पोखरा महोत्सवमा प्रजापतिदेखि सिम्रनसम्म

विजय नेपाल
माघ २, २०८०
pokhara mahotsav 3

सोमबार महोत्सवमा गीत गाउँदै १८ वर्षीया सिम्रन परियार । तस्बिरः गीता राना

पोखरा। मेला–महोत्सव दर्शकका लागि जमघट, किनमेल, मनोरञ्जनका संगम हुन् भनिरहनुपरेन । आयोजकका लागि सामाजिक सेवासँगै अलिअलि बचत । व्यवसायीका लागि बस्तु तथा सेवा प्रदर्शनी एवं बिक्री । त्यसबाहेक उल्लेख्य दर्शकमाझ कलाकारले स्टेज पाएपछि के चाहियो र ?

आयोजक पनि दर्शक तान्न अनेक प्रयासमा हुन्छन् । त्यसैले कुनै मेला–महोत्सवको लागि सांगीतिक तथा सांस्कृतिक कार्यक्रम अभिन्न अंग बनिसकेको छ । अग्रज हुन् वा सांगीतिक बजारमा भर्खरै चम्क्किदै गरेका कलाकारलाई निम्तो दिइन्छ । लोकप्रिय कलाकारको त ‘हेस्टिक सेड्युल’ मिलाउन हम्मेहम्मे पर्छ ।

पोखरा अमरसिंह चौरमा जारी १२ औं पोखरा महोत्सवले भने अग्रजदेखि उदीयमान कलाकारलाई निम्तो दिँदै पुस–माघको कठ्याङ्ग्रिदो चिसो बिर्साउँदै छ ।

बागलुङकी उदियमान एक गायिका हुन्, सिम्रन परियार । १८ वर्षीया परियारदेखि यही महोत्सवमा छन्, अग्रज कलाकार प्रजापति पराजुली पनि । उनको कार्यक्रम सञ्चालन शैलीले दर्शक ओइरिन्छन् । नेपाल लोक तथा दोहोरीगीत प्रतिष्ठानका संस्थापक अध्यक्ष उनै पराजुलीदेखि सिम्रनको प्रस्तुतिले दर्शकलाई प्रशस्त मनोरञ्जन दिइरहेको छ ।

सोमबार सिम्रनले पहिलोपल्ट पोखराको स्टेज चढेकी हुन् । उनको सांगीतिक प्रस्तुतिमा दर्शकले पनि नाचेरै साथ दिए ।

गएको साउनमा सुनिल बिसीको ‘उसलाई पाउन–२’ को फिमेल भर्सन रेकर्ड गराएर सांगीतिक दुनियाँमा प्रवेश गरेकी सिम्रन चम्केको–चम्क्यै छन् । उनलाई अध्ययन, गीत रेकर्ड र मेला महोत्सव भ्याइनभ्याइ छ । कतिपयले त उनलाई आधुनिक गायिकामा समीक्षा अधिकारी, एलिना चौहान, रचना रिमालसँगैको कोटीमा उभ्याउँछन् । समीक्षाले आइतबार गृहनगरीमा आफ्नाे प्रस्तुति पस्किइन् । रचना रिमाल र एलिना चौहान सुन्न बाँकी छ ।

त्यस्तै, साेमबार युवापुस्तालाई सिम्रन र वृद्धवृद्धालाई राजु परियारको प्रस्तुतिले आकर्षित गरेको थियो । यसबाहेक प्रजापति, जीवन दाहाल, राजन कार्की, शिवहरि ढुंगाना, जीवन सिग्देल, दीपक कार्की, मञ्जु बिक, सुनिता नेपाली लगायतले गायन प्रस्तुति दिएको आयोजकले जनाएको छ । लाइभ ब्याण्डतर्फ लाहुेर एन्ड द ब्याड कम्पनीको प्रस्तुतिमा युवा झुमे ।

मंगलबार रचना रिमाल, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षत्री लगायतको प्रस्तुति रहने प्रसार संयोजक दिनेश सुनारले बताए । महोत्सवमा बद्री पंगेनी, पशुपति शर्मा, प्रकाश दूतराज, शान्तिश्री परियार, ज्योति मगर, प्रीति आले, सम्झना लामिछाने मगर, कुमार पुन, कृष्ण अखेली लगायत लोकप्रिय एवं चर्चितदेखि उदीयमान कलाकारलाई पनि निम्तो दिइएको सांस्कृतिक संयोजक गणेश तिमिल्सिना बताउँछन् ।

युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा गत २६ पुसदेखि जारी महोत्सवमा घोडसवार, नेपाल टेलिकमको सिमकार्ड लिन र विभिन्न जातजातिको मौलिक पोषाक लगाएर तस्विर खिचाउन दर्शक आकर्षित बनेका छन् । स्थानीयस्तरमा उत्पादित बस्तुको किचबेचमा पनि मानिस झुम्मिने गरेका छन् । महोत्सव ८ माघसम्म सञ्चालन हुने क्लब अध्यक्ष राजु श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width