पर्यटक बढे पनि लक्ष्य भेट्न कठिन

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
NTY 2020_Fotor

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका पर्यटक। तस्वीर : आदर्श समाज।

बीस लाख पर्यटक भित्र्याउने उद्देश्य साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० शुरु हुन २ महिना पनि बाँकी छैन। तर पछिल्लो पटक सार्वजनिक पर्यटक आगमनको तथ्यांकले भने उति उत्साहप्रद तस्वीर प्रस्तुत गर्न सकेन।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को १० महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पर्यटक आगमनमा जम्मा ८ प्रतिशत हाराहारीको वृद्धि मात्र देखिएको छ। यो हिसाबले आउँदो वर्ष २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुनेमा आशंका उब्जेको छ।

बोर्डका अनुसार २०१९ को १० महिनामा झण्डै १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागलाई उद्घृत गर्दै बोर्डले उपलब्ध गराएको तथ्याङ्ककअनुसार सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म कुल ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटक नेपाल आएका थिए। सन् २०१८ को १० महिनामा ९ लाख ३ हजार ५ सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

पर्यटक आगमनमा ८ प्रतिशतको वृद्धिले के संकेत गरेको छ भने बढीभन्दा बढी पर्यटक भित्र्याउँदै २० लाखको लक्ष्य भेट्ने नै हो भने नेपालले गर्नुपर्ने धेरै छ। हालसम्म प्रवद्र्धनका कुनै ठूला कार्यक्रम नेपालले स्वदेश वा विदेशमा गर्न सकेको छैन। यस्तो फितलो तयारीले भ्रमण वर्षको लक्ष्य प्राप्त हुनेमा आशंका उब्जेको छ।

कतिसम्म भने सरकारी तथा निजी क्षेत्रबाट भ्रमण वर्ष लक्षित पर्यटकीय प्याकेजहरु समेत सार्वजनिक हुन सकेका छैनन्। हाल विभिन्न क्षेत्रमा विदेशी वा नेपाली पर्यटकहरुलाई प्रवेश शुल्क घटाउन व्यवसायीहरुले माग गरिरहँदा सरकारले भने भ्रमण वर्ष लक्षित प्याकेजहरु घोषणा गर्ने तयारी भइरहेको दाबी गरेको छ। सरकारले कुन क्षेत्रमा कस्तो प्याकेज सार्वजनिक गर्ने भनेर छलफल गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले दाबी गरे।

कतिपय व्यवसायीले भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यको कार्यशैलीको पनि आलोचना गर्ने गरेका छन्। जुन गतिमा भ्रमण वर्षको तयारी हुनु पर्ने हो त्यो हुन नसकेको निजी क्षेत्रबीच चर्चा हुने गरेको छ। भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने बताए पनि सरकारी तवरबाट निजी क्षेत्रलाई अझै विश्वासमा लिएर काम हुन सकेको छैन।

नयाँ पर्यटनमन्त्री योगेशकुमार भट्टराई आएपछि केही सुधारका काम थालनी त भएका छन् तर तिनको ठोस प्रभाव देखिन अझै सकेको छैन। कतिपय विश्लेषकहरुले पर्यटकको आगमन संख्या मात्र ठूलो कुरा नभएको तर गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउने गरेका छन्। अकोर्तर्फ संख्या वा गुणस्तरका अतिरिक्त नेपालमा पर्यटक आउने आधार के भनेर प्रश्न गनेर्हरुको कमी छैन।

जे–जस्तो भए पनि पर्यटक आगमनको समग्रतालाई हेर्दा दक्षिण एशियाली मुलुक भारत, चीन र बङ्गलादेशबाट १० महिनामा २५.६५ प्रतिशतले वृद्धि भएको छ। एशियाली मुलुकबाट २६.५९ प्रतिशत, युरोपका मुलुकबाट २०.४ प्रतिशत पर्यटक बढेको पाइएको छ। नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या पनि पछिल्लो क्रममा बढेको छ। सन् २०१९ को अक्टोबर महिनामा मात्रै चीनबाट १५ हजार ३७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ।

उक्त संख्या गत वर्ष सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी हो। बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए। उक्त अवधिमा चीनबाट १ लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। गत असोज २५ र २६ गते चीनका राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिवसीय राजकीय भ्रमण गरेका थिए। उक्त भ्रमणपछि चिनियाँ पर्यटकको संख्यामा बढोत्तरी भएको पाइएको छ।

यही क्रममा मुख्य पर्यटकीय शहर रहेको गण्डकी प्रदेशमा १ महिनाभित्र साढे २४ हजार पर्यटकले भ्रमण गरेका छन्। तथ्यांक अनुसार अक्टोबर महिनामा २४ हजार ४ सय ७७ जना पर्यटक गण्डकी प्रदेशको भ्रमण गरेका थिए। प्रदेश सरकार र पर्यटन बोर्डले संयुक्त रुपमा गत अगष्टबाट तथ्यांक सार्वजनिक गर्न थालेका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width