वडा वडामा शहरी स्वास्थ्य केन्द्र

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५

वालिङ, २९ कात्तिक । खहरे शहरी स्वास्थ्य केन्द्रको बुधबार उद्घाटन गरिएको छ । वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्यको पहुँच पुर्‍याउने उद्देश्यले स्थापित वडा १, खहरेमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।

शहरी स्वास्थ्य केन्द्र उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सामान्य स्वास्थ्य परीक्षणका लागि पनि अन्यत्र जानुपर्ने अवस्था अन्त्य गर्न र नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताए ।

उनले शहरी स्वास्थ्य केन्द्रमा सेवाका लागि आउने सेवाग्राहीलाई राम्रो ब्यवहार गरी गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्दै शहरी स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरु उपलब्ध गराउँदै जाने बताए । उनले वालिङ नगरपालिकामा आवश्यक देखिएको अस्पताल निर्माणका लागि पहल जारी रहेको र अब छिट्टै निचोड निस्कने बताए । पतंजलि योगपीठसँग आयुर्वेद उपचार पद्दतिका लागि उपकरण माग गर्ने र यहाँ कार्यरत कर्मचारीहरुलाई आवश्यकता अनुसारका तालिमहरु प्रदान गर्ने तयारी भैरहेको नगर प्रमुख खाँणले बताए । वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले सामान्य उपचारका लागि पनि टाढा-टाढा जाने बाध्यता अन्त्य हुने बताए ।

कार्यक्रममा रणवीर जनहित माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, समाजसेवी ऋषिराम काफ्ले, हुमबहादुर राना, सोमबहादुर गुरुङ लगायतले शहरी स्वास्थ्य केन्द्रको सफलताको शुभकामना ब्यक्त गरे । वडा १ अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत भवानीप्रसाद ढुंगाना र संचालन नगरपालिकाका जनस्वास्थ्य शाखाका मणिप्रसाद पंगेनीले गरेका थिए । यसैबीच, वालिङ वडा १० मा फूलबारी शहरी स्वास्थ्य केन्द्र बुधबार नै शुभारम्भ गरिएको छ । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख दिलीपप्रताप खांणले नगरपालिका भित्र रहेका १४ वटै वडामा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको उद्देश्य भएको बताए । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, समाजसेवीहरु हिमनिधि पंगेनी, राजेन्द्र गैह्रे, स्व्ायंसेविका दिल्लीसरा गैह्रे लगायत बोलेका थिए ।

वडाध्यक्ष अन्नतराज गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव दीपेन्द्र गैह्रे र सञ्चालन जनस्वास्थ्यका मणिप्रसाद पंगेनीले गरेका थिए ।

स्थानीय क्रियटिभ युवा क्लब र बाघमारा सामुदायिक वनको दुर्इ कोठामा हाल स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा १ अहेव, १ अनमी र १ जना सहयोगी गरी ३ जना कर्मचारीले सेवा दिनेछन् । कार्यक्रममा तरकारी तथा फलफूल संकलन केन्द्रका लागि जग्गादान गर्ने जग्गादाता हिमनिधि पंगेनीलाई सम्मान समेत गरिएको थियो । उनले नगरपालिकालाई ४० लाख रुपैयाँ मूल्य पर्ने चार आना जग्गा दान दिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width