आज माघे (मकर) सङ्क्रान्ति

आदर्श समाज सम्वाददाता
माघ १, २०७४

काठमाडौँ, १ माघ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ।

साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेला समेत लाग्ने गर्छ।

माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

‘सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण उत्तम हुन्छ, प्रयागमा गई स्नान गरेर जन्म मरणको दुःखमा पर्नुनपर्ने हेमाद्रि, पुराण लगायत ग्रन्थमा उल्लेख गरिएको छ’-उनले भने।

उत्तरायणमा पनि माघ र वैशाख महिना उत्तम मानिएको उनले बताए। माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय कर्म गर्नका लागि मानिएको समितिले जनाएको छ। तराईवासीले पनि माघ १ लाई ‘नहान्’ अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन्।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्व समेत पर्दछ।

आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ। स्नान, दान, ब्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ। रासस

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शययामा पुगेका भीष्मलेर्र् इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

यसवर्ष शुक्र अस्त भएकाले माघे संक्रान्ति मनाउनु हुन्न भन्ने हल्ला गलत रहेको समितिले जनाएको छ । यो पर्व नित्य कर्म भएकाले शास्त्रीयरुपमै मनाउन सकिने अध्यक्ष गौतमले बताउनुभयो ।

गत मंसिर २९ गते पूर्वमा अस्ताएको शुक्र माघ १८ गते पश्चिमबाट उदाउने समितिले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width