न कमाउने मानिसका घरमा केही दिनलाई खान पुग्ने पैसा वा सामग्री हुनु भनेको बचतका लागि साह्रै राम्रो अवसर हो । त्यो समयमा जति कमाउँछन् सबै बचत गर्न सक्छन् । यसबाट बचत चाँडै बढ्छ र लगानियोग्य पैसा जम्मा हुन्छ । तर यो अवसरको सदूपयोग नगर्ने होभने प्रगतिको इच्छा मात्रै राखेर पुग्दैन ।

धनी हुन खोज्नु राम्रो हो । धनी हुन कि कसैले छाडेको, दिएको -अंशाधिकार) वा छाड्ने सम्पत्ति हुनु पर्‍यो कि मेहनत र जुक्ति लगाउनु पर्‍यो । कसैले छाडेको सम्पत्ति प्राप्त भए नै पनि त्यसलाई जोगाउन वा बढाउन पनि मेहनत र जुक्ति चाहिन्छ नै । धनी हुन चाहनेले आर्जन र बचत सँगसँगै लैजानु पर्छ । बचतको उद्देश्य लगानीका लागि हुनु पर्छ । बचत दुर्इ उद्देश्यले गरिन्छ । पहिलो परेको बेला काममा लाग्छ, चाहिन्छ भनेर र दोश्रो बचत बढाउदै लगेर उपयुक्त ठाउँमा लगानी गरि थप आम्दानी गर्दै जाने ।

कमाएको सबै पैसा खर्च गर्ने अथवा खर्च गर्ने गरि मात्रै पैसा कमाउने मानिसले पैसा बढाउन सकिन भनेर कहिल्यै गुनासो नगर्नु । परेको बेला चाहिन्छ भनेर मात्रै बचत गर्नेले पनि धनी हुने इच्छा नराख्नु नै राम्रो । धनी हुन चाहनेले कमाउन, बचत गर्न र लगानी गर्ने जोखिम उठाउनु पर्छ त्यस अनुरुपको मेहनत र जुक्ति चाहिन्छ । एउटा साधारण मानिस कमाउछ, बचत गर्छ र लगानि गर्ने जोखिम उठाउदै जान्छ भने उसले धनी हुने बाटो अवलम्बन गर्‍यो भन्ने बुझनु पर्छ । नाफा कमाउन हिँडेको मानिसले नोक्सान पनि देख्नु पर्छ । जसरी जित्न हिँडेको मानिसले हार्न पनि सक्नु पर्छ । कमाउने र बचत मात्रै गर्ने तर लगानी गर्ने जुक्ति र साहस नहुनेले परेको बेला सजिलै काम चलाउलान् तर धनी नै भईहाल्छन् भन्ने हुँदैन । तिनले पनि धनी हुन नसकेकोमा चिन्ता नगर्नु ।

सबै मानिस धनी नै हुनु पर्छ र धनी भएपछि मात्रै जीवनको सार्थकता पूरा हुन्छ भन्ने होइन । धनी मानिसभन्दा सफल मानिस नै उत्तम हुन् । धनी दुर्इ तरिकाले हुन सकिन्छ । एउटा व्यवसायमा सफल हुँदै जादा र अको आफ्नो काममा सफल हुन छाडेर जसरी भए पनि पैसा कमाउने उद्यममा लागेपछि । आफूले गरेको काम (पेशा, व्यवसाय, सेवा, अनुसन्धान, सृजना, खेल आदि) मा सफल हुँदै पैसा पनि कमाउन सक्नु कम राम्रो कुरा होइन । यो धेरै राम्रो कुरा हो। तर पैसा कमाउन नसके पनि आफ्नो काममा सफल हुनु उत्तम कार्य हो।

व्यवसाय गरेर पैसा कमाउने बाटोमा लाग्दा सुरुको कमाई, सुरुको बचत, सुरुको लगानि र सुरुको नाफा अवश्वय नै सानो अथवा थोरै हुन्छ । त्यसपछिका अरु कुनै कमाई, बचत, लगानि र नाफामा भन्दा त्यसमा धेरै मेहनत र समय लाग्ने गर्छ । जोखिम पनि त्यहि बेला सबैभन्दा बढ्ता हुन्छ । त्यसैले भनेको हो सुरुको १० हजार कमाउन र सुरुको १० हजार बचत गर्न धेरै कठिन हुने गर्छ । १० हजार कमाउन र बचाउनुभन्दा एकलाख कमाउन र बचाउन अलि सजिलो हुन्छ । त्यसपछिका लाख कमाउन धेरै मेहनत गनै पर्दैन । तर कमाइपछिको बचत र बचतलाई लगानिमा परिणत गर्ने क्रमलाई निरन्तरता दिँदा मात्रै धनी हुँदै जानेक्रम जारी रहन्छ ।

