घलेगाउँमा रातो छाना

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७६
Rato Ghalegaun _Fotor

लमजुङ, १७ वैशाख। ग्रामीण पर्यटनको उद्गमथलो घलेगाउँका सबै घरमा एउटै रातो रंगको छाना राखिएको छ। घलेगाउँलाई स्मार्ट भिलेज बनाउने उद्घोषसँगै छुट्टै पहिचान दिन एक सय २० घरमा रातो रंगको छानो राखिएको हो।

गण्डकी प्रदेश सरकारले क्व्होलोसोंथर गाउँपालिका–३ को घलेगाउँलाई स्मार्ट भिलेजको रूपमा अघि सारेको हो। गाउँका घरमा करीब ५ दशक पहिले लगाइएका जस्तापाता पुरानो भई खिया लाग्न थालेपछि फेर्ने अवस्थामा घलेगाउँ स्मार्ट भिलेजतर्फ उन्मुख भएको घोषणापछि फरक पहिचान दिन सबै घरमा एकैनासले रातो रंगको टीन राखिएको सो गाविसका अध्यक्ष समेत रहेका पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए।

उनले भने, ‘घलेगाउँलाई थप र फरक पहिचान दिनका लागि गाउँका सबै घरमा रातो रंगको छानो राखिएको हो। ’

घलेगाउँका घरमा एउटै रंगको रातो जस्तापाताको छाना छाउन गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २९ लाख ४७ हजार रुपैयाँ छुट्याएको क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताए। उनका अनुसार सो प्रयोजनका लागि क्व्होलासोंथर गाउँपालिकाले १५ लाख रुपैयाँ छुट्याएको थियो। उनका अनुसार रातो जस्तापाताले घरका छाना छाउने कार्य २० प्रतिशत घरमा बाँकी छ। ‘हामी त्यो काम पनि अबको एक महिनामा सबै काम सक्छौं, ’ घलेले भने।

गाउँ सफासुग्घर गरी शोभायमान बनाइएको पर्यटन व्यवस्थापन समिति कार्यालय सचिव दीर्घ घलेले बताए। उनका अनुसार गाउँ तथा बाटो वरपर फूल रोप्न थालिएको छ। स्मार्ट भिलेज निर्माणका लागि सुरुमा एक करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिए पनि सुरुमा देखिने गरी छानो एउटै रंगको बनाइएको र त्यसपछि आवश्यक पूर्वाधार थप्दै लगिने पर्यटन समितिका सचिव उमलबहादुर विकले बताए। उनका अनुसार गाउँको गुरुङ संग्रहालय, चियावारी, भेडीगोठलाई थप व्यवस्थित बनाउन थालिएको भने घरपालुवा जनावर व्यवस्थापन गर्दै लगिएको छ।

पुरानो टीनको छाना हटाएर नयाँ रातो रंगको छानाले घर छाउँदा निकै आकर्षक र सुन्दर देखिएको स्थानीय ७९ वर्षीय लिलबहादुर गुरुङको भनाइ छ। उनले भने ‘पहिले उराठलाग्दो देखिने गाउँ नयाँ छानोले चम्किएको छ, रमाइलो लागेको छ। ’

पछिल्ला वर्षमा प्रायः सबै घरहरू जस्ता पाताले छाएको थियो तर त्यो त जति पुरानो भयो उत्ती गाउँ नराम्रो देखिँदै जाने गरेकोमा रातो रंगको छाना राखेपछि गाउँ जै झलमल्ल भएको उनले बताए।

घलेगाउँमा नमुना चिया बगान, प्राङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएका होमस्टे छन्। हिमालको काखको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनासलु, गणेश लगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ। स्थानीय नदी एवं खोलाका माछा, कुरिलो, निउरो, बडमले, सिस्नोका साथमा भेंडीगोठका भेंडा, खसी, स्थानीय कुखुराको मासु, भेडा तथा माछाको सुकुटी, घरैमा उत्पादित कोदाको मदिराको स्वाद जस्ता परिकारले पर्यटकलाई लोभ्याएको छ।

समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइको सो गाउँमा लमजुङमै पहिलो पटक २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको थियो।

घलेगाउँ पुग्न लमजुङ जिल्ला सदरमुकाम वेशीशहरदेखि गाडीमा २ घण्टा लाग्छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width