संसारमा धेरै प्रतिविकेको पुस्तक ‘रिचड्याड-पुवरड्याड’ का लेखक रोर्वर्ट टि. कियोसाकि र सारोन एल. लेच्दर लेख्नु हुन्छ ‘धनी हुन चाहनेले व्यवसाय गर्नु पर्छ र व्यवसाय भनेको फल दिने रुखविरुवा जस्तो हो । जसलाई सानामा धेरै मेहनत गरेर जोगाउनु पर्छ, हुर्काउनु पर्छ । सानो झट्काले पनि पुरै बिगार्न सक्छ । जुन समयमा धेरै हेरचाह र लगानिको आवश्यकता पर्छ त्यो बेला कुनै प्रतिफल दिदैन तर जब बिरुवा हुर्कन्छ र फल लाग्ने बेला हुन्छ त्यो बेला बिरुवाले फल दिन्छ, छहारी दिन्छ, धरतीबाट आफै सोचेर पानी लिन्छ, खनिज लिन्छ, आफ्नो सुरक्षा आफै गर्छ, साधारण झटकाले कुनै असर गर्दैन । सामान्य हेरचाह मात्रै गरे पुग्छ’ । अर्थात् काम, नाम, दाम सबै दिन्छ । व्यवसाय पनि त्यस्तै हो । व्यवसाय लगानिबाट जन्मन्छ र स्याहार पाएर हुर्कन्छ । धैर्य गर्न र निरन्तर लागिरहन सक्नेले मात्रै त्यसको वास्तविक प्रतिफल प्राप्त गर्न सक्छन् । हो, यहि बाटो हिँड्योभने पैसा बढ्दै जान्छ।

एउटा साधारण मानिसको सफलताको कथालाई यहाँ उल्लेख गर्नु राम्रो हुन्छ । हरिराम दम्पति गाउँबाट हरियो मकै किनेर बजारमा लगेर पोलेर बेच्ने गर्थे । परिवार धानेकै थियो । एक दिन मकैबारीमा मकै किन्न गएका हरिरामले ‘यो मकैबारी मेरो आफ्नै भइदिएको भए’ भन्ने कल्पना गरे । तर उनीसँग त्यो मकैबारी आफ्नै हुने त के त्यो बारीमा फलेका सबै मकै किन्ने पैसा पनि थिएन ।

हरिरामले संकल्प गरे, योजना बनाए, लगातार लागे, धैर्य गरे एक दिन हरिरामको त्यस्तै मकैवारी नै आफ्नै भयो ।

उनले सबैभन्दा पहिला किनेका मकैका घोगामध्ये केही बोटमै पाक्न छाडिदिए । पाकेका मकैलाई बिउकोरुपमा जतनले जोगाए । कमाएको पैसाबाट थोरैथोरै गर्दै बचत गर्ने योजना बनाए र बचत बढाउँदै लगे । अको बर्ष केहि जमिन भाडामा लिएर राम्ररी खनजोत गरी मकै छरे अर्थात् उनले बचत गरेको पैसा मकै फलाउन लगानी गरे । राम्रो हेरचाह र स्याहार गरे । उनको फसल राम्रो भयो । अको वर्ष अझै बढी जमिनमा यस्तो खेती गरे । उनको हौसला बढ्दै गयो । उनले अझ धेरै बचत गर्न सके र त्यो बचतलाई लगानिको रुपमा प्रयोग गरे । केही वर्षमा उनले आफ्नै लगानिमा केही जमिन किने । त्यसलाई क्रमशः बढाउदै लगे । आज हरिरामसँग आफ्नै जमिनमात्रै होइन जमिनमा धेरै थरिको फसल छ । त्यसले हरिरामको सपनामात्रै पूरा गरेन कि उनको जीवनै हरियो बनायो र उनी अरुका लागि राम्रो उदाहरण बनेका छन्।

यस्तै र यस्तै प्रकारका अनेक काम हामी मध्येका धेरैले गर्न सक्छौं र पैसा बढाउन सक्छौं । होइन र ?

Related News

सम्बन्धित समाचार

hero news full width